२०७६ कार्त्तिक ६ गते

गरिबीको मार विद्यार्थीमा

अन्तैबाट

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका ३, ज्यामिरेस्थित आधारभूत विद्यालयका वीरेन्द्र बुढा कक्षा १ का सबैभन्दा उत्कृष्ट विद्यार्थी हुन् । अरू विद्यार्थीभन्दा अब्बल वीरेन्द्र झन्डै दुई महिनायता विद्यालय आएका छैनन् ।

 सोही विद्यालयको कक्षा २ की मनीषा बुढा पनि अब्बल छात्रा हुन् । आफूभन्दा माथिल्लो कक्षाका विद्यार्थीसँग समेत प्रतिस्पर्धा गर्न सक्ने मनीषाले पनि लामो समयदेखि विद्यालयमा पाइला टेकेकी छैनन् । वीरेन्द्र र मनीषामात्रै होइन, उक्त विद्यालयका झन्डै ३० छात्रछात्रा विद्यालय आउँदैनन् ।

घरायसी कामकाज, बिरामी वा अन्य कारणले भने यी विद्यार्थीले विद्यालय छाडेका होइनन् । अभिभावकले घर छाडेपछि उनीहरूले पनि विद्यालय छाडेका हुन् ।

विद्यार्थीले यो वर्षमात्रै यसरी विद्यालय छाडेका पनि होइनन् । हरेक वर्ष यसरी नै विद्यालय छाड्नुपर्ने बाध्यता उक्त क्षेत्रका बालबालिकासँग छ । गरिबीका कारण विद्यार्थीले विद्यालय छाड्ने गरेको जनाएको छ । शिक्षक इन्द्रलाल शर्माका अनुसार ज्यामिरेवासी हिउँदको समयमा कमाउन जान्छन् ।

आमाबाबु नै कमाउन जाने भएकाले उनीहरूले छोराछोरी पनि आफूसँगै लैजान्छन् । अभिभावक देशभित्रैका विभिन्न जिल्ला तथा भारतमा कमाउन जाने हुँदा छोराछोरीलाई पनि सँगै लैजाने गरेको शिक्षक शर्माले बताए ।

ज्यामिरेमा हिउँद कुनै पनि बाली लाग्दैन । वर्षामा मकै लगाइएका जग्गा तथा बारी बाँझै छन् । जसरी हिउँदमा बारी रित्ता छन्, त्यसरी नै ज्यामिरेका घर पनि खाली छन् । वर्षामा मात्रै उत्पादन भएको अनाजले वर्षभरि खान नपुग्ने भएपछि ज्यामिरेवासी हिउँदमा कमाउन जानुपर्ने बाध्यतामा छन् । आफूहरू कमाउन जाँदा छोराछोरीलाई पनि सँगै लैजाने गरेको प्रधानाध्यापक पुष्कर गौतमले सुनाए ।

‘छोराछोरी सानै हुन्छन्, घरमै छाडेर जान पनि सक्दैनन्,’ उनले भने, ‘हामी पनि विद्यार्थी यतै छोड भन्न सक्ने अवस्थामा हुँदैनौं ।’ उनका अनुसार हरेक वर्ष ससाना बालबालिकाको पढाइमा यसरी नै असर पर्ने गरेको छ । उनी शैक्षिक सत्रको अन्तिममा वार्षिक परीक्षा दिन आउँछन् ।

छोराछोरीको पढाइ, वर्षे बाली लगाउने काम गर्न गाउँले फागुन अन्तिमदेखि चैत पहिलो सातामा फर्कने गर्छन् । लामो समय विद्यालय नगएका बालबालिका परीक्षामा मात्रै सहभागी हुँदा राम्रो अंक ल्याउन सक्दैनन् । कतिपय त पास नै हुन मुस्किल हुने गरेको विद्यालयले जनाएको छ ।

सानीभेरी गाउँपालिका ३, का वडासदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर पुनले सिँचाइ अभावमा हिउँदे बाली नलाग्ने हुँदा ज्यामिरेका अधिकांश परिवारसहित कमाउन जाने गरेको बताए । ज्यामिरेका झन्डै ६० परिवार धादिङ, गोरखा, रामेछाप तथा भारतका विभिन्न ठाउँमा परिवारसहित कमाउन जाने गरेको पुनले जनाए ।

हरि गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: