२०७६ कार्त्तिक २७ गते

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

कालिकोट । जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए । ‘भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा गरेका हौं,’ जिशिअ तिवारीले भने– ‘भाइरलबाट प्राय: सबैजसो बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गर्नुपर्ने भयो ।’ रोगबाट ३ बालबालिकाको मृत्यु भइसकेको छ ।

जिशिअ तिवारीका अनुसार खाडाचक्रसहित सान्नी त्रिवेणीको बडरुख आधारभूत विद्यालयमा १ सय ५० विद्यार्थी बिरामी परेकाले मंगलबारदेखि बन्द गरिएको छ । खाडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । उनले गाउँमा जाँदा अधिकांश बालबालिकामा भाइरल र झाडापखाला देखिएकाले विद्यालय बन्द गर्न अनुरोध गरिएको जनाए । उनका अनुसार मंगलबार पनि १ सय ७७ जना बिरामीको परीक्षण गरिएको छ । उनले खाडाचक्रको ४ वडा, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकामा औषधि पठाइएको जानकारी दिए । शुक्रबारसम्म विद्यालय बन्द गरेर बिरामी पहिचान र उपचारमा सहजीकरण गर्न शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षाले जनाएको छ ।

खाडाचक्रको वडा २ र ४ मा १ हजार १ सय ३० बिरामी भेटिएको खाडाचक्र नगरपालिका खटिएका स्वास्थ्य संयोजक डा. सुवास शर्माले बताए । उनले पुराना बिरामी सञ्चो हँुदै गइरहे पनि नयाँमा संंक्रमण देखिएको जानकारी दिए । सुर्खेतबाट आएको एक ट्रक औषधिमध्ये केही मंगलबार भाइरल प्रभावित गाउँमा पठाइएको जिल्ला स्वास्थ्यले जनाएको छ । पलाता, पचालझरना, नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको जिल्ला स्वास्थ्यको दाबी छ । भाइरलबाट वडा ४ मा ३ बालबालिका, एक वृद्ध, वडा ३ मा २ वृद्ध र वडा २ मा ३ वृद्धवृद्धासहित ८ जनाको मृत्यु भइसकेको छ ।

तुलाराम पाण्डेले कान्तिपुर दैनिकमा लेखेको खबर ।

Comments: