२०७६ असोज २९ गते

त्रिविको चरम लापर्बाही, छात्रवृत्तिको २३ लाख नबाँडिएको खुलासा

अन्तैबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागको चरम लापर्बाहीका कारण  छात्रवृत्तिस्वरूप वितरण हुनुपर्ने २३ लाख रुपैया“ रोकिएको पाइएको छ । यसको प्रत्यक्ष मारमा छात्रवृत्ति पाउन योग्य ३ सयभन्दा बढी विद्यार्थी परेका छन् ।

२०७०/७२ समूह र २०७१/७३ समूहका विद्यार्थीलाई आंशिक छात्रवृत्ति उपलब्ध गराइए पनि अन्य दुई सेमेस्टरका विद्यार्थीले छात्रवृत्तिबापतको रकम पाउन सकेका छैनन् ।

कुल भर्ना भएका ४७३ मध्ये २०७२/७४ समूह र २०७३/७५ समूहका ३५/३५ विद्यार्थीले छात्रवृत्ति पाउन नसकेका हुन् । २०७२/७४ का विद्यार्थी सेमेस्टर कक्षा भने  सकिएको छ ।

२०७३/७५ समूहमा भर्ना भएका विद्यार्थी अहिले तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका छन् । छात्रवृत्ति निर्देशिकामा कुलमध्ये १५ प्रतिशत विद्यार्थीलाई भर्ना भएकै वर्षदेखि लागू हुनेगरी छात्रवृत्ति रकम उपलब्ध गराउने प्रावधान छ । २०७२/७४ मा ३५ विद्यार्थीले चार सेमेस्टरसम्म पुग्दा ७ लाख ५ हजार पाउनुपर्ने हुन्छ ।

त्यस्तै, २०७३/७५ समूहका ३५ विद्यार्थीले चार सेमेस्टरसम्ममा ७ लाख ५ हजार पाउनुपर्ने देखिन्छ । २०७०/७२ मा भर्ना भएका ३ सयमध्ये तेस्रो र चौथो सेमेस्टरमा ४५ विद्यार्थीले छात्रवृत्तिबापतको रकम अहिलेसम्म पाउन सकेका छैनन् । जुन रकमका आधारमा ४ लाख ५० हजार हुन आउँछ ।

२०७१/७३ मा भर्ना भएका २९० मध्ये ४३ विद्यार्थीले छात्रवृत्तिबापतको रकम अहिलेसम्म पाउन सकेका छैनन् ।  जुन रकमका आधारमा ४ लाख ३५ हजार रुपैया“ हुन आउँछ । विद्यार्थीले छात्रवृत्ति उपलब्ध गराउन नसकेको भन्दै विभागबाटै नीतिगत भ्रष्टाचार भएको बताएका छन् । उनीहरूले विभागमा सेमेस्टर प्रणाली लागू भएदेखि हालसम्म नियमित रूपमा वितरण गरिनुपर्ने छात्रवृत्ति वितरण प्रभावकारी हुन नसकेको बताएका छन् ।

विद्यार्थी नेता मदन चापागाईंले सो रकम वितरण नगरी भ्रष्टाचार गरिएको दाबी गरे । विद्यार्थीले व्यवस्थापन संकाय केन्द्रीय विभागका प्रशासकीय अधिकृतको राजीनामासमेत माग गरेका छन् ।

व्यवस्थापन संकाय केन्द्रीय विभाग प्रमुख रामजी गौतमले आगामी दिन छात्रवृत्ति रकम मितव्ययी बनाउने बताए ।व्यवस्थापन विभागका प्रशासकीय अधिकृत मुकुन्द रिमालले जनशक्ति अभावका कारण छात्रवृत्ति रकम वितरण गर्न समस्या भएको प्रस्ट्याउन खोजे ।

त्रिवि केन्द्रीय विभाग छात्रवृत्ति वितरणका लागि गठित समिति संयोजक अच्युत ज्ञवालीले आफूले आधिकारिक रूपमा संयोजक भएको कुनै चिठी नपाएको बताए । ‘मलाई संयोजक भनिए पनि आधिकारिक चिठी पाएको छैन,’उनले भने ।

विद्यार्थी नेता भीमप्रसाद काफ्लेले छात्रवृत्ति रकम तत्काल उपलब्ध नगराए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने  चेतावनी दिए ।

प्रशान्त वलीले राजधानीमा खबर लेखेका छन् ।

Comments: