२०७६ असोज २ गते

कृषिका कक्षामा प्रयोगात्मक सिकाइ

बागलुङ । त्रिभुवन माध्यमिक विद्यालयले माध्यमिक तहमा प्राविधिक विषयमा कृषि तथा बाली विज्ञान पढाउन सुरु गरेको छ । कक्षा ९ र १० मा ९० विद्यार्थीले कृषि तथा बाली विज्ञान अध्ययन गरिरहेका छन्  ।

विद्यार्थीले कृषि विषयको कक्षा रुचिकर र उपयोगी मानिरहेका छन् । एकोहोरो सैद्धान्तिक पढाइभन्दा प्रयोगात्मक भएकाले उच्च शिक्षामा पनि कृषि नै पढ्ने चाहना राख्ने बढेका छन् । ‘सानो कक्षामा पढदा स्टाफ नर्स बन्ने चाहना थियो । अहिले कृषि विषय नै पढेर केही गर्न सकिन्छ भन्ने लाग्दैछ,’ १० कक्षाकी प्रतीक्षा जिसीले भनिन्, ‘बुबाआमाले पनि कृषि पढेकोमा राम्रो मान्नुभएको छ ।’ कक्षामा पढाइने कृषिको विषय घर र करेसाबारीमै प्रयोग गर्न सकिने अनुभव भइरहेको उनले बताइन् ।

कक्षापछि घर जाँदा विद्यार्थीले नर्सरी व्यवस्थापन र तरकारी फलाउन थालेको शिक्षक कमल पौडेलले बताए । ‘हेर्दा, सुन्दा कृषि विषय आकर्षक लाग्दैन,’ उनले भने, ‘तर, विद्यार्थीले प्रयोगको काम घर र करेसाबारीबाट गरेर देखाउन थालेका छन् ।’ विद्यालयस्तरको विषयमा पनि रोजगारमूलक र उपयोगी ज्ञान दिनका लागि काम गर्न सकिने अनुभव हुन थालेको उनले बताए । ‘अबको जमानामा किसानले कुनै बाली फस्टाएन, रोग, कीरा बढी लाग्यो भने माटो जाँचदेखि रोग, कीरा नियन्त्रणको विधि नजानेर सुखै छैन,’ उनले भने, ‘पुराना पुस्तालाई सिकाउने नै विद्यार्थीले हो । अब त्यो सुरु भएको छ ।’ कृषि विषयको अध्यापन सरल र आधारभूत तहको भए पनि प्रयोगात्मक सिकाइसहितको भएकाले विद्यालयस्तरको पाठ्यक्रम उच्चशिक्षाका लागि सहयोगी रहेको उनले बताए ।

त्यसो त कृषि विषय पनि पढाउन थालेपछि विद्यालयले आफैंले १२ रोपनी जमिन भाडामा लिएर तरकारी र फूल खेती सुरु गरेको छ । उक्त जमिनमा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सजिलो भएको छ । थप जग्गा पाएमा लिएर फलफूल र अन्य प्रजातिका कृषि फसलको नमूना उत्पादन गर्ने विद्यालयको योजना छ । साथै विद्यार्थीले उत्पादन गरेका फसल बिक्री गरेर छुट्टै कोष बनाउने योजना छ ।

आफैंले बालीबिरुवा रोप्न र फलाउन पाउने अवसरलाई विद्यार्थीले पनि आकर्षणका रूपमा लिएका छन् । ‘हामीले घरघरमा पनि फूल रोप्थ्यौं तर त्यसको वैज्ञानिक नामसहित कामबारे थाहा थिएन । अहिले बुझ्ने मौका पाएका छौं,’ विद्यार्थी त्रेता सारूले भनिन्, ‘माटो पनि खेलाउनुपर्ने कक्षाले नौलो अनुभव भइरहेको छ ।’

अभिभावकहरू पनि छोराछोरीले कृषि पढेको देखेर दंग छन् । ‘कृषि पढ्ने कुरा राम्रो हो । अब फेरि किसानलाई माया गर्ने समय आउनेजस्तो लाग्यो,’ स्थानीय कृष्णबहादुर बलामीले भने, ‘जति धनी भए पनि किसान नभए खान पाइँदैन । अबका पुस्ताले हामीलाई नयाँ तरिका सिकाउँछन् ।’ आफ्ना बालबालिकाहरू आधुनिक किसान बनेर आइदिए खुसी लाग्ने उनले बताए । कृषि पढ्नका लागि कक्षा ८ पास गरेकालाई छुट्टै परीक्षा लिएर छनोट गर्ने गरिएको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए । कृषि विषय पढाउन विद्यालयले दुईजना शिक्षकको व्यवस्था गरेको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: