२०७६ मंसिर २ गते

कांग्रेस कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट

दैलेख । नेपाली कांग्रेसका कार्यकर्ताद्वारा दैलेख नौमूले गाउँपालिका ६ शिवशक्ति माविका शिक्षकमाथि आईतबार कुटपिट भएको छ । कक्षामा पढाइरहेको बेला शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीलाई नेपाल कांग्रेस निकट तरुण दलका जिल्ला सभापती लालवहादुर चन्दले कुटपिट गरका हुन् । कुटपिटबाट शिक्षक सामान्य घाईते भएका छन् ।

प्रधानाध्यापक मानबहादुर रावलले विद्यालय हातामै शिक्षक नेपालीलाई लात्तीले हान्दै कुटेको जानकारी दिए । प्रधानाध्यापक रावलले भने ‘कुर्सीले हान्न थालेपछि हामी छुट्याउन गयौँ, त्यसपछि ज्यान जोगाउन नमराज सर जंगलतिर भाग्नुभयो ।’

कुटपिट गर्ने सभापति चन्दले सामान्य विवाद भएकाले यसलाई ठूलो विषय बनाउन जरुरी नभएको वताए । शिक्षक नेपालीले केही समयअघि पनि आफु कोठामा सुतेका बेला मुखमा वियरको बोतल कोच्याएको र फोटो खिचेर फेसबुकमा पोस्ट गरी अपमान गरेको गुनासो गरे ।

सामाजिक सञ्जाल फेसबुकमा बेइज्जत र अपमान गरेको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेको र अभद्र व्यवहार नगर्ने सर्तमा मिलापत्र गरीएको बताए । शिक्षक नेपालीले कारबाहीको माग राख्दै सोमवार प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले शिक्षक नेपालीले दिएको उजुरीका आधारमा लालवहादुर चन्दलाई छलफलका लागि वोलाईएको र कुटपिट गरेको वेला उपस्थित व्यक्तिहरुको बयानको आधारमा अनुसन्धान प्रक्रिया अगाडी वढाउने जानकारी दिए ।

पढाइरहेका शिक्षकमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै सोमबार शिक्षकका पेशागत संगठनले प्रेस विज्ञप्ति जारी गरेका छन । नेपाल शिक्षक संगठनका अध्यक्ष नरबहादुर थापा तथा सचिव खगेन्द्र श्रेष्ठ र एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष बिसाखर तथा सचिव गणेश कार्कीले जारी गरेकोे विज्ञप्तिमा प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही शुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: