२०७६ भदौ ९ गते

शिक्षक दरबन्दी मिलान गर्दै घोराही उपमहानगर

अन्तैबाट

दाङ । घोराही उप महानगरपालिकाले शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु गरेको छ । उप महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु भएको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।


जनप्रतिनिधि आएको लामो समय भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने सकेका छैनन् । जसले गर्दा सरकारले भनेअनुसार जहाँ विद्यार्थी त्यहाँ शिक्षक पुग्न सकेका छैनन् ।


उप महानगरपालिकाले अहिले शिक्षक संगठनका जिल्लास्तरीय नेतृत्वसँग छलफल गरेको महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए । “अब दरबन्दी मिलानको कार्य अगाडि बढने छ,” प्रमुख गौतमले भने । शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयमा पढाइमा समेत प्रभाव देखिने उनको भनाइ छ । उपमहानगरपालिकाले थालेको शिक्षक दरबन्दी मिलानमा सबैको सहयोग प्राप्त हुने गौतम बताउँछन् । “शिक्षाको सुधाका लागि शिक्षक दरबन्दी मिलानमा सबैको सहयोग रहने छ,” प्रमुख गौतमले भने ।

महाशाखाले शिक्षकका संघ संगठनका नेतृत्वसँग छलफल गरी शिक्षा समितिमार्फत नगरकार्यपालिकामा पठाउने बताइएको छ । मन्त्रालयले एकिन गरेको तथ्यांकअनुसार शिक्षक दरबन्दी मिलान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । मन्त्रालयले विद्यालयमा रहेको शिक्षक दरबन्दी, विद्यार्थी संख्या एकिन गरेर पठाएको छ । त्यसैलाई आधार मानेर नै उपमहानगरपालिकाले दरबन्दी मिलान गर्ने प्रयास थालेकोे हो ।


मन्त्रालयले एक शिक्षक बराबर ४० जना विद्यार्थी आधार बनाएको छ । मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार घोराही उप महानगरपालिकामा प्रावि तहमा रहेका विद्यार्थीको अनुपातमा शिक्षक १ सय ३ जना बढी छन् । त्यसैगरी निमावि तहमा विद्यार्थी संख्याको आधारमा १ जना शिक्षक अपुग देखिन्छ भने मावि तहमा विद्यार्थी अनुपातमा १ सय २३ शिक्षक अपुग रहेको महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जानकारी दिए । “उप महानगरपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षक पठाउने प्रयास सुरु गरेको छ,” अधिकृत पौडेलले भने । घोराही उप महानगरपालिकामा अहिले पनि प्रावि तहमा ३ वटा विद्यालय, निमावि तहका ९ वटा विद्यालय र माध्यमिक तहका ८ वटा विद्यालयमा शून्य दरबन्दी रहेको महाशाखाले जनाएको छ ।


स्थानीय तहमा शिक्षक दरबन्दी मिलान नहुँदासम्म मन्त्रालयले शिक्षक दरबन्दी नदिने बताएको छ । यसले गर्दा पनि स्थानीय तहलाई दरबन्दी मिलानमा थप दबाब परेको छ । स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य स्थानीय तहमा सरुवा गर्नेछ भने कमी भएका स्थानीय तहमा दरबन्दी थप गरिने छ । जिल्लामा लामो समयदेखि दरबन्दी मिलान हुन सकेको छैन । शिक्षक दरबन्दी मिलानका लागि पटकपटक प्रयास थालनी गरिए पनि सार्थकता पाउन सकेको थिएन ।


शिक्षकका संघ संगठनको असहयोगका कारणले जिल्ला शिक्षक दरबन्दी मिलान हुनसकेको छैन । दरबन्दी मिलान भएमा सहरमा रहेका शिक्षक गाउँ गाउँमा जानु पर्ने भएपछि शिक्षकका संघ संगठनले असहयोग गर्दै आएका छन् । उनीहरूले दरबन्दी मिलानका सुरुका दिनमा सहयोग गरे पनि अन्त्यमा आएर अवरोध गर्दै आएका हुन् । यसरी दरबन्दी मिलान नहुँदा सहरी क्षेत्रका विद्यालयमा शिक्षकको संख्या बढी छ भने ग्रामीणस्तरका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या कमी छ । विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी नहुँदा शिक्षाको गुणस्तर पनि राम्रो छैन ।

अमरराज आचार्यले कारोवारमा खबर लेखेका छन् ।

Comments: