२०७६ मंसिर २३ गते

क्रान्तिकारीको शैक्षिक गोष्ठीमा समाजवादी शिक्षाको बहस

काठमाडौं ।  माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले समाजवादी शिक्षा प्राप्तिको बहस अघि बढाएको छ। जनवादी शिक्षालाई आफ्नो रणनीतिक लक्ष्य मान्दै आएको क्रान्तिकारीले गत राष्ट्रिय सम्मेलनवाट समाजवादी शिक्षाको नीति अघि सारेको थियो । क्रान्तिकारीको शैक्षिक विभागद्वारा भक्तपुरमा आयोजित शैक्षिक गोष्ठीमा समाजवाद उन्मुख शिक्षा नीतिमा आधारित पाँच वटा फरक–फरक कार्यपत्रमाथि छलफल भएको क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

गोष्ठीमा राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले ‘शैक्षिक व्यवस्थापन र गुणस्तरको सवाल’ विषयमा, प्रा.डा. शिवकुमार राईले ‘मेडिकल शिक्षा’को विषयमा र डा.जगतप्रसाद श्रेष्ठले ‘नेपालमा इन्जिनियरिङ शिक्षा : अवसर र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

शिक्षा मन्त्रालयका योजना महाशाखाका प्रमुख वैकुण्ठप्रसाद अर्यालले ‘नेपालको शिक्षाको संगठनात्मक पुनसंरचनाका समस्याहरु’ विषयमा कार्यपत्र पेश गरेका थिए । त्यस्तै क्रान्तिकारीका उपाध्यक्ष एवम् शैक्षिक विभाग प्रमुख तिलकराज भण्डारीले ‘शैक्षिक आन्दोलनको विगत, वर्तमान र भविष्यको सामान्य रुपरेखा’ विषयाक कार्यपत्र पेश गरे ।

प्रस्तुत कार्यपत्र माथि क्रान्तिकारीका पूर्व अध्यक्षद्वय रमेश मल्ल र लेखनाथ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक महासंघका अध्यक्ष शंकर अधिकारीलगायतले टिप्पणी गरेका थिए । अध्यक्ष तामाङले अबको विद्यार्थी आन्दोलन समाजवादी शिक्षा प्राप्तिको दिशामा दृढतापुर्वक अघि बढ्ने बताए ।

नयाँपत्रिकामा खबर छ ।

Comments: