२०७६ भदौ ६ गते

झुटा आरोपको खण्डन : पित पत्रकारीता नगर्न आग्रह


तिलक कुँवर
महासचिव, नेपाल शिक्षक महासंघ



शिक्षक नेताकै विद्यालय स्तर खस्कदो शिर्षकमा अन्नपुर्ण पोष्टले मिति २०७४ साउन १० गते प्रकाशित लेखबाट मेरो चरित्र हत्या गर्ने दुश्प्रयास गरिएकोमा खेद प्रकट गर्न चाहन्छु ।


यो विद्यालयमा मैले २०४७ सालदेखि अध्यापन गराउदै आएको हुँ । २०५० सालदेखि २०६५ सालसम्म प्रधानाध्यापक रहि काम गरेको,  २०६६ देखि २०६७ सालसम्म म अध्ययन बिदामा बसेको, २०६९ सालमा पुनः प्रधानाध्यापकको जिम्मेवारीमा रहेको र २०७२ साल असारदेखि वि.व्य.स.को निर्णय अनुसार  माध्यमिक तहका अस्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पी हाल शिक्षा मन्त्रालयको निर्णय अनुसार नेपाल शिक्षक महासंघको महासचिव पदमा काठमाडौंमा काजमा कार्यरत छु ।


राष्ट्रिय माध्यमिक विद्यालयमा मेरो नियुक्ति भएदेखि अहिलेसम्म २७ वर्ष बितेको छ र सो अवधिमा म करिव साढे चार बर्ष जति विद्यालय बाहिर छु । म विद्यालयमा प्रवेश गर्दा यो विद्यालय नि.मा.वि. तहसम्म मात्र थियो । प्रजातन्त्रको आगमनसँगै गाउँलेको विद्यालय मा.वि. बनाउने चाहाना पुरा गर्न मैले नेपाल सरकारको स्वामित्वमा रहेको महत्वपूर्ण संस्थानको जागिर त्यागेर विद्यालय बनाउन काठमाडौंबाट अछामको विकट गाँउमा गएको हुँ ।


बाब्लावासी जनताको साथ र सहयोगबाट यो विद्यालय अहिले शिक्षा र वाणिज्य संकायका विषय पढाउन सक्ने गरि १२ कक्षासम्म सञ्चालित छ । म प्रधानध्यापक नियुक्ति हुँदासम्म विद्यालयमा मुस्किलले डेढसय जति विद्यार्थी भर्ना हुन्थे भने नियमित विद्यालय आउनेको संख्या त १०० जना पनि नपुगेको कुरा विद्यालयको तेतिवेलाको तथ्याङ्क पल्टाउदा पनि पुष्टि हुनेछ ।


विद्यार्थीका लागि कक्षाकोठा, फर्निचर, खेल मैदान नभएको विद्यालयमा मैले प्रधानाध्यापक भैसकेपछि बाब्लावासी जनताको साथ र सहयोगमा तथा सरकारी एवं गैह्रसरकारी निकायको अनुदानबाट राष्ट्रिय मा.वि.मा ३ वटा आरसिसी गरिएका पक्की भवन, ४ वटा जस्तापाताले छाएका पक्कि भवनमा ३३ वटा कोठाहरु विद्यालयले प्रयोगमा ल्याइरहेको छ ।


प्रधानाध्यापकको पहलबाट मालिका विकास संस्थाको सहयोगमा २०५६/५७ तिरै प्रशस्त फर्निचरको व्यवस्था गरिएको हो । अहिले विद्यालयमा ६०० भन्दा पनि बढी विद्यार्थीहरु अध्यनरत छन् । त्यतिबेला ११  कार्यरत रहेको विद्यालयमा अहिले २१ जना शिक्षक कर्मचारी कार्यरत छन् ।


 यो विद्यालयलाई माध्यमिक तह बनाउन अभिभावकबाट चन्दा उठाईएको हो भने उच्च माध्यमिक बनाउन पनि मेरै नेतृत्वमा चन्दा संकलन समिति बनाई भारतका विभिन्न सहरमा काम गरिरहेका बाब्लावासी दाजुभाईहरुबाट करिब ६ लाख चन्दा संकलन गरिएको थियो ।


विद्यालयले सम्भवत् सबैभन्दा पहिले अछाम जिल्लामा ह्वाईटबोर्ड प्रयोगमा ल्याएको थियो र २०६५ सालदेखि कम्प्युटर ल्याव सञ्चालनमा ल्याईएको हो । सोलार सिस्टमबाट इन्टरनेट र एलसिडि प्रोजेक्टरबाट पठनपाठनको प्रबन्ध म प्रधानाध्यापक हुँदा २०६९ सालबाटै शुरु गरिएको हो ।


सुचना प्रविधी विभागको ई–भिलेज कार्यक्रम पनि सबैभन्दा पहिले सु.प. मा राष्ट्रिय मा.वि. मा नै शुरु गरिएको छ । सदरमुकामदेखि १२ कोस टाढाको अति दुर्गम क्षेत्रमा यो सुविधा देख्दा तेतीवेला राष्ट्रिय मा.वि.मा पुग्ने जोकोहिलाई पनि चासोको विषय हुन्थ्यो ।


 बिहानीको प्राथना गर्ने पनि खेलमैदान नपुग्ने विद्यालयमा बाब्लाको जनताको सहयोगले भिरालो जग्गा समथर बनाई ठूलो खेलमैदान निर्माण गरेको कुरा यो विद्यालयमा पुग्ने जोकोहीले आफ्नै आँखाले देख्नेछन् । विद्यालयमा विद्यार्थीहरुको सहभागीतामा कास्की पोखराबाट बेर्ना झिकाई अनार खेतिको शुरुवात मेरै पालामा गरिएको हो र उक्त अनार खेतिबाट विद्यालयले बार्षिक हजारांैको आम्दानी गर्ने लक्ष्य लिईएको छ । तर पत्रकार बन्धुले यी सबै पक्ष उल्लेख गर्नु भएन किनकी उहाँ राष्ट्रिय मा.वि.मा पुगि स्थलगत रिपोर्ट लिनु भएको देखिँदैन ।


राष्ट्रिय मा.वि.को शैक्षिकस्तर विगतमा अछाम जिल्लाले मुल्यांकन गर्न योग्य नै थियो । केहि वर्षयता शैक्षिक स्तर खस्किएकोमा म चिन्तित नै छु तर मेरो अनुपस्थितिमा अहिले परीक्षामा नतिजा कमजोर आउनुको दोष मलाई दिनु सरासर पुर्वाग्रह मात्र हो ।


जि.शि.का.अछामबाट २०६९÷७० मा अनुदान प्राप्त विद्यालयको रु. १० लाख प्रधानाध्यापकले झिकेर दुई वर्ष पछि मात्र काम शुरु गर्यो भन्नु सरासर झुटो आरोप हो । किनकी उक्त चारकोठे भवन निर्माण कार्य पलाष्टर र झ्यालढोकाको खापा मिलाउन बाहेक सबै काम २०७० फागुनसम्म पहिलो तलाको छत बनाउने कार्य र २०७१ असार २ गते दोस्रो तलाको छत निर्माण कार्य सम्पन्न भैसकेको थियो ।


 यो भवनको निर्माण कार्य सम्पन्न गर्न बाब्लामा त्यो रकमले नपुग्ने भनि तत्कालिन जिशिअ ज्युलाई जानकारी गराइएको र उहाँबाट पनि सो विषय मनन् भई पछि कुनै शिर्षकबाट विद्यालयमा अनुदान थप गरी बाँकी काम पुरा गर्ने समझदारी भएको थियो तर यो समस्या बुझेका जिशिअको सरुवा हुँदा उक्त कार्य अधुरो नै रहन गयो ।


यो निर्माण कार्य विद्यालय व्यवस्थापन समितिले उपभोक्ता समिति नबनाई आफै गरेको साँचो हो । विव्यसको बैठकमा सो विषयमा छलफल हुँदा तत्कालीन अवस्थामा उपभोक्ता समितिले अरु योजनाहरु सन्तोषजनक सम्पन्न नगरेले अलग्गै समिति नबनाई  विव्यसले गर्ने निर्णय भएको हो । सो विषयलाई प्रधानाध्यापले मनपरि गर्यो भन्नु झुटो आरोप मात्र हो । पत्रकारले कलम चलाउन पाए भन्दैमा जथाभावी लेख्ने काम बन्द गर्न र यो १० लाख रुपिया दुई वर्षसम्म खर्च नगरेको भन्ने कुरा प्रमाणित गराउन चुनौति दिन चाहन्छु ।


शिक्षकको पेशागत हकहितको लागि कामगर्नु मेरो अहिलेको प्रमुख दायित्व हो । तर यो समयमा राष्ट्रिय माध्यमिक विद्यालयले विज्ञान सामग्रीको विल फच्र्छौट गरेन, अरु शिक्षकले नियमित पढाएनन्, कक्षा कोठामा शैक्षिक सामग्री भेटिएन, कार्यालय कक्ष सजावट पुगेन भनि नेपाल शिक्षक महासंघको महासचिवलाई दोषारोपण गर्नुको कुनै तुक छैन यो त केवल राजनीतिक र व्यक्तिगत पुर्वाग्रह साध्ने काम वाहेक केहि नभएकोले यस्तो पित पत्रकारीता नगर्न र अन्नपुर्ण पोष्ट जस्तो राष्ट्रिय दैनिक पत्रकारीताले सत्यतथ्य ख्याल नगरि गाउँस्तरको पत्रकारले पठाएको रिपोर्टलाई प्रकाशित गरेर आफ्नै गरिमालाई कम नगर्न आग्रह गर्दछु ।
 

Comments: