२०७६ कार्त्तिक २७ गते

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा

प्रभा रावत/सुर्खेत



आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको माग सम्बोधन नभएको भन्दै थप नौ जना विद्यार्थीले भोक हड्ताल शुरु गरेका छन् ।


विश्वविद्यालय आफ्ना मागप्रति लचिलो नभएको भन्दै नौ जना विद्यार्थीहरुले भोक हड्ताल शुरु गरेका हुन ।


विद्यालयले राखेका मागहरुलाई सम्बोधन गर्नका लागि शनिबार राती  ९ जनाको विद्यार्थीहरुको टोली र उपकुलपति र रजिष्टारसहितको टोली वार्तामा बसेको थियो । करिब ११ बजेसम्म बसेको वार्ता विना निष्कर्ष टुंगिएपछी विद्यार्थी थप आक्रोशित भएका हुन् ।


विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थीहरुले राखेका मागहरु सबै पुरा गछाँै भने पनि विद्यार्थीको त्यसको आधार माग गरेपछी वार्ता निष्कर्ष विहिन भएको हो ।


विद्यार्थीले पटक–पटक माग पुरा गर्ने आश्वासन दिने गरेको भएपनि पछी गएर मागको कुनै सुनुवाइनै नहुँने भएकाले माग पुरा हुने आधार माग गरेका हुन् ।


तर विश्वविद्यालयका पदाधिकारीहरुले यसलाई स्वीकार नगरेपछि वार्ता विना निष्कर्ष टुंगिएको वार्ता टोलिका विद्यार्थी खडानन्द तिवारीले बताए ।


विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा पर्याप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर ६ दिनदेखि तीन जना विद्यार्थी आमरण अनसन  छन् ।


अनशन बसेका २ जना विद्यार्थी रोशन बस्नेत र रत्नकुमार शर्मालाई आइसियुमा राखेर उपचार भइरहेको छ । बस्नेतको स्थानीय देउती अस्पतालमा र शर्माको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । एक जना विद्यार्थी मिलन विसी विश्वविद्यालयको परिसरमै अनसनमा छन् ।


शनिबार देखि भोक हड्तालमा राजन केसी, न्युटल ओली, खडानन्द तिवारी, रामचन्द्र भण्डारी, बालराम काफ्ले, धर्मराज पन्थी, सत्य शाही, निकुञ्ज पाण्डे र शरद न्यौपाने मध्यपश्चिम विश्वविद्यालयको विस्तारित कार्यालयमा बसेका छन् ।


यसै विषयमा एजुकेशनपाटीले विश्वविद्यालयका पदाधिकारीहरुलाई बुझ्न खोज्दा फोन उठेन ।


Comments: