२०७६ माघ ११ गते

एक शिक्षक एक ल्यापटप

अन्तैबाट

स्याङ्जा । फेदीखोला गाउँपालिकाले 'एक शिक्षक एक ल्यापटप' अभियान सुरु गरेको छ । ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’भन्ने नाराका साथ उक्त कार्यले गुणस्तरीय र समयानुकुलन शैक्षिक आवश्यकतालार्ई प्रविधिसँग जोडेको जनाइएको छ ।

गाउँपालिकामा आयोजित कार्यक्रम मार्फत पालिकाभित्रका २४ वटा सामुदायिक विद्यालयका एक सय १५ शिक्षकलाई ल्यापटप उपलब्ध गराइएको छ । छात्राछात्राका रुची र उनीहरुलाई श्रव्यदृश्य मार्फत साक्षात्कार गराउने उद्देश्यले त्रिपक्षीय सहकार्यमा ल्यापटप प्रदान गरिएको हो । शिक्षक, विद्यालय र गाउँपालिकाको आर्थिक साझेदारीमा ल्यापटप खरिद गरिएको हो ।

सामुदायिक विद्यालयका शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले एक शिक्षक एक ल्यापटप अभियान संचालन गरेको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले भने, ‘शिक्षकका क्षमता विकास गर्दै आधुनिक शिक्षण पद्धतिमार्फत अडियोभिडियो प्रविधिसँगै जोडिँदै गुणस्तरीय शिक्षण क्रियाकलाप गराउने पालिकाको मुख्य लक्ष्य हो ।’

पालिकाले ल्यापटप खरिदका लागि १५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम विद्यालय र शिक्षकको सहयोग रहेको छ । परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गर्दै आधुनिक शिक्षण विधिलाई अवलम्बन गर्नु आजको आवश्यकता हो । विद्यालय परिवार प्रविधिमैत्री हुन नसके विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन नसक्ने बताउँछन् पालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गरुङ ।

भवानी अधिकारीले अन्नपूर्णपोष्टमा खबर लेखेकी छन् ।

Comments: