२०७६ कार्त्तिक २९ गते

प्राविधिक शिक्षालाई अब शिक्षाको ‘मूलधार’ बनाइने

ईपाटी संवाददाता



काठमाडौं । सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ शुरु गर्दै अब शिक्षाको मूल धार प्राविधिक शिक्षालाई बनाउने घोषणा गरेको छ ।


एसइइ नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थालिएको हो ।   


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा राजधानीमा आयोजित अभियान घोषणा समारोहको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरे ।  मन्त्री पोखरेलले उत्पादन, गुणस्तर र रोजगारीसँग जोडी प्राविधिक शिक्षालाई शिक्षाको मूल धार बनाइनेछ भने । उनले प्राविधिक शिक्षामा नेपालमा १० प्रतिशतभन्दा कम जनशक्ति रहेकाले पनि अब यसलाई मूल धार बनाउन जरुरी रहेको स्पष्ट पारे ।
‘सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडी बजार प्रत्याभूत गरौं,’ मन्त्री पोखरेलले भने, ‘पढाउन मात्र होइन, प्रविधि र सीपसँगै प्रमाणपत्र बोकेको जनशक्तिलाई बजारले लिनसक्ने बनाऔं ।’


मन्त्री पोखरेलले ६० को दशकमा नेपालले चामल उत्पादन गरी विदेश निर्यात गर्न सकेको तर अहिले ल्याटिन अमेरिकाबाट मकै मगाई खानुपर्ने परमुखी प्रवृत्ति बढेको तितो यथार्थ औंल्याए । उनले अहिले नीति, ऐन र संरचना बनाउने क्रममा सरकार रहेको र आफूले प्रस्तुत गरेको १० बुँदे मार्गचित्र अनुसार शिक्षा सुधार्न लागीपरेको दाबी गरे ।  


एक अर्काे प्रसङ्गमा मन्त्री पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई अनसन छाडेर काठमाडौं आउन आग्रह गरे । स्वास्थ्य शिक्षालाई गुणात्मक बनाउनै आफूले चिकित्सा शिक्षा विधेयक अघि सारेको उनको स्पष्टोक्ति थियो ।  


शिक्षा सचिव खगराज वरालले प्राविधिक शिक्षा प्रयोगात्मक अभ्यासविना सिद्धान्तमा मात्र सीमित हुने उल्लेख गर्दै भौतिक पूर्वाधार, कार्यक्रम र प्रशिक्षकको पर्याप्ततामा मात्र यो सार्थक हुने बताए । सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा आकर्षण गरी सिटिइभिटीअन्तर्गतका विभिन्न धारका शिक्षालयहरुमा गुणस्तरीय शिक्षाका निम्ति राष्ट्रिय जागरण अभियान थालिएको बताए । उनले सिटिइभिटीभित्र सुशासनप्रति आफू प्रतिबद्ध रहेको जनाउँदै आफ्ना कर्मचारीहरुले कतै अनियमित गरेको जानकारी पाएमा कार्बाही गर्ने पनि चेतावनी दिए ।  


सिटिइभिटीको सम्बन्धनमा रहेका प्राविधिक शिक्षालयहरुको छाता संस्था फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेलले भूकम्प, बाढी, आगजनी र महामारी जस्ता प्रकोपमा प्राविधिक शिक्षालयहरुबाट उत्पादित ओभरसिएर, नर्स, जेटिए, पशु स्वास्थ्यकर्मीले जनतालाई सघाइरहेको स्मरण गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा  पदबहालीकै दिन ७५३ वटै स्थानीय तहमा  सिटिइभिटीअन्तर्गतको एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकै क्षणदेखि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान शुरु भएको बताए ।  ‘राष्ट्र निर्माणको मूलधार प्राविधिक शिक्षालाई बनाउनु पर्छ भनेरै यो अभियान शुरु भएको छ,’ पौडेलले भने ।


निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्रमोहन झाले छात्रवृत्तिअन्तर्गत ७ हजार २ सय विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था गरिएको जानकारी दिए । उनले बाल मृत्युदर, मातृ मृत्युदर घट्नुमा प्राविधिक शिक्षालयहरुकै देन रहेको चर्चा गरे ।  


कार्यक्रममा सिटिइभिटीका निर्देशक महेश भट्टराई, विद्यार्थी नेताहरु नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुकी अध्यक्ष एवं संघीय सांसद नवीना लामा, अखिल क्रान्तिकारी (विप्लप समूह)का नरेन्द्र विश्वकर्मालगायतले बोलेका थिए ।


प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान समारोह शुरु हुनुअघि काठमाडौं महानगरको टँुडिखेलबाट विभिन्न स्थान हुँदै प्रभातफेरी कार्यक्रम गरिएको थियो ।  


देशभर सिटिइभिटीअन्तर्गत जम्मा ६५३ प्राविधिक शिक्षालय रहेका छन् । जसमा ४२९ निजी, पाँचवटा साझेदारीमा सञ्चालित, ३४ वटा आंगिक शिक्षालयहरु रहेका छन् । त्यस्तै, १८५ वटा सामुदायिक माविमा प्राविधिक शिक्षाका कार्यक्रम चलेका छन् । सिटिइभिटीअन्तर्गत कूल १३९२ वटा कार्यक्रम छन् भने करिव ८० हजार विद्यार्थी अहिले पढिरहेका छन् ।

Comments: