• स्कूल पढ्ने विद्यार्थीसँग तीस विश्वविद्यालयका सर्टिफिकेट !
    ()

  •  

    रोशन गाउँले

    पोखरा ।  मदरल्याण्ड हाइस्कूल पोखरामा कक्षा १० अध्ययनरत सोजिता पहारीसँग विश्वका विभिन्न १३ वटा विश्वविद्यालयका सर्टिफिकेट छन् । उनी विदेश पढेर सर्टिफिकेट पाएकी भने होइनन् । उनले घरमै बसेर मोवाइल चलाएरै डिग्री हासिल गरेकी हुन् । पहिले मोवाइलमा फेसबुक चलाएर व्यस्त हुने सोजिता अचेल मोवाइल त चलाउँछिन् तर त्यसमा फेसबुक नभएर संसारका उत्कृष्ट विश्वविद्यालयका कोर्सहरु गर्छिन् ।

    उनले इन्टरनेटबाट पढ्न र जाँच दिन सकिने मूक विधिमार्फत् मोवाइलबाटै विभिन्न विश्वविद्यालयका डिग्री हासिल गरेकी हुन् । पहिले फेसबुक धेरै चलायो भनेर गाली गर्ने उनका अभिभावक अहिले उनी मोवाइल चलाउनमा व्यस्त हुँदा खुसी हुने गरेका छन् । उनी भन्छिन् –‘पहिले धेरै मोवाइल नचला भनेर बुवाआमा गाली गर्नुहुन्थ्यो तर मोवाइल चलाएरै भित्ताभरी विदेशी विश्वविद्यालयका सर्टिफिकेट झुण्ड्याउन थालेपछि उहाँहरु खुसी हुन थाल्नु
    भएको छ ।’


    साधारण मोवाइल, कम्प्यूटरमा फेसबुक चलाउनेले फेसबुकको केही समय कटाएर घरमै बसेर विश्वविद्यालयको विद्यार्थी बन्न र डिग्री प्राप्त गर्न सकिने उनी बताउँछिन् । उनीसँग जस्तै सोही विद्यालयमा ११ कक्षामा पढ्ने सोनिया गौतमसँग पनि ३० वटा विभिन्न विश्वविद्यालयका सर्टिफिकेटहरु भित्तामा सजिएका छन् । उनी पनि पढाइ पछिको खाली समयमा मोवाइलबाट विभिन्न विश्वविद्यालयका मूक कोर्ष गर्न व्यस्त हुन्छिन् । उनले मोवाइलबाटै ग्रामर, एस्से राइटिङ, इंलिस ल्यांग्वेज, साइन्सलगायतका विषयमा विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् । उनले मात्रै होइन, उनले मोवाइलबाटै विश्वविद्यालयको डिग्री हासिल गरेको थाहा पाएर उनका आफन्त र धेरै साथीहरुले समेत यस्ता कोर्सहरु पूरा गरेर सर्टिफिकेट प्राप्त गर्न सफल भएका छन् ।


    सोनिया भन्छिन्– ‘अमेरिका, जापान, युकेलगायतका विश्वका उत्कृष्ट विश्वविद्यालयहरुले अनलाइनमा विभिन्न कोर्षहरु राखिदिएका हुन्छन् । विश्वविद्यालयको नाम पनि सँगै हुन्छ । विश्वविद्यालय र विषय रोजेर मनपरेको कोर्ष मोवाइल, ल्यापटप र कम्प्यूटरबाट गर्न पाइन्छ ।’ एकै दिनमा पनि एउटा कोर्स पूरा गर्न सकिने उनी बताउँछिन् । इन्टरनेटमा भिडियो, फोटोहरु हेर्दै रमाइलो गर्दै पढ्न र परीक्षा दिन मिल्ने सोनिका आफ्नो अनुभव सुनाउँछिन् । म हार्वड विश्वविद्यालयको विद्यार्थी हुँ मसँग त्यस विश्वविद्यालयको डिग्री छ भनेर गर्व लाग्ने उनी बताउँछिन् । ‘म विभिन्न तीसवटा विश्वविद्यालयको विद्यार्थी हुँ नेपालको मात्रै होइन्,’ उनी भन्छिन् ।


    सोनिया र सोजिता मोवाइलबाट विभिन्न विश्वविद्यालयको विद्यार्थी भई डिग्री मात्रै हासिल गरेका छैनन् । उनीहरु नेपालका विभिन्न स्थानहरुमा पुगेर आफू जस्तै विद्यार्थीहरुलाई मूक कोर्सबाट कसरी पढ्ने, सिक्ने, भन्ने ट्रेनिङ गराउँदै हिँड्ने गरेका छन् ।आजको शिक्षा साप्ताहिकबाट साभार