२०७६ कार्त्तिक ३ गते

खुट्टाकै भर

अन्तैबाट

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० की २७ वर्षीया देवीकला कठायत हिँडडुल गर्न र बोल्न सक्दिनन् । दुवै हातले सघाउँदैनन् । कानले सुने पनि पनि बोली फुटदैन । हिँड्डुल गर्न नसक्ने उनी सुनेकै भरमा खुट्टाले काम गर्छिन् । खुट्टाले लेखेर आफ्नो चाहना बताउँछिन् । आफ्ना भावना व्यक्त गर्ने माध्यम खुट्टा बनेको छ । उनी खुट्टाले खररर लेख्न सक्छिन् ।

देवीकलाले विद्यालय जान पाएकी छैनन् न घर परिवारले घरमै शिक्षकको व्यवस्था गरेका छन् । उनले आफैं लेख्न–पढ्न सिकेकी हुन् । दाइ, बहिनीका कापी–कलम खेलाउन थालेकी उनलाई पछि अभिभावकले व्यवस्था मिलाइदिएपछि लेख्न(पढ्न सक्ने भइन् । ‘स्कुल जान सक्ने कुरा भएन,’ उनका बुबा हुकुमबहादुरले भने, ‘घरमा पनि अरू नै काम धेरै हुन्छन् त्यसैले कसैले यसलाई सिकाएनौं, यसले आफैं लेख्न र पढ्न सिकेकी हो ।’

नबोल्ने भएपछि पढ्न सक्छे होला जस्तो पनि नलागेको उनले सुनाए । एउटा कलम र कापी देखिएपछि खुट्टाले नै लेख्ने र पढ्ने पनि गर्न थालेको उनको भनाइ छ ।

देवीकलाले अहिलेसम्म ४४ वटा कापी लेखेर भरेकी छन् । हरेकमा आफ्नो सोच, भोगाइ, जीवनमा भइरहेको संघर्षका कुरा उल्लेख गरेकी छिन् । खुट्टाबाटै संघर्ष गरिरहेको र डाक्टर बन्ने चाहना व्यक्त गरेकी छन् । उनले पहिलोपटक लेखेको कापीको सुरुमै, ‘फुल्न नपाउँदै दु:खी भइसके तर पनि यो संसारमा आफ्नै जिन्दगी संघर्षमा चलाइरहेकी छु,’ लेखेकी छन् ।

‘म त आज जीवन सफल हुने आशसँग उभिएकी, डाक्टर बनाउने संघर्ष कलमबाट गरेकी केटी,’ उनले लेखेको अर्को कापीभित्रको एउटा हरफ हो यो । सबै कापीमा उनले जीवन र संघर्षका कुरा लेखेकी छिन् । कोही आएर कुरा गर्‍यो भने त्यो कुरालाई सन्दर्भ बनाएर अर्को हरफ तयार पर्ने गरेकी छिन् । उनले कापीभर लेखेकी मात्रै छैनन् ।

देवीकला उनका अभिभावकले राखिदिएको नाम हो । उनले लेख्न पढ्न थालेपछि उनले आफ्नो नाम अञ्जुला कठायत लेख्ने गरेकी छन् । किताब पनि पढ्ने गर्छिन् । उनलाई भेट्न जानेहरूले दिएका किताब उनका साथी हुन् । लेख्न मन नलाग्दा उनले पढ्ने गरेको हुकुमबहादुर बताउँछन् । झमककुमारी घिमिरेको जीवन काँडा कि फूल किताब पढ्दै गरेकी छोरीले म पनि त्यस्तै बन्छुसम्म भन्ने गरेको हुकुमबहादुरको भनाइ छ ।

उनले खुट्टाले लेख्ने, पढ्ने सँगैआफ्ना सानातिना काम पनि खुट्टाकै सहाराले गर्छिन् । खाने, सरसफाइ गर्ने दाँत माझ्ने, भाँडाकुँडा यताउता राख्नेदेखि मोबाइल पनि खुट्टाले नै चलाउँछिन् । मोबाइलबाट उनी गीत, सुन्ने, भिडियो हेर्ने तथा आफन्तलाई म्यासेज लेख्ने काम खुट्टैले गर्छिन् । परिवारका अन्य सदस्यको मोबाइल चलाउन थालेपछि उनलाई पनि मोबाइल किनिएको हो ।


१० वर्षसम्म केही गर्न नसक्ने देवीकला त्यस यता धेरै काम आफैं गर्ने गरेको आमा जयकलाले बताइन् ।

‘सबै हामीले गरिदिनुपर्थ्यो,’ उनले भनिन्, ‘त्यसपछिका वर्षमा आफ्ना धेरै काम खुट्टैले गर्छे ।’ सानो उमेरमा बस्न नक्ने र बोल्नुपर्ने समयसम्म बोल्न नसकेपछि छोरी निको बनाउने धामी, झाँक्री गरे पनि त्यसले ठीक हुन नसकेको जयकलाले बताइन् ।

नजिकका अस्पतालमा उपचार गराए पनि निको नभएको उनले बताइन् । ‘केही कुरा गर्दा लेखेरै भन्छे, मलाई खलंगा (जिल्ला सदरमुकाम) र काठमाडौं लैजाउ भन्छे, लिएर कहाँ छाड्नु,’ जयकलाले भनिन् । आर्थिक अभावले ठूलो अस्पतालमा भने देखाउन नसकिएको परिवारको भनाइ छ ।

हरि गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: