२०७६ असोज १ गते

सुविधा लिने अस्थायी शिक्षकको विवरण माग

ईपाटी संवाददाता


भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुविधा लिने शिक्षकहरुको विवरण माग गरेको छ । केन्द्रले बुधवार ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईहरुलाई पत्र लेखेर सुविधा लिने अस्थायी शिक्षकहरुको विवरण पढाउन भनेको हो ।


केन्द्रले शिक्षा ऐन २०२८ को नवौं संशोधनको दफा ९ को व्यवस्था अनुसार सुविधा लिन चाहने शिक्षकहरुको सम्बन्धमा निवेदन माग गरी निज शिक्षकले सुविधा वापत के–कति रकम पाउने हो पछिसम्म फरक नपर्ने गरी सम्बन्धीत शिक्षकहरुको नाम नामेसी लगायत विवरणको सफ्ट र हार्ड कपी विद्यालय शिक्षक किताबखाना ताहाचल र केन्द्रमा पठाउन इकाईहरुलाई आग्रह गरेको छ ।


शिक्षकको नाम, नियुक्ति मिति, तह, सेवाअवधि, हुन आउने रकम, विरामी बिदाको दिन, विरामी बिदा वापत हुनआउने रकम र कुल रकमको विवरण पठाउन भनिएको छ ।


शिक्षा ऐनको नवौं संशोधन अनुसार सुविधा रोजेर परीक्षा नदिने साथै परीक्षामा असफल हुने अस्थायी शिक्षकहरुले सेवाअवधिका आधारमा सुविधा पाउनेछन् ।


Comments: