२०७६ भदौ ५ गते

अर्को महिना शिक्षक लाइसेन्सको विज्ञापन, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण हुने

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले अर्को महिना खोल्न लागेको शिक्षक लाइसेन्सको विज्ञापनमा अनलाइनबाटै आवेदन फारम दर्ता हुने भएको छ । आयोगले पहिलो चोटी  नेपालभरबाट अनलाइन मार्फत आवेदन फारम भर्ने व्यवस्था गर्न लागेको हो ।


शिक्षक लाइसेन्स पाउन अब बस्तुगत र विषयगत गरी दुई परीक्षा दिनुपर्ने छ । बस्तुगत परीक्षामा उत्तीर्णहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने भएका छन् ।


आफ्नो स्थापना दिवशको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले अर्को महिना खोलिने शिक्षक लाइसेन्सको विज्ञापनमा देशभरबाट अनलाइन मार्फत आवेदन फारम भर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।


पहिले बस्तुगत मात्रै प्रश्न सोधिँदै आइएकामा अबदेखि थप विषयगत प्रश्नहरु पनि सोधिने जानकारी दिँदै डा. थपलियाले बस्तुगत प्रश्नका उत्तर पुस्तिका ओएमआर मेसिनबाट परिक्षण गर्ने तयारी भइरहेको बताए । परीक्षार्थी धेरै हुने भएकाले पहिले बस्तुगत प्रश्नका उत्तर पुस्तिका मेसिनबाट परिक्षण गराई त्यसमा उत्तीर्णहरुलाई मात्रै विषयगत परीक्षामा सहभागी गराइने तयारी आयोगले गरिरहेको थपलियाले जानकारी दिए ।


'लाखौं परिक्षार्थीहरु बस्तुगत प्रश्नको परीक्षाबाटै छाटिनेछन् र हजारौंको संख्यामा मात्रै विषयगत परीक्षामा सम्मिलित हुनेछन् ।'– थपलियाले भने, 'अब शिक्षकको विज्ञता पनि परिक्षण हुन्छ ।'


आयोगले हाल अनलाइन मार्फत कसरी डकुमेन्ट सवमिट गर्ने, भौचर कसरी व्यवस्थित गर्ने, प्रवेशपत्र कसरी अनलाइनमार्फत उपलब्ध गराउने भन्ने विषयमा प्राविधिक तयारी गरिरहेको पनि पत्रकार सम्मेलनमा थपलियाले जानकारी दिए ।


अनलाइन मार्फत आवेदनको व्यवस्थाका लागि प्राविधिक तयारी गर्नुपरेकाले समेत शिक्षक लाइसेन्सको विज्ञापनमा ढिलाई भएको डा. थपलियाले स्पष्ट पारे ।


आयोगले २०७३ पछि लिएको शिक्षक लाइसेन्सको परीक्षामा निम्न माध्यमिक तहमा २ लाख ७० हजार ६९ मध्ये ८४ हजार ८८२ अर्थात ३१ दशमलव ४३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस्तै माध्यमिक तहमा ६६ हजार १२ जनाले परीक्षा दिएकामा ३३ हजार ३९६ अर्थात ५० दशमलव ६ प्रतिशतले मात्रै लाइसेन्स लिन सफल भएका थिए ।


गतवर्ष स्नातकोत्तर तह उत्तीर्णहरुका लागि मात्रै गरिएको शिक्षक लाइसेन्स विज्ञापनमा २२ सय परीक्षामा सहभागी भएपनि ९ सय अर्थात ३६ दशमलव ५ प्रतिशत मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।


प्रशासकीय प्रमुख थपलियाका अनुसार आयोगले २०६१ देखि २०६७ सम्मगरी प्राथमिक तहमा १ लाख ९८ हजार ८३०, निम्नमाध्यमिक तहमा २०६१ देखि २०७२ सम्म ३ लाख ३६ हजार २८५, माध्यमिक तहमा २०६१ देखि २०७२ सम्म १ लाख ३५ हजार ९६० गरी कुल ७ लाख ६५ जनालाई शिक्षक लाइसेन्स वितरण गरेको छ । यसैगरी साविक उच्च माध्यमिक तह(११र १२ कक्षा)का लागि २२ हजार ९८६ जनालाई लाइसेन्स वितरण  गरिएको छ ।



Comments: