२०७६ भदौ २ गते

कोठा छैन, आलोपालो पढ्दै

अन्तैबाट

हेटौंडा  ।  दुर्गममा होइन । हेटौंडा उपमहानगरपालिकाभित्रै विद्यालयमा विद्यार्थीको बिजोग छ । स्कुलमा कक्षाकोठा र डेक्सबेन्च पर्याप्त छैनन् । विद्यार्थीले आलोपालो नगरी पढ्नै पाउँदैनन् ।

विद्यार्थी संख्या धेरै भएर होइन, कक्षाकोठा र बस्नका लागि डेक्सबेन्चको अभावले गर्दा पढ्न आलोपालो गर्नुपरेको हो । उपमहानगरपालिका—१९ लेकपानीस्थित जीवनज्योति आधारभूत विद्यालयका छात्रछात्राले यो नियति भोग्दै आएका छन ।

भूकम्पले विद्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले ५ कोठे भवन निर्माण गरिदिएको छ । ५ वटा कोठामध्ये एउटा कोठामा कार्यालय, एउटा ईसीडी, अर्कोमा एक कक्षा र बाँकी २ वटा कोठामा २ र ३ कक्षाका विद्यार्थी राखेर पढाइने गरिएको छ । बाँकी एक कोठामा ४ र ५ कक्षाका विद्यार्थी राखेर पढाउने गरिन्छ ।

२ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राख्ने गरिएको छ । डेक्सबेन्चको अभावले गर्दा २ कक्षाका विद्यार्थीलाई पढाउँदा तीन कक्षा विद्यार्थीलाई बाहिर र ३ कक्षाका छात्रछात्रालाई पढाउँदा २ कक्षाका विद्यार्थी बाहिर खेल्न पठाउने गरिएको छ । यस्तै हालत छ ४ र ५ कक्षाको पनि । ‘कक्षाकोठा र डेक्सबेन्चको अभावले गर्दा आलोपालोसँग पढाउनुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक कुमारसिंह गोलेले भने, ‘गरिब बस्तीको बीचमा स्कुल रहेकाले यहाँ अभिभावकसँग चन्दा उठाएर कक्षाकोठा र डेक्सबेन्च बनाउन सक्ने अवस्था छैन ।’

साविकको बसामाडी गाविसको दुर्गम स्थानमा पर्ने उक्त लेकपानी वरिपरि तामाङ समुदायको मात्र बसोबास छ । १८ छात्रासहित ३७ जना विद्यार्थी भएको उक्त विद्यालय शौचालयविहीन छ । दिसा–पिसाब आएमा नजिकको जंगल छिर्नुपर्छ । यो नियति शिक्षक र विद्यार्थी दुवैले भोग्दै आएका छन् । ‘कक्षा–कोठा, डेक्सबेन्च, शौचालयको मात्र समस्या होइन, पिउने पानीको पनि समस्या छ,’ प्रअ गोलेले भने, ‘यस्तो समस्याग्रस्त विद्यालय जिल्लामा विरलै होला ।’

कक्षाकोठा, डेक्स–बेन्च र शौचालयका लागि वडा कार्यालय लगायत शिक्षाको पुनर्निर्माण कार्यालयमा पनि पटकपटक ध्यानाकर्षण भइसकेको छ । ‘सबैतिर सहयोगका लागि अनुनयविनय गरिसकियो तर कसैले पनि सहयोग गरिरहेका छैनन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गोलेले भने, ‘उपमहानगरपालिकाको दुर्गम क्षेत्रको स्कुल र जनजाति मात्र अध्ययन गर्ने भएर हो कि, के हो कसैले पनि सहयोग गरिरहेका छैनन् ।’

उक्त स्कुलमा ईसीडीमा ८ जना, १ कक्षामा ६, २ कक्षामा ३, ३ कक्षामा ६ जना, ४ कक्षा ८ जना र ५ कक्षामा ६ कक्षामा अध्ययनरत छन् । उक्त विद्यालयमा लेकपानी, आरानचौर र कालीटारका विद्यार्थी पढ्न आउने गर्छन् । उक्त स्कुलमा शतप्रतिशत तामाङ समुदायका बालबालिका अध्ययनरत छन् । उक्त विद्यालय ५ कक्षा उत्तीर्ण भएपछि ६ कक्षामा अध्ययन गर्न दैनिक तीन घण्टा हिँड्नुपर्छ । ५ कक्षा उत्तीर्ण भएपछि लेवटस्थित माविमा अध्ययन गर्न आउनुपर्छ ।

भूकम्पले क्षतिग्रस्त भएको विद्यालयको भग्नावशेष हटाउने क्रममा स्थानीय ज्ञानबहादुर घलानलाई बलोले लागेर गम्भीर घाइते भएपछि उपचारका क्रममा विद्यालयको आर्थिक अवस्था नाजुक बनेको हो । घाइते घलानको उपचारमा २ लाख ३७ हजार रुपैयाँ खर्च भएकाले विद्यालयले आवश्यक पूर्वाधारको व्यवस्था गर्न नसेकेको प्रधानाध्यापक गोलेले बताए । ‘पूर्वाधारको व्यवस्था नहँुदा अहिले २/३ र ४/५ कक्षालाई आलोपालो गरेर पढाउनुपरेको हो,’ उनले भने, ‘भवन निर्माणका लागि आएको रकमले उपचार गर्नुपर्दा अहिले पूर्वाधारका अभाव भएको हो ।’

भवन निर्माणको क्रममा विद्यालय निर्माणका लागि आएको पैसा घाइतेको उपचारमा लगाएपछि विद्यालय ऋणमा छ । उपचारमा २ लाख ३७ हजार सकिएपछि अहिले विद्यालयलाई ३ लाख १६ हजार रुपैयाँ ऋण लागेको प्रअ गोलेले बताए । भूकम्पपछि विद्यालयको भत्किएको ६ वटा कोठा निर्माणका लागि पैसा आए पनि उपचारका लागि गाउँमा उठाएको पैसा तिर्दा समस्या भएको हो । यता विद्यालय सम्पन्न गर्नुपर्ने उता घाइतेको उपचारमा पैसा खर्चिनुपर्ने भएपछि ऋण लागेको विद्यालयले जनाएको छ ।

विद्यालय भवन बनाउन खटिएका कामदारको ज्याला तिर्न सकेको छैन । विद्यालयलाई ऋणमुक्त पार्नका लागि अध्यक्ष र प्रधानाध्यापकबीच ऋणको भागबण्डा गरिएको छ । बैंकबाट प्रअ र अध्यक्षले ऋण निकालेर कामदारहरूको ज्यालाको रकम तिर्ने तयारी गरिरहेका छन् ।

विद्यार्थीलाई न्यानो कपडा
हेटौंडा बजारबाट २ घण्टाको यात्रामा पुगिने हेटौंडा–१९ लेकपानीको जीवनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई जाडोमा लगाउने स्विटर, टोपी र सुरुवाल उपलब्ध गराइएको छ । हेटौंडा–८ का गजेन्द्र अधिकारी दम्पतीले ४० थान न्यानो पोसाक वितरण गरेका हुन् । विद्यालयमा लेकपानी, कालीटार र आरनचौरका बालबालिका अध्ययनका लागि आउने गरेका छन् ।

प्रताप विष्टले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: