२०७६ भदौ १ गते

विद्यालयको स्तर वृद्धी र तह थप गर्न अन्तरक्रिया

महेश न्यौपाने/रोल्पा


रोल्पा सदरमुकाम लिबाङमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयले स्तर वृद्धी र तह थपका लागि सरोकारवाला संग अन्तरक्रिया गरेको छ । विद्यालय प्राङ्गणमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको शैक्षिक सुधारलाई समेत ध्यान दिई तह थप गर्न उपयुक्त रहेको सुझाव दिएका थिए ।


२०४५ सम्म नेपाल बाल संगठनको नाममा शिसु कक्षा मात्र संचालन गरेको सो विद्यालयले २०५४ साल देखि छुट्टै विद्यालयको रुपमा स्थापना भई कक्षा १˗३ अनुमती पाएको थियो । पछिल्लो पटक २०६२ सालमा कक्षा ५ संचालनको अनुमती पाई प्राथमिक तहको पठन पाठन गर्दै आएको विद्यालयले २०६० साल सम्म नेपाल वाल संगठनको भवनमा विद्यालय संचालन गरेको थियो ।


२०६१ साल देखी आफ्नै भवनमा पठन पाठन गराउदै आएको सो विद्यालयमा हाल दरवन्दी र राहात सहित ५ जना शिक्षक, १ जना वालविकास सहजकर्ता र १ जना कार्यालय सहयोगी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक विना मल्लले जानकारी दिइन ।


पछिल्लो पटक तयार गरिएको विद्यालय सुधार योजना अनुसार शैक्षिक शत्र २०७६ देखि कक्षा थप गर्ने र अंग्रेजी माध्यमवाट पठन पाठन गर्ने निर्णय भएको प्रधानाध्यापक मल्लको भनाई छ ।


योजना वमोजिम नै विद्यालयको कक्षा थपका लागी अभिभावक र अन्य सरोकारवालाहरुवाट सकारात्मक सुझाव आएको विद्यालयले जनाएको छ । कक्षा थपका लागी आवश्यक भौतिक संरचना तयारी र जनशक्ति व्यवस्थापनका लागि श्रोत खोजी गर्ने समेत निर्णय भएको छ ।  

Comments: