२०७६ भदौ ९ गते

मदरसामै विद्यालय शिक्षा

अन्तैबाट

बिर्तामोड । मोहम्मद सावी अन्सारीका ५ छोराछोरी । चार छोराछोरीले उर्दू भाषा पढ्न पाएनन् । यसबाट खिन्न भएका उनले यो वर्ष कान्छा छोरा मोहम्मद समिरलाई बोर्डिङ स्कुलबाट छुटाएर मदरसामा भर्ना गरिदिएका छन् । समिरले मदरसामा उर्दूसँगै बोर्डिङ स्कुलमा जस्तै अंग्रेजी माध्यमबाट सबै विषय पढ्न पाएका छन् ।


बिर्ताबजारका मुस्लिम समुदायले उर्दू भाषाको मात्र पढाइ हुने मदरसालाई अलि फरक ढंगले सञ्चालनमा ल्याएका छन् । उनीहरूले बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा ‘मदरसा तालिमुल कुरान’ सामुदायिक विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

उक्त मदरसामा मुस्लिम समुदायको धार्मिक पढाई उर्दूसँगै अंग्रेजी, विज्ञान, नेपाली, गणित, सामाजिक, कम्प्युटर र सामान्य ज्ञानको पढाइ हुन्छ । उर्दूबाहेक अन्य सबै विषय अंग्रेजी माध्यमबाट पढाई हुन्छ । विद्यालयमा नगरभित्रका मुस्लिम समुदायका ७८ जना विद्यार्थी अध्ययनरत छन् । ५ सम्मको अनुमति भए पनि विद्यालयमा अहिले कक्षा ३ सम्मको पठनपाठन हुने गरेको छ ।

‘उर्दू पढ्न मदरसा जाँदा अन्य पढाई छोड्नुपर्ने कि त सरकारी वा बोर्डिङ स्कुल जाँदा उर्दू पढ्न नपाउने समस्याबाट हाम्रा छोराछोरी गुज्रिरहेका थिए,’ मदरसा व्यवस्थापन समिति अध्यक्ष अफरोज खानले भने, ‘हाम्रा नानीहरूलाई उर्दू र उच्च शिक्षा दुवै जरुरी देखेर हामीले मदरसालाई फरक ढंगले सञ्चालनमा ल्याएका हौं ।’

मदरसामा मुस्लिम समुदायका विपन्न परिवारका छोराछोरीले निःशुल्क पढ्न पाएको उनले बताए । ‘विद्यार्थीहरूबाट कुनै किसिमको शुल्क लिएका छैनौं । बरु, पाठ्य पुस्तक र पोसाक पनि हामीले नै उपलब्ध गराएका छौं । उर्दू एउटा विषय पढाई हुन्छ । बाँकी सरकारी पाठ्यक्रम अनुसारै पढाई हुन्छ,’ खानले भने । मदरसामा मुस्लिम विद्यार्थी मात्र नभई अन्य जाति समुदायका विद्यार्थी पनि आए निःशुल्क शिक्षा दिन आफूहरू तयार रहेको अध्यक्ष खानले बताए ।

‘उर्दू हाम्रो भाषा, संस्कार र संस्कृति सिकाउने महत्त्वपूर्ण पढाइ हो । तर, बाहिरी समाजमा आफ्नो क्षमता र योग्यताअनुसार काम गरेर खान उर्दू बाहेकको पढाई पनि महत्त्वपूर्ण छ,’ मोहम्मद सावी अन्सारीले भने, ‘बाध्यकारी दुई शिक्षामध्ये एक मात्र रोज्नुपर्ने समस्याबाट अब हामी मुक्त भएका छौं । यो मदरसा सञ्चालनमा आएपछि हाम्रा नानीहरूले सबैखाले पढाई पढ्न पाएका छन् ।’ मदरसामा पठनपाठन गराउन मुस्लिम बाहेकका जाति समुदायका शिक्षक कार्यरत छन् ।

‘सुरु–सुरुमा मदरसामा पढाउँछुभन्दा मान्छेहरू छक्क पर्थे,’ शिक्षिका गीता ओलीले भनिन्, ‘मदरसा भए पनि यहाँ अन्य विद्यालयमा जस्तै सबै विषयको पठनपाठन हुन्छ ।’ शिक्षिका पूजा साहले बोर्डिङ स्कुलको जागिर छोडेर मदरसामा पढाउन आएको बताइन् । ‘मैले पहिला काम गरेको बोर्डिङ र यहाँ केही फरक छैन । एउटा मात्र समुदायका विद्यार्थीहरू पढ्न आउने भएकाले यो विद्यालय फरक देखिए पनि पठनपाठनको हिसाबले अन्य जस्तै हो,’ साहले बताइन् ।

०३० सालमा स्थानीय मोहम्मद गुलाम नाभीको नेतृत्वमा बिर्ताबजारमा नुरी जामे मस्जिद स्थापना गरिएको थियो । मस्जिदमा प्रत्येक शुक्रबार आसपासका मुस्लिम समुदायले धार्मिक प्रार्थना गर्दै आएका छन् । मस्जिद व्यवस्थापन समितिले साढे २२ धुर जमिन खरिद गरेर मस्जिद निर्माण गरेको छ । मस्जिदकै जमिनलाई घेराबारा गरी मदरसा सञ्चालन गरिएको छ ।

मदरसा सञ्चालनपछि मुस्लिम समुदायका छोराछोरीले उर्दुसँगै अन्य शिक्षा पनि पाउन थालेपछि विद्यार्थीको चाप बढदो छ । तर, विद्यार्थीको लागि खेल मैदान छैन । मदरसाका लागि पर्याप्त जमिन छैन । जमिन अभावमा पर्याप्त शौचालय छैन । मदरसा स्थानीय मुस्लिम समुदायका दाताहरूको सहयोगमा सञ्चालन गरिरहेको अध्यक्ष खानले बताए । थप कक्षा कोठा तथा भौतिक पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेको उनले बताए ।

निश्चित एउटा भाषाको मात्र नभई अन्य विद्यालयमा जस्तै शिक्षा उपलब्ध गराउन मदरसामा शिक्षक दरबन्दी नहुँदा समस्या भइरहेको उनले बताए । मदरसामा ७ जना शिक्षक–शिक्षिका र २ जना कर्मचारी छन् । सातामा एक दिन मदरसाले सबै विद्यार्थीलाई दिवा खाजा दिने गरेको छ ।

शिक्षक, कर्मचारीको तलब र अन्य गरी मदरसा सञ्चालन गर्न मासिक १ लाख ७० हजारभन्दा बढी खर्च हुने गरेको उनले सुनाए । एक किलोमिटरभन्दा टाढाका विद्यार्थी ल्याउन मदरसाले एउटा गाडी सञ्चालनमा ल्याएको छ । चालु वर्ष मदरसालाई नगरपालिकाले ७ लाख र वडा कार्यालयले ५ लाख सहयोग गर्ने वचन दिएको उनले बताए ।

अर्जुन राजवंशीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: