पोखरा । पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको भन्दै अनेरास्ववियुले बुधबार विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेशले यसअघि नै मंसिर २० देखि अनिश्चितकालका लागि ताला लगाएको थियो ।

विरोध कार्यक्रममा अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्कन आह्वान गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले अध्ययन गर्न आएका विद्यार्थीलाई बाहिर नबोल्न कलेजबाट धम्की दिइरहेको प्रति खेद व्यक्त गरे । आन्दोलनका कार्यक्रम विभिन्न स्वरुपमा अगाडि बढ्ने अनेरास्ववियु गण्डकी प्रदेश सचिव आरके पोख्रेलले जानकारी दिए । यसअघि संयुक्त विद्यार्थी संगठनले मणिपालले लिने अतिरिक्त शुल्क हटाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए ।

मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । खान र बस्नबाहेक मेडिकल कलेजले विद्यार्थीसँग शुल्क लिनु गैरकानुनी हो । होस्टलमा खाने र बस्ने पनि विद्यार्थीको ऐच्छिक विषय हो । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा पास भएर विश्वविद्यालयमै भर्ना भएर पढ्न गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागेको अभिभावकले बताएका छन् ।

एमबीबीएसलगायत चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्र आइतबार सुरु भएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका अधिकांश मेडिकल कलेजले बढी शुल्क लिन ‘मोलमोलाइ’ गरेको अभिभावक र विद्यार्थीले बताएका छन् ।

मणिपालले पनि काठमाडौं विश्वविद्यालयबाटै सम्बन्धन पाएको हो । मणिपालले खेलकुद, सूचना प्रविधि शीर्षकमा २० हजार, डकुमेन्टेसन शुल्क २ हजार, धरौटीबापत २ लाख ३०, काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसनबापत २५ हजार, नेपाल मेडिकल काउन्सिल शुल्क ५ हजार, होस्टल फर्निसिङ शीर्षकमा २० हजार, होस्टलबापत १ लाख ३८ हजार, मेस शुल्क १ लाख ५० हजार, इन्स्योरेन्स र मेडिकेयर शीर्षकमा ६५ हजार शुल्क लिएको छ । त्यसबाहेक परीक्षा शुल्क भनेर छुट्टै मागिएको छ ।

विद्यार्थीले पहिलो किस्ताबापतको १३ लाख ४१ हजार ८३ रुपैयाँ काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । होस्टल र खानाबाहेक पैसा नलाग्ने, होस्टल बस्न पनि अनिवार्य नभएको भनिए पनि विभिन्न शीर्षकमा पैसा मागिएको विद्यार्थीले बताएका छन् ।कलेजमा यही मंसिर २० गतेदेखि तालाबन्दी गरेको अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनका विरुद्ध आन्दोलन गर्न आह्वान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्