२०७६ भदौ ९ गते

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो ।


आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।


आयोगको विज्ञापन अनुसार  प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ । प्राविका लागि ५ सय निमाविका लागि ७ सय र माविको उल्लेखित तिनै प्रकारका लागि हजार रुपैंया दरखास्त दस्तुर तोकिएको छ ।

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो ।

आयोगले २०७३ पछि लिएको शिक्षक लाइसेन्सको परीक्षामा निम्न माध्यमिक तहमा २ लाख ७० हजार ६९ मध्ये ८४ हजार ८८२ अर्थात ३१ दशमलव ४३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस्तै माध्यमिक तहमा ६६ हजार १२ जनाले परीक्षा दिएकामा ३३ हजार ३९६ अर्थात ५० दशमलव ६ प्रतिशतले मात्रै लाइसेन्स लिन सफल भएका थिए ।


२०७४ मा स्नातकोत्तर तह उत्तीर्णहरुका लागि मात्रै गरिएको शिक्षक लाइसेन्स विज्ञापनमा २२ सय परीक्षामा सहभागी भएपनि ९ सय अर्थात ३६ दशमलव ५ प्रतिशत मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।

आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार आयोगले २०६१ देखि २०६७ सम्मगरी प्राथमिक तहमा १ लाख ९८ हजार ८३०, निम्नमाध्यमिक तहमा २०६१ देखि २०७२ सम्म ३ लाख ३६ हजार २८५, माध्यमिक तहमा २०६१ देखि २०७२ सम्म १ लाख ३५ हजार ९६० गरी कुल ७ लाख ६५ जनालाई शिक्षक लाइसेन्स वितरण गरेको छ । यसैगरी साविक उच्च माध्यमिक तह९११र १२ कक्षा०का लागि २२ हजार ९८६ जनालाई लाइसेन्स वितरण  गरिएको छ ।

 

Comments: