• वडाध्यक्षद्वारा आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई पोशाक
    (इपाटी संवाददाता/हुम्ला)



  • सर्केगार्ड गाउँपालिकाका वडा ५ का वडाध्यक्ष कर्णजंग शाहीले आफ्नो पारिश्रमिकबाट वडा भित्रका विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरेका छन् । थोरै भएपनि  विद्यार्थीलाई पठन–पाठनमा सहयोग पुगोस भनेर गतवर्ष देखि यो अभियान शुरु गरेको शाहीले जानकारी दिए ।


    वडा नम्बर पाँचका वडाध्यक्ष र पालिकाका प्रवक्ता समेत रहेका शाहीले वर्षभरी आउने आफ्नो तलबबाट २५ प्रतिशत रकमबाट विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् ।

    यसवर्ष ५ नम्बर वडामा पर्ने भवानी आधारभूत, धुम्चुमी प्रावि, जनप्रेमी प्रावि, त्रिभुवन प्रावि गरी २२० जना विद्यार्थी  रहेकोमा शनिबार  भवानी आधारभूतका ९५ जना विद्यार्थीलाई ट्याकसुट वितरण गरिएको हो ।


    गाउँपालिका अध्यक्ष कृष्ण रोकायाबाट ती ट्याकसुट वितरण गरिएको हो । अब बाँकी तीन विद्यालयका बाँकी विद्यार्थीहरुलाई पनि उपलब्ध गराइने शाहीले जानकारी दिए ।

    मानिसलाई आार्थिक जति भए पनि नपुग्ने मानसिकतालाई चुनौती दिँदै वडाध्यक्ष शाहीले निक्कै रचनात्मक कार्य गरेका  स्थानीयको भनाइ रहेको छ ।

     
    अब यो क्रम शाहीले बाँकी सेवाअवधिसम्म पनि सञ्चालन गर्ने जनाएका छन् । गतवर्ष उनले पालिकाका ६० जना न्यून आयश्रोत भएका जनतालाई आफ्नो पारिश्रमिकबाट कपडा वितरण गरेका थिए ।