२०७६ कार्त्तिक ५ गते

छापिएनन् मातृभाषाका पुस्तक

अन्तैबाट

काठमाडौँ । बजेट ढिलो निकासा हुँदा मातृभाषाका पुस्तक छपाइ स्थगित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक वर्ष ०७५/७६ मा प्रकाशन गर्न स्वीकृत गरेको पुस्तक छपाउन नसकेको हो ।


प्रतिष्ठानले हरेक वर्ष विभिन्न मातृभाषाका साहित्य र अनुसन्धानमूलक पुस्तक छपाउँदै आएको छ।

प्रतिष्ठानले डेढ दशकदेखि आदिवासी जनजातिको परिचय, इतिहास, संस्कृति, साहित्य, लिपि, कला, संगीत विषयका पुस्तक प्रकाशन गर्दै आएको छ। प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझीले यो वर्ष २७ वटा शीर्षकका पुस्तक छनोटमा परेको तर बजेट ढिलो प्राप्त भएका कारण १३ वटा मात्र छापिने क्रममा रहेको बताए। परिषदले निर्णय गरेअनुसार पहिलोपटक यसरी पुस्तक छापिन नसकेको हो।

‘मातृभाषाका पुस्तक छनोट भयो तर बजेट निकासा ढिलो भयो,’ सदस्यसचिव माझीले भने, ‘बजेट पाएपछि पुस्तक डिजाइन, छपाइका निम्ति टेन्डरको सूचना सार्वजनिक गरियो। सबैभन्दा कम बिड हाल्ने छापाखानालाई दिनुपर्छ।’

प्रतिष्ठानले ती पुस्तक छपाइका निम्ति ५ लाख रुपैयाँ बजेट छुट्याएको छ। त्यसनिम्ति काठमाडौंका केही छापाखानाले टेन्डरमा भाग लिएका थिए। इगल पिस प्रेसले सबैभन्दा कम ३ लाख ४७ हजार रुपैयाँको टेन्डर हालेको थियो। ‘सबैभन्दा कममा टेन्डर हाल्नेलाई दिने नियम हो,’ सदस्यसचिव माझीले भने, ‘त्यसैलाई दिने टुंगोसहित अग्रिम भुक्तानी दियौं तर अन्तिम घडीमा पैसा पुगेन भनेर छनोटमा परेका पुस्तक छाप्न सकेन। अब यस्तो धोखा दिने प्रेसलाई कालोसूचीमा राखिनेछ।’

प्रतिष्ठानअन्तर्गत अनुसन्धान तथा अनुगमन प्रमुख सन्तलाल मेचेले पहिलोपटक यसरी पुस्तक छपाइ रोकिएको बताए। ‘प्रतिष्ठानले मातृभाषा साहित्यका पुस्तक प्रकाशनले मातृभाषी लेखकलाई हौसला प्रदान गर्दै आएको छ,’ उनले भने, ‘यसरी एक आर्थिक वर्षमा छनोटमा पारिएका पुस्तक छापिँदै छ भनेर सम्बन्धित लेखकलाई जानकारीसमेत दिइसकिएको अवस्थामा अकस्मात रोकिँदा विश्वसनीयतामा बाधा पुगेको छ।’ नयाँ आर्थिक वर्षमा छनोटमा परेका पुस्तकलाई छपाइका निम्ति पहिलो प्राथमिकता उनले जनाए।

प्रतिष्ठानले सूचीकृत ५९ थरी आदिवासी जनजातिमध्ये केहीको ‘इथ्नोग्राफिक प्रोफाइल’ समेत निर्माण गरी प्रकाशित गरेको छ। तीन आर्थिक वर्षदेखि प्रतिष्ठानको बजेट कटौती भएपछि प्रोफाइल निर्माण कार्य रोकिएको छ। मातृभाषा, साहित्य, संस्कृतिमूलक कृति भने प्रकाशन जारी राखेको छ।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: