२०७७ जेष्ठ २५ गते

किशोरीको संस्कृत मोह

अन्तैबाट

भरतपुर । १२ वर्षीया एन्जिला बराल दसैं–तिहारको लामो बिदाबाहेक घर जान पाउँदिनन् । देवघाटमा संस्कृत अध्ययन गरिरहेकी उनलाई घर गएर पढाइ बिगार्नु उचित पनि लाग्दैन । सानी छँदा आमाको पछि लाग्दै गाउँमा आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा गएको स्मृति उनलाई अझै ताजा छ ।

महायज्ञमा कथा वाचन गर्ने विदूषीको वाककला र मिठो स्वरले गाएको भजनले सानी एन्जिलालाई यसरी तान्यो कि उनले मनमनै आफू पनि यसैगरी कथा वाचन गरेको कल्पिन थालिन् । ‘ठ्याक्कै यति वर्ष भन्ने मलाई थाहा छैन, तर निकै सानी थिएँ,’ उनले सम्झिन खोजिन्, ‘गुरुमाताले कथा भन्दा सबैजना नमस्कार गरेर बसेको याद छ ।’ त्यसपछि नै हो उनले भागवत वाचक बन्ने सपना बुनेको । एक वर्षयता उनी झापाबाट देवघाट आएर गुरुकुल शिक्षा आर्जन गर्दै छिन् ।

‘ठूलो भएपछि के बन्छौ’ भनी सोध्दा डाक्टर वा इन्जिनियर भन्ने साथीहरूमाझ एन्जिलाले भने ‘ठूली भएपछि भागवत भन्छु’ भन्न थालिन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनको सपना पूरा गर्ने माध्यम बनेको छ, देवघाटमा रहेको नेपालकै पहिलो कन्या गुरुकुल । उनका अभिभावकले झापादेखि ल्याएर देवघाटमा श्रीरामजानकी गार्गी कन्या गुरुकुलमा आवासीय शिक्षाका लागि भर्ना गरिदिएका हुन् । ‘मलाई संस्कृत पढेर विदूषी बन्नु छ,’ उनले भनिन्, ‘त्यही भएर खुब मेहनत गरेर पढिरहेकी छु ।’ उनी ६ कक्षामा पढ्छिन् । गुरुकुल शिक्षा ६ कक्षाबाटै सुरु हुन्छ । प्राथमिक तहको शिक्षा पास गरेका विद्यार्थीलाई मात्र गुरुकुलमा भर्ना लिइन्छ ।

ओखलढुंगा घर भएकी चेतना वाग्ले ९ कक्षामा पढ्दै थिइन् । छोरीलाई पनि गुरुकुल शिक्षा दिने विद्यालय सञ्चालनमा आएको खबर सुनेपछि उनका बुवाले देवघाटमा आएर सोधखोज गरे । त्यसपछि १६ वर्षीया चेतनालाई देवघाटमा संस्कृत अध्ययन गर्न ल्याए । हिन्दु धर्म संस्कारको मौलिकता जोगाउन पनि संस्कृतको अध्ययन आवश्यक रहेकाले आफू देवघाट आएर पढ्न उत्साहित भएको चेतना बताउँछिन् । ‘हामी हाम्रो मौलिकता भुल्दै गएका छौं,’ उनले भनिन्, ‘संस्कृत र यसको इतिहासबारे जानकार हुन पाए धर्मसंस्कार जोगाउन अरूलाई पनि प्रेरित गर्न सक्छु जस्तो लागेको छ ।’ चेतनालाई गीत संगीतमा उत्तिकै रुचि छ । उनी निकै राम्रो हार्मोनियम बजाउँछिन् । तबला बजाउन पनि सिक्दै छिन् । गुरुकुलमा हुने पूजापाठमा उनलाई नै भजन गाउन लगाइन्छ ।

कैलालीकी प्रतिभा चौधरी यसै वर्षदेखि गुरुकुलमा भर्ना भएकी छिन् । १४ वर्षीया उनलाई संस्कृतका केही शब्द गाह्रो लागे पनि श्लोक कण्ठस्थ पार्न रमाइलो लाग्छ । उनीसँगै उनकै गाउँकी दीक्षा चौधरी पनि गुरुकुलमा पढ्छिन् । दसैं–तिहारको बिदामा घर गएका उनीहरूलाई गाउँलेले ‘संस्कृत पढ्न कत्ति गाह्रो रहेछ’ भनी सोधे । उनीहरूले आफूले जानेका केही श्लोक सुनाइदिए । ‘हाम्रो गाउँमा संस्कृत पढेका केटाहरू मात्रै देखेको थिएँ,’ प्रतिभाले भनिन्, ‘मैले पनि उनीहरूले जस्तै पढेको सुनाउँदा साथीहरू दंग पर्छन् ।’

दुई वर्षअघि स्थापना भएको गुरुकुलमा हाल १५ जना ६ कक्षामा र १० जना सातमा अध्ययन गरिरहेका छन् । तीन जना भने अरू आश्रमबाट पढ्न आउँछन् । ब्राह्मण, थारू, तामाङ, नेवार र दलित समुदायका विद्यार्थीलाई समान शिक्षाको अवसर प्रदान गरिएको छ । पाँच कक्षासम्म अन्य विद्यालयमा पढेर गुरुकुल शिक्षा पढ्न आउने किशोरीले ६ कक्षामा संस्कृतका आधारभूत शिक्षा लिने विद्यालयका प्रधानाध्यापक खिमनाथ चालिसेले बताए । यहाँ सरकारले तोकेको पाठ्यक्रमअनुसार व्याकरण, ज्योतिष विज्ञान, नीतिशास्त्र र संस्कृत भाषा पढाइन्छ । उनीहरू वेदको ज्ञान लिइरहेका छन् ।

गुरुकुलमा बिहान सबैजना उठेर नुहाएपछि करिब एक घन्टा योग अभ्यास हुन्छ । त्यसपछि पूजापाठ र आराधना गरिन्छ । करिब दुई घन्टाको पढाइपछि खाना खाने समय हुन्छ । त्यसपछि फेरि कक्षा सञ्चालन हुन्छ । करिब ४ बजे कक्षा सकेपछि उनीहरू मनोरन्जनका लागि खेलकुदमा सहभागी हुन पाउने प्रधानाध्यापक चालिसेले बताए ।

छोरीलाई समान शिक्षाको कुरा गरिरहँदा गुरुकुल शिक्षाबाट प्रतिबन्ध गर्नुहुन्न भन्ने सोचसहित कन्या गुरुकुल सञ्चालनमा आएको सञ्चालक समितिकी सहसचिव ममता शर्मा न्यौपानेले बताइन् । ‘इतिहासकै कुरा गर्ने हो भने पहिलाका देवी, रानीहरू विदूषी थिए भन्ने उल्लेख गरेका पाउँछौं,’ उनले भनिन्, ‘समयको परिवर्तनसँगै महिलाहरू दमित, शोषित हुन थाले र शिक्षाको पहुँचबाटै टाढा हुन थाले, जसको प्रत्यक्ष असर हाम्रो धर्म संस्कृतिमा समेत परेको छ ।’ धर्म संस्कार र मौलिकता जोगाउन पनि महिलाले संस्कृत अध्ययन गर्नुपर्ने समय आएको उनको बुझाइ छ ।

अहिलेका तन्नेरीलाई समेत कम चासो हुँदै गएको संस्कृत अध्ययनलाई छोरीहरूका लागि वातावरण तयार गर्नु सहज नभएको बताउँछन्, महेश संन्यास आश्रमका प्राचार्य डा. गुरुप्रसाद सुवेदी । छोरीलाई स्कुले शिक्षामा समेत विभेद गर्ने नेपाली समाजमा गुरुकुल शिक्षाको सपना फलामको चिउरा चपाउनु जस्तै हो,’ उनले भने, ‘यसले सुरुआत गरेको छ, निरन्तरताका लागि सबैले साथ दिनुपर्छ ।’

देशभर सञ्चालनमा रहेका एक सय ९० गुरुकुलमा बालक/पुरुष मात्रै अध्ययन गर्छन् । दुई वर्षदेखि सञ्चालनमा आएको एकमात्र कन्या गुरुकुलले प्रत्येक वर्ष कक्षा बढाउँदै लैजाने योजना बनाएको छ । नेपालमा संस्कृत विषयमा विद्यावारिधि गर्ने महिलाको संख्या औंलामा गन्न सकिने अवस्था रहेकोमा कन्या गुरुकुललाई १२ कक्षासम्मको संस्कृत शिक्षा दिने गुरुकुलको रूपमा विकास गर्नुपर्ने प्रमुख संरक्षक भगवती उपाध्यायले बताइन् ।

प्रमिता ढकालले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: