२०७६ असोज २ गते

विद्यार्थी विरामी पर्न थाले पछि तनाव व्यवस्थापन कक्षा सञ्चालन

महेश न्यौपाने/रोल्पा


आवासीय विद्यार्थीहरु एकपछि अर्को विरामी पर्न थाले पछि रोल्पाको एक विद्यालयले उनीहरुका लागि तनाव व्यवस्थापन कक्षा शुरु गरेको छ ।


सदरमुकाममा रहेको बाल कल्याण नमूना माध्यमिक विद्यालयले आवासीय रुपमा विद्यालयमै रहेर एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई उक्त कक्षा दिन थालेको हो । विद्यालयमा आवासीय रुपमा अध्ययन गरिरहेका १ सय ९० मध्ये १सय ११ जना छात्राहरुलाई उक्त कक्षा दिइएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए ।


'केटाहरु खासै विरामी भएका छैनन् केटीहरुमा विरामी हुने दर वढ्न थाले पछि यस्तो कक्षा दिएका हौं'– प्रधानाध्यापक पोखरेलले भने –' भिन्न भिन्नै संस्कारबाट आएका विद्यार्थीहरु नयाँ संस्कारमा वस्नु पर्दा तनाव महसुस गर्ने भएका कारण विरामी हुने गरेको देखियो ।'


अन्य समय भन्दा आवासीय अवधिमा परीक्षाको थप तयारी गर्दा पनि उनीहरुलाई तनाव हुने गरेका कारण तनाव व्यवस्थापनका लागि जिल्ला स्वास्थ्य कार्यालयको अनुभवी स्वास्थ्यकर्मीको सहयोगमा यस्तो कक्षा सञ्चालन गरेको प्रधानाध्यापक पोखरेलले जानकारी दिए ।


तनाव व्यवस्थान कक्षा सञ्चालन पछि आफुहरुमा थप स्फूर्ती देखिन थालेको विद्यार्थीहरुले प्रतिकृया दिएका छन् । 'घरको वातावरण र होस्टेलको वातावरणमा तालमेल नमिल्दा तनाव वढ्दै जाँदा साथीहरु विरामी परेका हुन सक्छन्'– कक्षा १० का छात्र सन्तोष विष्टले भने– 'तनाव व्यवस्थापन कक्षाले विद्यार्थीहरुलाई सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको देखियो।'


उक्त विद्यालयले  कक्षा १० का विद्यार्थीलाई हरेक वर्ष मंसिर देखि चैत्र ४ महिना विद्यालयमै आवासीय सुविधा सहित राखेर अतिरिक्त पठन–पाठन गराउँदै आएको छ । यसरी वस्ने विद्यार्थीहरु शुरु–शुरुमा विरामी पर्ने गरेका छन् ।

Comments: