२०७६ असोज ३० गते

जागिर खाने ? आउनुस् पढ्न

अन्तैबाट

प्यूठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको ।


शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा चलाउन लागेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । तयारी कक्षाको प्रक्रिया फागुन २२ देखि अघि बढेको हो । अहिले धमाधम आवेदन बुझ्ने काम भइरहेको छ । ‘लोकसेवा, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, नेपाली सेना, नेपाल प्रहरी, बैंकिङलगायत सरकारी सेवाका कक्षासम्बद्ध विषयका विज्ञबाट सञ्चालन गरिनेछ,’ उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार सरकारी सेवा प्रवेश कक्षा सञ्चालनका लागि गाउँपालिकाले मुख्यमन्क्री ग्रामीण विकास कार्यत्रमअन्तर्गत २ लाख ५० हजार बजेट छुट्याएको छ । कक्षामा सहभागी हुन गाउँपालिकाकै स्थायी बासिन्दा हुनुपर्नेछ । एसएलसी वा कक्षा १२ उत्तीर्ण गरेकाहरू यसमा सहभागी हुन पाउनेछन् । ‘पुरुषका हकमा १८ देखि ३२ र महिलाका हकमा १८ देखि ३७ वर्षको उमेर हद तोकिएको छ,’ उनले भने ।

यसका लागि गाउँपालिकाले कार्यविधि बनाएको छ– सरकारी सेवा तयारी कक्षा सञ्चालन कार्यविधि, २०७५ । पहिलो पटक सुरु यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । ‘अपुग भए पालिकाको आन्तरिक बजेट थप गरेर भए पनि खर्च गर्ने तयारी छ,’ अर्यालले भने ।

उनले भने, ‘कार्यक्रमले सरकारी सेवामा प्रवेश गर्न चाहनेलाई धेरै सघाउ पुग्नेछ ।’ सबै क्षेत्रमा प्रवेश गर्न चाहनेका आवेदन लिने र विज्ञापन खुलेअनुसार विषय विज्ञबाट कक्षा चलाइनेछ । हरेक विषयको १५ दिन कक्षा हुनेछ । लोकसेवा परीक्षा दिन जाँदा र आउँदा एवं अध्ययन अवधिको सुविधा एक जनाले ३ पटकसम्म मात्र पाउने कार्यविधिमा उल्लेख छ ।

सरकारी सेवामा प्रवेश एवं पहुँच न्यून रहेको जिल्लाकै दुर्गम मानिने गौमुखीमा यो कार्यक्रम प्रभावकारी हुने स्थानीयको भनाइ छ । सरकारी सेवा तयारी कक्षाबाट बेरोजगार युवालाई फाइदा पुग्ने गौमुखी मावि ठूलाबेसीका शिक्षक जागेश्वर जैसीले बताए ।

गिरुप्रसाद भण्डारीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: