२०७६ मंसिर २९ गते

कुलपति खोज्दै प्रदेश सरकार

अन्तैबाट

गण्डकी । गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयको कुलपति बन्न १० जनाले निवेदन दिएका छन् । कात्तिक २४ मा कुलपति छनोट गर्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना सार्वजानिक गरेको थियो ।


आवेदनको म्याद १५ दिनको थियो । मंसिर ९ सम्मको म्यादमा १० जनाले निवेदन दिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन गत असोज ८ मा प्रदेशसभाले पारित गरेको थियो । असोज १७ मा राजपत्रमा प्रकाशन भएपछि सरकारले गण्डकी विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।

‘कुलपति छनोट गर्ने विश्वविद्यालयमध्ये गण्डकी नै पहिलो हुनेछ’ बस्नेत भन्छन । उनका अनुसार कुलपतिका लागि डा.प्रमोद ढकाल बाग्लुङ, डा.विमल आचार्य प्युठान, डा.पूर्णकान्त अधिकारी र डा.तीर्थबहादुर थापा लमजुङ, डा.मोतीलाल पराजुली कास्की र डा.भीमलाल गौतम पर्वत रहेका छन् । यस्तै डा.हेमराज सुवेदी, डा. वासुदेव काफ्ले, डा.वीरेन्द्रराज तिवारी र डा.दीपककुमार खड्का काठमाडौंका रहेका छन् । यीमध्ये डा.तीर्थबहादुर थापा प्रस्तावित गण्डकी विश्वविद्यालयको सम्भाव्यता अध्ययन समितिका संयोजकसमेत हुन ।

‘मिल्यो भने यही आर्थिक बर्ष । नभए अर्को आवबाट विश्वविद्यालय संचालनमा ल्याउने गरि तयारीमा जुटेका छौ’ उनले भने, ‘निवेदन दिएकाहरूको परीक्षण गर्छौ । योग्यता दाज्छौ र मन्त्रीपरिषदको वैठक बसि छिट्टै नियुक्तिको निर्णय गछौ ।’ संरचना शुन्य भएता पनि कुलपति नियुक्ति गरिएमा काम थालनी गरिने उनले बताए ।


कुलपतिको लागि रोष्टरमा नाम चढाउन विद्यावारिधी उपाधि हाँसिल गरि प्राज्ञिक वा प्रशासनिक तथा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने उल्लेख छ । यस्तै, ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ भने, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषी प्रमाणित नभएको हुनुपर्नेछ । नियुक्ती हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र गण्डकी विश्वविद्यालयसँग कुनै किसिमको स्वार्थ नबाँझिएको हुनुपर्ने पनि उल्लेख छ । विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको नभइ अनुसन्धानको थलो बनाउने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: