२०७६ मंसिर २ गते

खुला आकाशमुनि कक्षा

महादेवस्थान । सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं। २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस्था छ।

आइतबार बिहान ११ः३० बजिसक्दा पनि विद्यालयमा न शिक्षक आएका थिए न त पूरै विद्यार्थी । आएका विद्यार्थी पनि कोही घाम ताप्न त कोही खेल्न व्यस्त देखिन्थे । भूकम्पले दुईकोठे भवन चर्काएर बस्न नहुने भएपछि खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयमा न शिक्षक समयमा आउने ठेगान हुन्छ न विद्यार्थी नै।

दुईतीन घण्टा लगाएर विद्यार्थी पढ्न आए पनि शिक्षक नै नआउँदा उनीहरुसँग खेल्नुको विकल्प हुँदैन । यो विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्छ । सामान्यतया विद्यालय १० बजेबाट ४ बजेसम्म सञ्चालन हुन्छ तर यो विद्यालयका विद्यार्थीको दिन किताबकापी अगाडि राखेर शिक्षक कुर्दैमा बित्छ।

भूकम्पले दुईकोठे भवन चर्काएर बस्न नहुने भएपछि खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयमा न शिक्षक समयमा आउने ठेगान हुन्छ न विद्यार्थी नै।


विद्यालयमा भौतिक संरचना पनि नहुँदा दुई वर्षयता खुला आकाशमुनि पढाइ हुँदै आएको छ । न डेस्कबेन्च छन्, न त कालो पाटी नै । जब पानी पर्छ, हावाहुरी चल्छ, विद्यार्थीलाई बिदा दिइन्छ । विद्यालयको भवन त छैन नै, खानेपानी, फर्निचर, खेलकुद सामग्रीसमेत छैनन् । विद्यालयको छेवैमा विभिन्न संघसंस्थाले शौचालय भने बनाइदिएका छन्।

३४ जना चेपाङ र १ जना भुजेल गरी ३५ विद्यार्थीको नाम विद्यालयको हाजिरीपुस्तिकामा छ तर नियमित विद्यालय आउनेमा मुस्किलले १०–११ जनामात्रै हुन्छन्।

आइतबार विद्यालयमा शिक्षकशिक्षिका नआएकाले विद्यार्थीको रेखदेख गर्ने समेत कोही थिएन । प्रधानाध्यापक र एक शिक्षिका रहेको विद्यालयमा दुवै जना उपस्थित थिएनन् । ‘घरायसी काम भन्दै विद्यालय नआएको हो’, सोनिसाले भनिन्, ‘सर, मिसहरु प्रायः विद्यालय आउनुहुन्न, हामी टाढाबाट पढ्न आयौं, त्यत्तिकै फर्केर जानुपर्छ ।’ निजी स्रोतबाट राखिएको दुई शिक्षक पनि कहिले आउने कहिले नआउने गर्छन्।

भवन नहुँदा सबै कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । जेठबाट कक्षा सुरु हुन्छ, असार साउनमा बर्षे बिदा, दसैंतिहार बिदा, पुसमाघमा जाडो बिदा हुँदा विद्यालय कममात्रै कक्षा सञ्चालन हुन्छ । विद्यालय सञ्चालन हुने दिनमा पनि शिक्षक नआइदिँदा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् । शिक्षक नै नभएपछि अभिभावकले पनि बालबच्चालाई विद्यालय पठाउँदैनन् । ‘विद्यार्थीलाई पढ्न भवन छैन, त्यसमाथि विद्यालय नै खुल्दैन । नियमित पढाइ हँुदैन, शिक्षक पनि नियमित विद्यालय आउँदैनन्’, अभिभावक हेमबहादुर चेपाङले भने, ‘बालबच्चालाई विद्यालयको पठनपाठनबाट बाध्य भएर टाढा राख्नुपरेको छ । आफूले त पढ्न पाइएन नै, बालबच्चालाई पढाउने सपना पनि अधुरै हुने भयो।’

धादिङका बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा सीमान्तकृत चेपाङ समुदायको बसोबास बढी छ । उनीहरुलाई खाने अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या रहेको स्थानीय भूमि त्रिपाठीले बताए । ‘भौगौलिक विकटता, गरिबी तथा खाद्यान्न अभावका कारण बालबालिकालाई नियमित स्कुल ल्याउन समस्या छ ।’ उनीहरुको चेतना अभिवृद्धिका लागि अभियान चलाउनु आवश्यक भएको उनको भनाइ छ । यस क्षेत्रका विद्यालयमा विद्यालय खाजा कार्यक्रम तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ । त्रिपाठी विद्यालयमा विद्यार्थी शून्य हुनुको कारण शिक्षककै कमजोरी भएको बताउँछन् । ‘स्कुलमा बच्चा भए पनि शिक्षक नै आउँदैनन्’, उनी भन्छन्, ‘सरकारले उनीहरूको खोजी गर्ने, विद्यालयमा नभए कारबाही गर्ने ग¥यो भने समस्या समाधान भइहाल्छ नि१’

बेनीघाट रोराङ १ चिम्माङमा रहेको महादेवस्थान आधारभूत विद्यालयको हालत पनि उस्तै छ । विद्यालयमा विभिन्न संस्थाले विद्यालय भवन निर्माण गरिदिएका छन् तर विद्यार्थी संख्या कम छ । विद्यालयको हाजिरीकापीमा ७७ जना विद्यार्थी रहे पनि ८ जना विद्यार्थी भेट्न पनि मुस्किल पर्छ । बालबालिकाको अभाव भएपछि दुई शिक्षकले चारचार जना विद्यार्थीलाई एकै ठाउँमा पढाउँदै आएका छन् । विद्यार्थी–शिक्षकको अभावले प्रायजसो विद्यालय बन्द हुने गरेको छ । विद्यालयको पुरानो भवन जीर्ण भएपछि युएमएनको साझेदारीमा प्रयास नेपालले विद्यालय भवन, शौचालय तथा खानेपानी धारा बनाइदिएको छ।

सरकारले विद्यालय भवन निर्माणका लागि हरेक वर्ष जिल्ला शिक्षा कार्यालयमार्फत् करोडौं रुपैयाँ लगानी गरेको छ । त्यो लगानी बोली बिक्नेहरुका लागि भएको पीडित अभिभावकले बताएका छन् । बालबालिकाले आधारभूत अधिकारसमेत पाएका छैनन् । भवन अभावका कारण खुला आकाशमुनि सानासाना बालबालिकालाई पढाउने गरेको उनीहरुको गुनासो छ । सरकारले सीमान्तकृत समुदायका लागि भनेर छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ । विद्यार्थीलाई प्रोत्साहनस्वरुप विद्यालय खाजा कार्यक्रम पनि सञ्चालनमा छ । विभिन्न सरकारी÷गैरसरकारी संस्थाले लगानी गरे पनि त्यसको उपलब्धि शून्य देखिन्छ । राज्यले पनि शिक्षाक्षेत्रमा लगानी बढाउनुपर्ने जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरीक्षक कृष्णकुमार श्रेष्ठ बताउँछन् ।


सरिता श्रेष्ठले नागरिकमा लेखेको खबर

Comments: