२०७६ माघ ८ गते

माओवादी र एमालेबाट विद्यालयलाई बचाउनुपर्छ भन्दा लफडा


काठमाडौं । नेपाली कांग्रेसका नेता जगत तिमल्सिनाले एमाले र माओवादीबाट विद्यालय अशान्त हुनबाट बचाउनुपर्ने अभिव्यक्ति दिएपछि लफडा भएको छ ।


नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष समेत रहेका तिमल्सिनाले विद्यालय र बालबालिकालाई शान्तिको प्रत्याभूत गर्ने हो भने एमाले र माओवादीबाट बचाउनुपर्ने बताएका थिए ।


शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विहिवार आयोजना गरेको विद्यालय तथा बालबालिका शान्ति क्षेत्र कार्यान्वयन गर्नका लागि अपिल तथा प्रतिवद्धता कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्रतिवद्धता जाहेर गर्ने क्रममा तिमल्सिनाले सो कुरा बताउन साथ नेपाल राष्ट्रीय शिक्षक संगठनका नेता मघु तिमल्सिनाले बीचमै उठेर त्यसको प्रतिवाद गरेका थिए ।


तिमल्सिनाले विद्यालयलाई ब्यारेक बनाउने अभिव्यक्ति दिने माओवादी अध्यक्ष प्रचण्ड र आत्महत्या गर्न नसके व्यक्ति शिक्षक बन्छ भन्ने अभिव्यक्ति दिने एमाले अध्यक्ष केपी ओलीको पार्टीबाट विद्यालय अशान्त हुनबाट बचाउनुपर्ने अभिव्यक्ति दिएका थिए । उनले यस्तो अभिव्यक्ति दिनसाथ शिक्षक संगठन नेता तिमल्सिनाले उनको भनाई गलत भएकाले तत्काल र्फिा लिन भन्दै होहल्ला गरेका थिए ।


होहल्ला भएपछि कांग्रेस नेता तिमल्सिना भनाइ छोट्याएर कार्यक्रमबाट हिडेका थिए । लगत्तै शिक्षक संगठनका नेता मिल्सिना पनि कार्यक्रमबाट बाहिरिएका थिए । दुबैजना बाहिरीएपछि कार्यक्रम निरन्तर सञ्चालन भएको थियो ।


कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण शर्मा, एमाले नेता सावित्रि भुसाल, राप्रपा नेता प्राडा जयन् खनाल लगायतले विद्यालय शान्ति अभियानमा प्रतिवद्धता जनाएका थिए ।


कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय शान्तिका लागि तयार पारिएको १० बुंदे अपिलमा प्रतिवद्धता जनाएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोगको अन्त्यका लागि आयोगले मात्रै भन्दापनि शिक्षा मन्त्रालय, विभाग, विद्यालयका प्रअ, शिक्षक, अभिभावक सवै लाग्नुपर्ने बताए ।

 

Comments: