• किशोरीहरूले रोके बालविवाह
    (अन्तैबाट)

  • रौतहट । बृन्दावन नगरपालिका ५ नरकटिया टोलमा किशोरीहरूको बैठक बस्यो । केही दिनअघिको बैठकमा बालविवाहविरुद्धको निगरानीलाई तीव्रता दिने विषयमा छलफल भयो ।


    त्यसको दुई दिनपछि गाउँकी एक किशोरीको १६ वर्षको उमेरमा विवाह तय भयो । यो खबर थाहा पाउनासाथ किशोरी संवाद समूहले तत्काल अभिभावकलाई बोलाएर उमेर नपुगी बालविवाह नगर्न अनुरोध गर्‍यो । र, विवाह रोकियो ।

    समूहका सदस्यहरू प्रत्येक महिना बैठक गर्छन् । गाउँघरमा कसैको विवाह छ/छैन बुझ्छन । केटा र केहीको उमेर पत्ता लगाउँछन् । उमेर पुगेको छैन भने विवाह रोक्न पहल थाल्छन् । यसका अलवा बालबालिकाहरू विद्यालय गएका छन्/छैनन् हेर्छन् ।

    यो बालविवाह मुक्त गाउँ हो । गाउँका सबै घरमा पहेलो झन्डा लगाइएको छ । स्थानीय किशोर किशोरीले बालविवाह नगर्ने प्रतिबद्धता जनाउने घरमा पहेलो र प्रतिबद्धतामा सहयोग नगर्ने घरमा रातो झन्डा लगाउने गरिएको थियो । अहिले सिंगो बस्तीमा पहेलो झन्डा लगाइएको छ । सबैले बालविवाह नगर्ने प्रतिबद्धता जनाइसकेका छन् । गाउँकाकिशोर किशोरीहरूको संवाद समूह गठन गरिएको छ ।

    बालबालिकाहरू विद्यालय गएका छन्/छैनन्, बालविवाहका लागि अभिभावकले उक्साएका छन्/छैनन् पत्ता लगाएर समस्या समाधानतिर बैठक केन्द्रित हुन्छ । समूहकी सदस्य किशोरी गुञ्जकुमारी दासले बालविवाह विरुद्ध गाउँमा निगरानी जारी राखेको बताइन् । ‘बालविवाह मुक्त गाउँ भइसकेको अवस्थामा अब त्यस्ता गतिविधि रोक्नु हाम्रो कर्तव्य पनि हो,’ उनले भनिन्, ‘चेतना र आर्थिक अभावका कारण अझै पनिबालविवाह र बालबालिकालाई विद्यालय नपठाउने चलन छ । यसलाई न्यून पार्नहामी लागेका छौं ।’

    नरकटिया टोललाई स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सानको आयोजनामा गत पुस १ गते बालविवाह मुतm टोल घोषणा गरिएको थियो । नेपालको पूर्वी तराई लगायतका जिल्लाहरूमा बालविवाह निकै ठूलो समस्याका रूपमा रहेको छ । जसमध्ये रौतहट पनि एक हो । रुढीबादी परम्पराले जिल्लामा बालविवाह हुने गरेको पाइन्छ । यसले ठूलो संख्यामा बालबालिकाले ज्यान गुमाउने गरेका छन् । यो टोलमा अत्यधिक बालविवाह हुने गरेको थियो ।

    ३ वर्षयता एउटा पनि बालविवाह नभएको संघका कार्यक्रम संयोजक जुनु सुनारले जानकारी दिइन् । ‘सुरुसुरुमा यहाँ बालविवाहको समस्या चुनौतीपूर्ण थियो,’ उनले भनिन्, ‘यसका लागि घरदैलो र घरमै गएर दिनरात अभिभावकलाई सम्झाउने बुझाउने गरेपछि सबैले बालविवाह नगराउने प्रतिबद्धता जनाएका हुन् ।’ सुनारका अनुसार गाउँका किशोरीहरू प्रत्येक महिनाको ८ गते भेला भएर गाउँमा निगरानी गर्छन् ।


    अहिले त्यस गाउँमा किशोर किशोरीले अभियानलाई सफल बनाउन संवाद कार्यक्रम चलाउँदै आएका छन् । संघले पहिलो चरणमा गाउँमा बालविवाह सवालमा छलफल गरिएको थियो । त्यसपछि किशोर किशोरीको माध्यमबाट उनीहरूको परिवारसम्म पुग्ने काम गरियो । गाउँमा रहेको झन्डै ३ सय ५० घरधुरीको स्थलगत सर्वेक्षण गरेको थियो । तेस्रो चरणको अभियानमा बालविवाह गर्दा हुने असरलाई चित्रण गरी सडक नाटक देखाई चेतना फैलाउने काम भयो ।

    चौथो चरणमा स्थानीय नेता, भद्र भलादमी, समाजसेवी, स्थानीय संघसस्था, सरोकारवाला र विवाह गराउने पण्डित, पुरोहित, मौलानाहरूसँग अन्तरक्रिया, छलफल कार्यक्रम गरिएको थियो । त्यसपछि टोलको प्रत्येक घरमा झन्डा राख्ने कार्यक्रम गरियो । जुन घरले बालविवाह नगर्ने प्रतिवद्धता गरे त्यस घरमा पहेलो र प्रतिबद्धतामा सहयोग नगर्ने घरमा रातो झन्डा लगाइयो । अहिले सिंगो गाउँ पहलो झन्डामय भएको छ । गाउँका प्रत्येक घरधुरीले बालविवाह नगर्ने लिखित प्रतिबद्घता जनाएका छन् । प्रतिबद्घताको कागज स्थानीय प्रहरी कार्यालयमा राखिएको छ ।

    कसैले छोराछोरीको कम उमेरमा विवाह गरिदिएमा प्रतिबद्धताका आधारमा कारबाही गरिने सहमति गाउँले बीच भएको छ । त्यसको जवाफदेही समाज हुनेछ । विद्यालय छाडेका किशोर किशोरीहरू समेत जान थालेका छन् । गाउँ पूर्वअध्यक्ष (मुखिया) शंकर पाण्डेले गाउँका किशोरीहरूको अभियानले सार्थकता पाउँदै गएको बताए । ‘साँच्चिकै भन्नु पर्दा बालविवाह रोक्न यहाँका किशोर किशोरीहरूले निकै ठूलो भूमिका खेलेका छन्,’ उनले भने, ‘यसमा हाम्रो पनि साथ सहयोग छ ।’ उक्त टोलमा ‘अब मंसिर आउँदैछ बालविवाहमा खवरदारी छ,’ भन्ने कार्यक्रम चलाइएको छ । किशोर किशोरीले बिहेवारी २० वर्ष पारी भन्दै हस्ताक्षर अभियान समेत चलाएका थिए ।

    नरकटिया जस्तै जिल्लाभरिका गाउँ बालविवाह मुक्त हुनुपर्ने सरोकारवालाको भनाइ छ । महिला अधिकारकर्मी देवकी नेपालले बालविवाहविरुद्धको अभियानमा सबैले साथ र सहयोग गर्नुपर्ने बताउँछिन् । नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । कतिपय घटनामा अभिभावकले नै उमेर बढाएर बिहे दर्ता गर्न पुग्छन् ।

    जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बालविवाहसम्बन्धी उजुरी गर्न कोही नआउने बताउँछन् । ‘समाजका मानिस नै यस्तो घटना लुकाउँछन्,’ उनले भने, ‘हामीले थाहा पाएसम्म र उजुरी परेको खण्डमा त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा उभ्याउँछौं ।’

    मुस्लिम समुदायमा बढी
    तराई लगायतका जिल्लाहरूमा मुस्लिम समुदायमा बालविवाह बढी हुने गरेको पाइएको छ । उमेर नपुगी निकाह गरिदिने चलन छ । एक दुई वर्षपछि दोंगा गरेर केटी भित्र्याइन्छ ।

    यही बेला झमेला हुने समस्या धेरै छ । अधिकांश मुद्दा बालविवाहपछि उत्पन्न समस्याका बारेमा उजुरी पर्ने गरेको जिल्ला प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र गरुडाले जनाएको छ । दैनिक जसो सानो उमेरमा विवाह भएपछि श्रीमान् श्रीमती बीच सम्बन्ध राम्रो नभएको पाइएको छ ।

    शिव पुरीले कान्तिपुरमा खबर लेखेका छन् ।