२०७६ भदौ ३ गते

एमबीए : शान र मान दुबै

सुनील केसी मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) का विद्यार्थी भएको नाताले उनले कहिल्यै बेरोजगार बस्नु परेन। पहिला उनी विज्ञानका विद्यार्थी भए पनि व्यवस्थापन संकायको महत्व बुझेपछि एमबीए गरे। एमबीए गरेपछि उनले अहिलेसम्म वित्तीय क्षेत्रमा प्रतिष्ठित पद सम्हालिरहेका छन्। हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा उनी छन्।

एमबीए कुनै पेसा व्यवसायमा मात्र नभई मानव जीवनका हरेक पक्षमा काम लाग्ने प्रतिष्ठित विषय भएको केसीको विश्लेषण छ। एमबीएलाई विश्वभरि नै प्रतिष्ठित विषयको रूपमा लिइन्छ। ‘म्यानेजमेन्ट विषय लाइफ, बिजेसन, टाइम अर्थात् सर्भिसलाई व्यवस्थापकीय साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाउने विषय भएको हो, उनी भन्छन्, ‘यसको अध्ययनबाट व्यक्तिमा नयाँ आइडियाहरू सिर्जना हुन्छ।’

उनीमात्र होइन त्रिभुवन विश्वविद्यालयले हालसम्म व्यवस्थापन संकायबाट ब्याचलरदेखि पीएचडीसम्म पौने दुई लाख यस्ता जनशक्ति उत्पादन गरिसकेको छ। त्रिविबाट उत्पादित यस्ता जनशक्ति नै नेपालका हरेका वित्तीय क्षेत्रदेखि उद्योग प्रतिष्ठान उच्च ओहोदामा पुगेका छन्। विदेशमा गएका पनि इज्जतका साथ बसेका छन् भने स्वदेशमै रहनेले पनि ठूलो रोजगारी सिर्जना गरेका छन्।

नेपालमा मात्र होइन एमबीएको आवश्यकता विश्वव्यापी रूपमा बढ्दै गएको छ। अझ नेपालजस्तो अल्पविकसित देश जहाँ राज्य पुनर्संरचनादेखि विकासका हरेक पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेको स्थानमा एमबीएको आवश्यकता हुने नै भयो।

‘यो संकाय अध्ययन गर्ने विद्यार्थीका लागि बैंक तथा वित्तीय क्षेत्रमात्र नभई हरेक क्षेत्रमा उत्तिकै व्यवस्थापन गर्न सक्छन्,’ केसी भन्छन्, ‘एमबीए गरेका विद्यार्थी त्यतिकै बस्नु पर्दैन। कतै न कतै उनीहरूको माग भइरहेको हुन्छ। साधारण कामभन्दा पनि उनीहरू विशेष दक्षता भएका जनशक्तिका रूपमा परिचित छन्। यो सीमा नभएको विषय भएकाले यसको लोकप्रियता अझ बढ्दै गएको उनले बताए। हिजोआज म्यानेजमेन्ट विषय डाक्टर, इन्जिनियर, सफ्टवेयर डेभलपरहरूले समेत पढ्न थालेका छन्,’ उनले भने ‘म आफैं विज्ञानको विद्यार्थी हुँ पछि यसको महत्व बुझेपछि यो विषय पढेको हुँ।

‘यो संकाय अध्ययन गरेका विद्यार्थीमा बैंक तथा वित्तीय संस्थादेखि प्रतिष्ठित उद्योग व्यवसायको व्यवस्थापन गर्न सक्छन्,’ उनले भने ‘अल्पकालीन योजनादेखि दीर्घकालीन योजना, यसको कार्यान्वयन, समयसमयमा मूल्यांकन, नियन्त्रण तथा आइपर्ने समस्या समाधान गर्न सक्ने खुबी हुन्छ।’

विद्यार्थीलाई प्रोजेक्ट वर्क गराउने अभ्यास गर्दा नै यस संकायका विद्यार्थीलाई हरेक क्षेत्रमा सफलता मिलेको हो। उनीहरू सम्भावित जोखिम र यसबाट पर्न सक्ने असरका बारेमा सचेत हुन्छन् अर्थात् यी सबैको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता एमबीएका विद्यार्थीमा हुने गर्दछ।

नेपालमा मात्र नभई विश्वका धेरै कम्पनीहरूले एमबीएका विद्यार्थीलाई हायर गर्ने गरेको प्रभु बैंकका सीईओ अशोक शेरचनले बताउँछन्। करियरमा अघि बढ्नको लागि तथा करियरको वृद्धि विकासको लागि एमबीए एकदमै महत्वपूर्ण विषय बन्दै गएको उनको भनाइ छ। ‘अहिले एमबीए गर्नेको भविष्य राम्रो छ। प्राविधिक विषयबाहेक अन्य विषयको तुलनामा व्यवस्थापन पढ्न बढी खर्च लागे पनि यसको उपयोगिता पनि बढ्दै गएको छ।

हरेक बिजनेसमा फाइनान्स जोडिएको हुन्छ,’ शेरचन भन्छन्, ‘जहाँजहाँ फाइनान्स जोडिन्छ त्यहाँ एमबीए उपयुक्त हुन्छ।’ पछिल्लो समय यसका क्षेत्रहरूमा विविधता आएको छ। अहिले एमबीए गर्नेले बैंकिङ क्षेत्र मात्र नरोजेर अन्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर आफ्नो करियर अघि बढाइरहेका छन्। पर्यटन, कृषि, साना, मझौला तथा ठूला उद्योग र डिजिटल प्रडक्टहरूमा पनि यस संकायका विद्यार्थी क्रियाशील हुन थालेका छन्। समग्रमा एमबीए गरेका विद्यार्थी हरेक क्षेत्रमा बिक्न सक्ने भएकाले उनीहरूको भविष्य उज्ज्वल छ। करियरमा अघि बढ्नको लागि तथा करियरको वृद्धि विकासको लागि एमबीए महत्वपूर्ण विषय बनेको छ।

एमबीएले जुनसुकै क्षेत्रमा ढोकाहरू खोलिदिने काम गर्दछ। आम मान्छेमा एमबीएको चाम अझ बढ्दो छ। अघिल्ला वर्षहरूमा विज्ञान पढ्न नसक्ने विद्यार्थीले एमबीए पढ्ने गरे पनि पछिल्लो समय यो ट्रेनमा परिवर्तन आएको छ।

पहिला सेकेन्ड क्याटोगोरीमा यो विषयलाई राख्ने गरिन्थ्यो। अहिले एमबीएलाई पहिलो प्राथमिकतामा राखेर पढ्ने गरेको पाइन्छ। यो विषय अध्ययन गरेर कमाएको प्रतिष्ठाकै कारण यसको लोकप्रियता बढ्दै गएको हो। पछिल्लो समय यसका क्षेत्रहरू विस्तार हुँदै गएका छन्। साइन्स पढ्नेले जस्तो एउटै क्षेत्रमा खुम्चिएर बस्नुपर्ने अवस्था छैन। यसले ठूलो एरिया कभरेज गरेको छ।

नेपालबाट हरेक वर्ष विदेश जाने जनशक्ति बढेकाले गुणस्तरीय शिक्षा दिन आफूले अमेरिकी युनिभर्सिटीअन्तर्गतको वेस्ट क्लिफ विश्वविद्यालयबाट सम्बन्ध लिएको प्रेसिडेन्टल बिजनेस स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसी बताउँछन्। ‘नेपाली विश्वविद्यालयका कोर्सहरू लामो समयसम्म पढाइ भइरहने अर्थात् समयसापेक्ष परिवर्तन नहुने परिपाठी छ,’ उनी भन्छन्, ‘अमेरिकी शिक्षा पद्धतिले समय सान्दर्भिकताअनुसारको शिक्षा दिन र विद्यार्थीले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र विश्वभरि प्रतिस्पर्धात्मक रूपमा बिक्री गर्न सक्ने भएकाले प्रतिष्ठित विश्वविद्यालयबाट सम्बन्धन लिएको हौं।’

प्रेसिडेन्टलमा पढेका विद्यार्थीले बैंक तथा वित्तीय क्षेत्रको म्यानेजिङ पोस्टमा रहेर बजारमा आफ्नो पहिचान बनाइसकेको उनी बताउँछन्। बजारमा आफ्नो मूल्य सिर्जना गरेरमात्र जान आफूले विद्यार्थीलाई सल्लाह दिने गरेको उनको भनाइ छ। ‘यहाँ पढेका विद्यार्थी बेरोजगार बस्न त परै जाओस् बजार आफूले चाहेको मूल्य लिएर अर्थात् राम्रो मूल्य बनाएर काम काममा जाने गरेका छन्,’ उनी भन्छन्। अन्य विषयभन्दा यो विषय पढ्ने विद्यार्थीले दुईवर्षे कोर्सका लागि ट्युसन शुल्कमात्र औसतमा ६ लाख खर्चिनु पर्छ,’ भन्छन्, ‘काम नगरी पढ्दा कोर्स पूरा गर्ने बेलासम्म १२ लाख खर्च हुने भएकाले शिक्षा गुणस्तरीय भएको प्रमाणित गर्छ।’

विशेषगरी बैंकिङ क्षेत्रमा प्रवेश गर्नमात्र नभएर देश वा विश्वकै अर्थतन्त्र बुझ्न तथा बुझ्न चाहनेका लागि यो रोजाइको विषय बनेको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा बताउँछन्। यो अध्ययन गरेका विद्यार्थीमा आत्मनिर्भर, उद्यमशीलता विकास तथा नेतृत्व कायम गर्न सक्ने क्षमताको बृद्धि विकास गराउँछ,’ उनी भन्छन्, ‘वास्तवमा यो रोजगारी सिर्जना गरी मालिक बनाउने विषय हो।’ त्यसैले यो विषयमा अन्य क्षेत्रका विद्यार्थीले पनि प्रवेश गर्ने गरेको उनको भनाइ छ। व्यवस्थापन शिक्षालाई आजको अत्यावश्यक र अपरिहार्य संकायका रूपमा लिइन्छ।

‘व्यवस्थापन मालिक बनाउने विषय हो, व्यक्तिलाई सक्षम बनाएर राम्रो व्यवस्थापक बनाउन व्यवस्थापन संकायले प्रमुख भूमिका खेल्छ,’ एम्बिएस एकेडमीका निर्देशक देवी घिमिरे भन्छन्। समाज परिवर्तन र दिगो विकासका लागि अहिले ‘गुड म्यानेजमेन्ट’ आवश्यकता छ उनी भन्छन् ‘ विज्ञानले अनुसन्धान गरेको विषयलाई व्यवस्थापन गर्ने काम यो संकाय पढ्ने विद्यार्थीले गर्छन।’ विज्ञान पढेको मान्छेले व्यवस्थापन गर्न सक्दैन। तर, व्यवस्थापन पढ्ने विद्यार्थीले भने आफूदेखि परिवार, कार्यालयदेखि हरेक मानिसको सामाजिक, मानसिक र आर्थिक रूपले व्यवस्थापन गरिरहेको हुन्छन्।

२०५० सालमा एमबीए गरेका भवानी पौडेल अहिले अध्यापन पेसामा कार्यरत छन्। २४ वर्षअघि एमबीए गरेका उनलाई बैंकको अधिकृतको जागिरभन्दा शिक्षण पेसा राम्रो र मर्यादित लाग्यो। सफल कलेज सञ्चालकाका रूपमा स्थापित भएका उनी बैंकमा जागिर खानका लागि मात्र नभई जुनसुकै क्षेत्रको पनि व्यवस्थापकीय ज्ञान हुनु जरुरी भएको बताउँछन्। ‘संस्थाले सफलता हासिल गर्न व्यवस्थापकीय पक्ष सबल र सक्षम हुनपर्छ,’ उनी भन्छन्, ‘ अनिमात्र संस्थाले राम्रो प्रतिफल दिन सक्छ।’

महत्व विश्वभर


प्रा.डा. डिल्लीराज शर्मा

डिन, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन शिक्षाको महत्व नेपालमात्र नभएर विश्वव्यापी रूपमै बढ्दै गएको छ। अघिल्ला वर्षहरूमा व्यवस्थापन विषय अध्ययन गरेका जनशक्ति बैंक तथा वित्तीय संस्थामा केन्द्रित भए पनि पछिल्लो समाजमा हुने हरेक क्रियाकलापमा यो शिक्षा अपरिहार्य भएको छ। वित्तीय क्षेत्रको मात्र नभई मानव जीवनका हरेक पक्षमा जोडिएको यो विषयको महत्व फैलिँदै गएको छ। साना तथा उच्च लगानीका उद्योगधन्दादेखि ठूलठूला कर्पोरेट हाउस, सरकारी निकायमा यसको प्रभाव अझ बढ्दै छ।

यो विषयको चाम किन छ त भन्दा यो रोजगार सिर्जना गर्ने र रोजगारीको प्रशस्त सम्भावनाहरू भएको विषय हो। कुनै पनि उद्योगधन्दाको वृद्धि विकास गर्न, यसका योजनाहरू तर्जुमा गर्न, सम्भावित जोखिमका बारेमा मूल्यांकन गरी सम्भवत जोखिममा पर्न नदिन तथा जटिलताहरू हटाउने व्यवस्थापकीय ज्ञानको अध्ययन यस विषयले गराउँछ। यो आत्मनिर्भर र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने पेसा भएकोले हरेक व्यक्ति समाजका हरेक क्रियाकलापमा यसको महत्व छ।

देशभरका सात सय ७७ वटा कलेजले त्रिविबाट यस विषय अध्ययन गराउनका लागि आंगिक र सम्बन्धन प्राप्त गरेका छन्। अन्य निजी कलेजमा एमबीए अध्ययन गर्नका लागि नौ/दस लाख खर्च लागे पनि त्रिविमा एमबीए पढ्नका लागि करिब चार लाख रुपैयाँ भए पुग्छ। यसबाहेक त्रिविले अन्य २२ वटा नयाँ कार्यक्रमसाथ अध्ययन गराउँदै आएको छ। हाल त्रिवि व्यवस्थापन संकायअन्तर्गतको ब्याचलरभन्दा माथि पौने दुई लाख विद्यार्थी छन्।

अन्नपूर्णपोष्ट दैनिकबाट

Comments: