२०७६ भदौ ५ गते

मध्यपश्चिम विश्वविद्यालयमा शिक्षक–कर्मचारीको धर्ना

अन्तैबाट

सुर्खेत  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले १० आंगिक क्याम्पसलाई पूर्णता नदिँदा ती क्याम्पसका प्राध्यापक र कर्मचारी ५ महिनादेखि बेतलबी भएका छन् ।


विश्वविद्यालयले प्रक्रियामा ढिलाइ गरेको भन्दै शुक्रबारदेखि क्याम्पसका शिक्षक/कर्मचारी केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।

एमयूले साविक मध्यपश्चिमका १० क्याम्पसलाई भदौ ११ देखि लागू हुने गरी आफ्नो आङिगक क्याम्पस बनेको पत्र दिएको थियो । उक्त पत्रसँगै ती क्याम्पसले त्रिभुवन विश्वविद्यायसँगको आबद्धता तोडेका छन् । एमयूले भने क्याम्पस प्रमुखलाई काम गर्न जिम्मेवारी दिनेबाहेक अरू प्रक्रिया पूरा गर्न सकेको छैन । ‘हामीलाई अहिलेसम्म नियुक्तिपत्र दिन सकेको छैन तैपनि नियमित रुपमा पढाइरहेका छौं,’ नारायण बहुमुखी क्याम्पसका उपप्राध्यापक नरबहादुर शाहीले भने, ‘यस्तो अवस्था कहिलेसम्म रहन्छ ? हामी अवस्थाको अन्त्य गर्न आन्दोलनमा उत्रिएका हौं ।’

एमयूले आंगिक क्याम्पसका लागि २ सय ३ शिक्षक/कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । तर, अहिलेसम्म कसैलाई नियुक्ति दिएको छैन । नियुक्ति नपाउँदा उनीहरूले भदौदेखि तलबसमेत पाएका छैनन् । संघर्ष समिति संयोजक शेरबहादुर रायमाझीले आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक र कर्मचारीको भविष्य अन्योलमा भएकाले आन्दोलन गर्नुपरेको बताए । ‘समायोजनका लागि सबै प्रक्रिया पूरा गर्दासमेत कार्यान्वयनमा किन आलटाल भइरहेको छ ?’ उनले भने, ‘जनताबाट स्थापित क्याम्पसमाथि यस्तो खेलबाड कहिलेसम्म हुने ?’

पाँच महिनासम्म बेतलबी काम गर्नुपर्दा शिक्षक/कर्मचारीको पीडा पनि उत्तिकै छ । तिलाकर्णाली क्याम्पसका उपप्राध्यापक ताराकेशर रावतले तलबविहीन भएर बस्नुपर्दा घर खर्च चलाउनै मुस्किल भएको बताए ।

क्याम्पसका प्राध्यापक/कर्मचारीले मन्त्रिपरिषद्ले गरेको निर्णय, विश्वविद्यालय अनुदान आयोगको निर्देशन र एमयूको ऐनअनुसार तत्काल नियुक्ति दिनुपर्ने, क्याम्पसको सम्पत्ति हस्तान्तरण गरी समायोजन प्रक्रिया टुंग्याउनुपर्ने र प्राज्ञिक वातावरणलाई सम्मानपूर्ण बनाउनुपर्ने माग राखेका छन् ।

आंगिक क्याम्पसको प्रक्रिया टुंगोमा नपुग्दा क्याम्पसमा अध्ययनरत विद्यार्थीसमेत अन्योलमा छन् । १० आंगिक क्याम्पसमा करिब दुई हजार पाँच सय विद्यार्थी भर्ना भएका छन् । तर, कोर्स परिवर्तन भएकाले कसरी पढाउने भन्ने अन्योलले प्राध्यापकलाई पिरोलेको छ । ‘हामीलाई कोर्सबारे अहिलेसम्म ‘ओरिन्टेसन’ सम्म भएको छैन, कुन विषय कसरी पढाउने ?’ बबई बहुमुखी क्याम्पसका राजेन्द्र धितालले भने, ‘विश्वविद्यालयको ढिलाइले गर्दा समुदायले जन्माई हुर्काएका क्याम्पसको भविष्य अन्यौलमा छ ।’

सुर्खेतको विद्यापुर र गुमी, बर्दियाको बबई, कालिकोटको तिलाकर्णाली, दैलेखको नारायण, मुगुको रारा बहुमुखी, रुकुमको मुसीकोट, रोल्पाको जलजला, बाँकेको बागेश्वरी र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसलाई एमयूले आंगिक घोषणा गरेको थियो ।

कान्तिपुरमा खबर छ ।

Comments: