२०७६ असोज २ गते

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल

 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिने बताएका छन् ।


श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले श्रम र सीप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने रावलले जानकारी दिए ।


बुधबार मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतले उद्यम विकास सहजकर्ता अध्ययनरत विद्यार्थीका लागि आयोजना गरेको आफ्नो व्यवसाय सुधार गर्नुहोस विषयक १० दिने प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन् ।


उनले प्रशिक्षार्थीहरुलाई आफुले सिकेका ज्ञानलाई व्यवहारिक रुपमा उतार्न अनुरोध गर्दै प्रदेश सरकारले बेरोजगारी समस्या निदानका लागि प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा सीप र श्रम विद्यालय स्थापना गर्ने नीति लिएको बताएका हुन् ।


सरकारको नीति तथा कार्यक्रममा समावेश भएको उक्त विद्यालय निकट भविष्यमा नै स्थापना हुने जानकारी दिए । साथै उनले श्रमको सम्मान गर्ने बानी स्थापित हुनसके मात्रै देश र व्यक्तिगत जीवनमा आर्थिक समृद्धि सम्भव भएको पनि प्रष्ट पारे ।

Comments: