२०७६ असोज १ गते

सामुदायिकमा विद्यार्थी खचाखच

बागलुङ ।  बडिगाढ गाउँपालिका २ को त्रिभुवन माविका शिक्षक सार्वजनिक बिदा भए पनि नियमित विद्यालय पुग्छन्, पढाइ र व्यवस्थापकीय काममा खटिन्छन् ।

आसपासका विद्यालयमा विद्यार्थी संख्या घटेर न्यून भइसकेका छन् । तर, विद्यार्थी अनुपातमा यहाँ भवन अभाव भएर अस्थायी टहरो बनाएर पनि कक्षा चलाउनु परेको अवस्था छ । विद्यालयले कम्प्युटर शिक्षा, अंग्रेजी र नेपाली माध्यमको पढाइ र विद्युतीय पुस्तकालयको व्यवस्था गरेपछि निजी विद्यालय छाडेर आउने क्रम बढेको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए ।

यसपटकको भर्ना अभियानमा मात्र ६० विद्यार्थी निजी छाडेर यहाँ आइसकेका छन् । यहाँ हाल ७ सय ८० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गुणस्तर वृद्धिका लागि प्याकेजका कार्यक्रम ल्याएपछि विद्यार्थीको आकर्षणको केन्द्र बनेको भण्डारीले बताए । ‘हामीले विद्यालय बनाउनुपर्छ भन्ने चाहना राखेका छौं । समय कटाउन कसैले पनि खोजेका छैनौं,’ उनले भने, ‘निजी स्रोतका शिक्षक राखेर भए पनि गुणस्तर विकासमा पहल गरेका हौं ।’ विद्यालयले अंग्रेजी माध्यम, प्रयोगात्मक शिक्षा र नियमितबाहेक अतिरिक्त विषय र कक्षा सञ्चालन गरेपछि धेरैको आकर्षण भएको हो । हाल यो विद्यालयमा १७ निजी स्रोतका शिक्षक छन् । अभिभावकले दिएको चन्दाका भरमा विद्यालयले उनीहरूको तलब व्यवस्थापन गरेको छ ।

विद्यालयले सबै कक्षामा अंग्रेजी माध्यममा पढाउने, निजी विद्यालयको जस्तै नर्सरी, एलकेजी र युकेजी उत्तीर्ण भएपछि मात्र कक्षा १ मा पुग्ने व्यवस्था गरेको छ । रिघा ९ का सीतावीर चौधरीले निजीमा पढेका छोरा आशिषलाई निजी छुटाएर यहाँ ल्याएर भर्ना गराएका थिए । स्थानीय भक्तबहादुर रानाले पनि छोरालाई निजीबाट छुटाएर सामुदायिकमा भर्ना गराएको बताए । ‘धेरै खर्चेर प्राइभेटमा पढाउनुभन्दा सरकारीमै राम्रो देखेर ल्याएको हुँ,’ एक अभिभावकले भने, ‘सरकारीमा पढाउँदा छात्रवृत्तिलगायतको सहयोग पनि पाइने रहेछ ।’ मजदुरी गरेर उनले अघिल्लो वर्ष सन्तानलाई निजीमा पढाएका थिए ।

‘सामुदायिक विद्यालयले गुणस्तर र राम्रो व्यवस्थापन गर्न सकेमा बालबालिका अन्यत्र नजाने देखियो,’ प्रधानाध्यापक भण्डारी भन्छन्, ‘हामीले सक्दो गुणस्तर दिने प्रयास गरेका छौं ।’ विद्यालयले आवश्यकताअनुसार कक्षामा मल्टीमिडिया उपयोग गरेर अध्यापनको व्यवस्था गरेको उनले बताए । मावि तहमा अनिवार्य कम्प्युटरको पढाइ पनि छ । विद्यालयले भर्ना अभियानलाई महोत्सव जस्तो बनाउने गरेको छ । ‘कक्षाकोठाको पढाइमा शिक्षकहरू बढी चासो राख्छन्, त्यसैले उत्तीर्ण दर पनि राम्रो छ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद भुषालले भने, ‘हेड सरदेखि सबै शिक्षक युवा भएकाले केही गरेर देखाउनुपर्छ भन्ने भावना पनि बढेको छ ।’ वर्षेनी ६० देखि ८० जनाले एसइई परीक्षा दिएर राम्रो अंक ल्याएर उत्तीर्ण समेत भएका छन् । गुणस्तर र उत्तीर्ण दर राम्रो भएपछि अभिभावकले पनि निजी छाडेर सामुदायिकलाई नै रोजाई बनाएको उनले बताए ।

प्रकाश बरालले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: