२०७६ कार्त्तिक १ गते

स्व. कोषराज काफ्ले प्रति श्रद्धासुमन

शेखरजंग रायमाझी


 शेखरजंग रायमाझी
                नेता, पुनरुत्थानवादी शक्ति नेपाल


सह–प्राध्यापक/अधिवक्ता कोषराज काफ्ले हामी बिच रहनु भएन । २०७५ चैत्र १५ गते शुक्रबार काठमाडौं महाराजगञ्ज स्थित टिचिङ्ग हस्पिटलमा साझ ९ बजे उहाँले यो धर्ती छोड्नु भयो । हामीले उहाँको पार्थिव शरीरलाई टिचिङ्गको प्रांगणमा अन्तिम श्रद्धाञ्जली दियौं र पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरियो, छोरी गरीमा काफ्लेले मुखाग्नी दिइन् ।


अधिवक्ता काफ्ले हामीहरु र यो राष्ट्रको लागि ज्यादै महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । मेरो पहिलो भेट उहाँसँग २०६२ सालमा भएको थियो । उहाँ अस्थायी शिक्षकको रोजगारी स्थायित्वको विषयमा तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रलाई समस्या अवगत गराउने र मौसुफबाट न्याय दिलाउन प्रयासरत हुनुहुन्थ्यो ।


त्यो समय तत्कालीन शेरबहादुर देउवाको सरकारले शिक्षकहरुलाई बेरोजगार बनाउने नीति  लिइ रहेकोमा, ती शिक्षकहरुको पक्षमा उनीहरुलाई रोजगारीको मौलिक हक दिलाउन तत्कालीन राजा ज्ञानेन्द्रलाई सम्पूर्ण अत्यचारका व्यहोरा अवगत गराउन सफल भएका थियौं ।


सो पश्चात राजा ज्ञानेन्द्रबाट तत्कालीन शेरबहादुर देउवाको सरकार अपदस्त गरी २०६२ माघ १७ गते आफ्नो  विवेक प्रयोग गर्दै अध्यादेश जारी गरी शिक्षकहरुको रोजगारीको निरन्तरता सुनिश्चत गरी न्याय दिइ बक्सेको थियो ।


यसरी आफ्नो  रोजगारीको पक्षमा राजाबाट विवेक प्रयोग गरी न्याय बक्सेको कारणले शिक्षकहरु आज पर्यन्त नेपालको राज संस्था प्रति कृतज्ञता जाहेर गरेको देखिन्छ ।


स्व. काफ्लेको  निरन्तरको क्रियाशिलताले बिसौं हजार शिक्षक स्थायी भएका छन् । त्यो बिचमा अरु तेहं्रहजार शिक्षकहरुलाई पनि उनीहरुको रोजगारीको स्थायीत्व र सेवा सुविधाको लागि कानुनी तथा अनेक प्रकारका लडाई गर्दै आईरहेको कुरा सबै शिक्षक तथा आम जनमानसमा बिदित छ ।


वि.सं.२०५८ साल पछि अधिवक्ताको रुपमा उहाँले सुकुम्बासी, बाढीपीडित, भुकम्प पीडित, प्रकृतिक प्रकोप पीडित, अस्थायी शिक्षक, करार शिक्षक, राहत शिक्षक, विद्यालय कर्मचारी तथा अन्य अन्यायमा परेका समेत गरी करीव ८१ लाख जना सरोकारवालाहरुको पक्षमा कानुनी लडाई लड्दै आइरहनुभएको थियो । त्यस्तै सामुदायिक विद्यालयको जमीन अनि विश्वविद्यालय, मसानघाट, गौचरन, देवस्थल र वन जंगल खोलानाला तथा ताल तलैया अतिक्रमण लगायत कुनैपनि सार्वजनिक जमिनको रक्षा गर्न कानुनी लडाइ र आवश्यक ठाउँमा पुनरुत्थानवादी शक्ति नेपालको साथ लिइ बल प्रयोग गरी भौतिक लडाइ पनि लड्दै आइरहनु भएको थियो ।


२०६२ सालमा नेपालका राजनीतिक दलहरुले भारतको दिल्लीमा १२ बुँदे सहमति गरेपछी नेपालको राष्ट्रीयता खतरामा परेको महसुस गरी मुलुकको सार्वभौमसत्ता, राष्ट्रीय स्वाधिनता र अखण्डताको रक्षार्थ पुनरुत्थानवादी शक्ति नेपाल २०६२ स्थापना गरी सो शक्तिको सिद्धान्तकार तथा प्रमुख सल्लाहकारको रुपमा राष्ट्रियताको आवाज बुलन्द पारी रहनु भएको थियो ।


पूर्वमन्त्री तथा प्रजनतन्त्रवादी नेता प्रकाश कोइराला (जन नायक वि.पि. कोइरालाको जेष्ठ सुपुत्र) को अध्यक्षतामा स्थापना गरीएको “नेसनल मुभमेन्ट” मा संथापक महामन्त्रीको रुपमा क्रियाशिल हुँदै म आइरहेको छु । यसै दौरान उँहासँग पुन भेटघाट भइ सरसल्लाह गरी गणतन्त्रका शासक र सत्ताले अन्याय र अत्याचारममा पारेका नागरीक, वर्ग, समुदाय तथा राष्ट्रहितकारी संस्थालाई एकबद्धता गर्दै राष्ट्रको क्षति र घात अन्र्तघातबाट जोगाउन र उनीहरुलाई परास्त गर्ने अठोट गर्दै पुनरुत्थानवादी समुहलाई पुनरुत्थानबादी शक्ती नेपाल बनायौं र हाल म यो शक्तिमा नेताको रुपमा क्रियाशिल रहँदै आएको छु र स्व. काफ्ले प्रमुख सल्लाहकारको रुपमा हुनुहुन्थ्यो ।


स्व.काफ्ले राजा ज्ञानेन्द्रबाट अत्यधिक प्रभावित हुनुहुन्थ्यो । राष्ट्र संकटमा पर्दा साशनसत्ता हातमा लिइ सम्हाल्ने साहस र उत्तरदायीत्व  अनि राजपाठ परित्याग गर्ने कदम ज्यादै अभूतपुर्व र महान हो भन्नुहुन्थ्यो । मौसुफ सरकारको बारेमा एउटा अदभुत ग्रन्थ बन्न सक्छ भन्ने उहाँको धारणा थियो ।

निर्भीक कर्मठ निडर पराक्रमी अनि दयालु सहयोगी सहह्दयी स्वभावका स्व. काफ्ले यो देशको इतिहास मुल्य मान्यता संकृतिको जर्गेना गर्दै राजाको विवेक अदालतको न्याय सेनाको शक्ति र वर्ग÷सुदायको नीतिनिर्माण सभालाई समायोजन गर्दै राज्य सञ्चालन गर्नु पर्दछ भन्ने सिद्धान्तकार हुनुहुन्थ्यो ।


हामी यो पुनरुत्थानबादी शक्ति नेपालका सम्पुर्ण साथीहरु उँहाले प्रतिपादन गरेको सिद्धान्त अनुसरण गर्दै यो देशको रक्षा र सम्वर्धन गर्ने प्रण गर्दै उहाँको स्वर्गीय आत्मालाई चिर शान्ति मिलोस भनी प्रार्थना गर्दछांै र हाम्रो नेपाल सुन्दर शान्त विशाल बनाउने सपना साकार पार्ने प्रण गर्दछौं ।
      

Comments: