२०७६ असोज २ गते

कसरी हराउँछ परीक्षार्थीको उत्तरपुस्तिका ?

काठमाडौं । गत वर्ष स्नातक तहअन्तर्गत बीएडमा नेपाली विषयबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षणको क्रममा हरायो । उत्तरपुस्तिका कसले र किन हरायो भन्ने विषयमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई सत्यतथ्य जानकारी गराउन मानेन ।

सुरुमा त पनिकाले उत्तरपुस्तिका हराएको समेत स्वीकार गर्न मानेको थिएन । नतिजामा अनुपस्थित आएको देखेपछि परीक्षार्थी बुझ्न जाँदा बल्ल थाहा भयो, उत्तरपुस्तिका जाँचकीको लापरवाहीका कारण हराएको भनेर । महेन्द्ररत्न क्याम्पसबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका हराएको प्रमाणित भएपछि पनिकाले अर्को परीक्षा सञ्चालन गर्‍यो परीक्षार्थीको इच्छा विपरीत ।

तर त्यतिखेर उत्तरपुस्तिका हराउने नेपाली विषयका प्राध्यापक व्रतराज आचार्यलाई सामान्य कारबाही गरेर घटनालाई सामान्य बनाइयो । त्रिविमा अनुभवी र पुराना प्राध्यापक मानिएका आचार्यले उत्तरपुस्तिका हराए पनि उनलाई कारबाही गरिएको भन्ने सामान्य कर्मकाण्डी कारबाहीमात्र गरिएको थियो ।

यस पटक पनि पनिकाले परीक्षणमा प्राध्यापकलाई दिएको स्नातकोत्तर तहका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हरायो । पब्लिक युथ क्याम्पसममा एमबीएस प्रथम वर्षको एकाउन्टिङ विषयका ती परीक्षार्थीको पनि नतिजामा अनुपस्थित आएको देखेपछि उत्तरपुस्तिका हराएको प्रमाणित भएको छ ।

यस पटक कसले उत्तरपुस्तिका हराएको हो भन्ने विषयमा पनिकाले अध्ययन भइरहेको बताएको छ । जसले हराएको भए पनि विश्वविद्यालयजस्तो गरिमा बोकेको संस्थाले उत्तरपुिस्तका परीक्षणमा लापरवाही गर्दा विद्यार्थीको भविष्य नै संकटमा परेको छ । साथै विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाको व्यवस्थापन पक्षको विषयमा समेत प्रश्न उठेको छ ।

क्याम्पसका सहायक प्रमुख बलराम थापाले भन्नुभयो, 'पब्लिक युथ क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हरायोभन्दा पनि उत्तरपुस्तिकाको सुरक्षामा त्रिविका अधिकारीहरू कति गम्भीर छन् भन्ने विषय चिन्ता हो । पटकपटक उत्तरपुस्तिका हराउने प्रवृत्तिले उत्तरपुस्तिका परीक्षणमा त्रिविका प्राध्यापकहरूले कति खेलाँची गर्छन् भन्ने यस घटनाले स्पष्ट पारेको छ ।'

किन हराउँछ ?

पनिकाले कुनै पनि विषयको परीक्षा सञ्चालन गरिसकेपछि उत्तरपुस्तिका परीक्षणका लागि प्राध्यापकहरूलाई दिन्छ । प्राध्यापकहरूलाई ती उत्तरपुस्तिकाको गणना गरेर पोको बनाएर परीक्षणका लागि घरैसम्म लैजान दिने व्यवस्था छ । तर कतिपय प्राध्यापकहरूले घरमा लगेर राखेको लामो समयसम्म पनि परीक्षण नगर्ने र अन्य काममा नै व्यस्त भइरहँदा ती उत्तरपुस्तिका परीक्षणमा निकै लामो समय लगाउने गर्दछन् ।

लामो समयसम्म परीक्षण नगरी बस्ने र परीक्षण गर्नुपरेको अवस्थामा पनि हतारमा परीक्षण गर्ने प्रवृत्तिका कारण नतिजामा समेत लापरवाही हुने गरेको छ । घरमा लगेर मनपरि गर्ने प्रवृत्तिका कारण उत्तरपुस्तिका हराउने क्रम पनि दोहोरिने गरेको छ । त्यसबाहेक उत्तरपुस्तिका परीक्षण गरेर सम्बन्धित कार्यालयमा बुझाइसकेपछि पनि हराउने गरेको छ । यस पटक भने जाँचकीले बुझाइसके पनि उत्तरपुस्तिका हराएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले भन्नुभयो, 'यस पटक जाँचकीको मात्र लापरवाही छैन कि जस्तो देखिएको छ । तर थप अध्ययन हुन बाँकी नै छ । यसबारेमा अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउँछौं ।'परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, 'जे हुनु भइहाल्यो । अब विद्यार्थीलाई मर्का नपर्ने गरी अर्को परीक्षा लिन्छौं । यसमा जो जो दोषी देखिएका छन् उनीहरूलाई नियमले दिएको व्यवस्थाअनुसार कारबाही गर्छौं ।'

 'पढाउने शिक्षकलाई नै परीक्षण गर्न दिनुपर्छ'


-विद्यानाथ कोइराला, शिक्षाविद्



अमेरिका, बेलायतलगायतका मुलुकमा जुन प्राध्यापकले विद्यार्थीलाई पढाउँछन्, उनीहरूको उत्तरपुस्तिका पनि सोही प्राध्यापकले नै परीक्षण गर्छन् । जसको कारण उत्तरपुस्तिका हराउनेमात्र होइन, कुन परीक्षार्थीको सिकाइ उपलब्धि कस्तो रहेको छ र उनीहरूलाई थप बलियो बनाउन के गर्नुपर्छ भन्ने विषयमा सम्बन्धित प्राध्यापकले बुझ्ने मौका पाउँछन् ।

तर हामीकहाँ एउटा प्राध्यापकले पढाउने, अर्को प्राध्यापकले परीक्षा लिन्छन् र तेस्रो प्राध्यापकले उत्तरपुस्तिका परीक्षण गर्छन् । यसरी उत्तरपुस्तिकालाई बारम्बार ठाउँ सारिरहँदा यो बाटोमै हराउने सम्भावना हुन्छ । त्यसैले यसको एकमात्र उपाय भनेको जुन शिक्षक वा प्राध्यापकले पढाएका छन्, सोही प्राध्यापकलाई उत्तरपुस्तिका पनि परीक्षण गर्न दिनुपर्छ । विद्यार्थी पढाउन सक्छ भनेर विश्वास गरिएका प्राध्यापकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिँदा के समस्या पर्छ रु यसमा सम्बन्धित पक्षले सोच्ने बेला भएको छ ।

त्यसबाहेक यो प्राध्यापकहरूको गैरजिम्मेवारीपनाको परिणाम पनि हो । आज एउटाले उत्तरपुस्तिका हराउँछ, उसलाई कारबाहीस्वरूप सामान्य सोधपुछ गरेर छोडिन्छ, अझ पावरफुल व्यक्ति छ भने त त्यही सोधपुछ पनि हुँदैन । जसले उत्तरपुस्तिका हराउँछ, उसलाई कडा कारबाही गर्ने हो भने त भोलिदेखि सुधार भइहाल्छ नि । यदि कडा कारबाहीको प्रावधान नराख्ने हो भने यस्तो गल्ती बारम्बार दोहोरिरहन्छ ।

२००७ सालमा पनि हराएको थियो उत्तरपुस्तिका

राणाशासनविरुद्ध २००७ सालमा भएको राजनैतिक आन्दोलनको क्रममा पनि एलएलसीमा उत्तरपुस्तिका हराएको थियो । त्यतिखेर परीक्षण गर्न नै नपाई धेरै उत्तरपुस्तिका हराएका कारण सबै विद्यार्थीलाई उत्तीर्ण गराइएको थियो । त्यसपछि पनि विभिन्न समयमा उत्तरपुस्तिका हराएका घटनाहरू बाहिर आइरहेका छन् ।



'दोषीलाई कारबाही गर्छौ'


-प्राध्यापक डा. तीर्थ खनियाँ

उपकुलपति त्रिवि



परीक्षा सकिएपछि उत्तरपुस्तिका पोको पारेर धेरै दुर्गम र टाढादेखि ल्याउनुपर्छ । एकै पटकमा सयौं पोकाहरू ल्याउनुपर्नेहुन्छ । चारपाँच लाख परीक्षार्थी, हजारभन्दा धेरै विषयहरू भएका कारण पनि उत्तरपुस्तिका संकलन गर्न निकै कठिन हुन्छ । तर पनि उत्तरपुस्तिका नहराऊन् भन्ने हाम्रा चाहना हुन्छ । यस पटक पनि नहुनुपर्ने घटना भई नै हाल्यो । यसमा हामी निकै दुःखी छौं । विद्यार्थीहरू समस्यामा परेका छन् । उनीहरूलाई अर्को परीक्षामा बस्नुको विकल्प छैन । उनीहरूलाई अनुकूल हुने गरी परीक्षा बोर्डबाट निर्णय गरेर अर्को परीक्षाको मिति सार्वजनिक गर्छौं ।

जहाँसम्म उत्तरपुस्तिका हराएको प्रसंग छ, यसमा हामी गम्भीर अध्ययन गर्छौं नै । यो लापरवाहीकै परिणाम हो । अध्ययनपछि को दोषी देखिएको छ थाहा भइहाल्छ । त्यसपछि उनीहरूलाई कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्छौँ । यसमा ढुक्क भए हुन्छ । भविष्यमा पनि यस्ता घटना दोहोरिन नदिन हामी चनाखो हुनेछौं ।

अन्नपुर्णपोष्टका लागि सूर्य पाण्डेले तयार पारेको खबर ।

Comments: