• नाम मात्रैको जुडो विद्यालय
    (अन्तैबाट)

  • भद्रपुर । स्कुल अगाडि सानो माई नदी बग्छ। हिउँदमा पनि तर्न हम्मे पर्ने उक्त नदीमा बर्खाको बेला भेल उर्लन्छ। ससाना नानीहरू झोला उठाएर अर्को हातले हाफपाइन्ट र मिडी सुर्कंदै खोला तरेर दैनिक स्कुल पुग्छन्। अनि हतारहतार जुडो खेल्न सुरु गर्छन्। ‘कक्षा कोठा नखुल्दै विद्यार्र्थी आएर खाली चौरमा जुडो अभ्यास गर्छन्,’ विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेशले भने, ‘तर, पछिल्लो समय जुडोको अभ्यास औपचारिकता जस्तो मात्र भएको छ।’

    दक्ष प्रशिक्षकमार्फत जुडो खेलको विशेष प्रशिक्षण दिने उद्देश्यसहित २०६७ सालमा सुरु भएको थियो, जुडो विद्यालय। तर अहिले नाममात्रको जुडो विद्यालयमा परिणत भएको छ। हाल हरेक दिन बिहान कक्षा २ देखि ४ सम्मका विद्यार्थीलाई १० देखि १५ मिनेट जुडो खेल सिकाइन्छ। जुडो सिकाएर पढाइ सुरु गरिने र अरू सरकारी विद्यालय सरह नै पढाइ हुने गरेको गणेश बताउँछन्।

    खुमरखोदमा जुडो प्राथमिक विद्यालय पुराना जुडो खेलाडी गंगाप्रसाद खतिवडा, जगत खड्का र पृथ्वीविक्रम राईको अग्रसरतामा स्थापना भएको हो। तर आर्थिक अभावका कारण विद्यालयले सोचे अनुरूप गति लिन सकेको छैन। न त खेलकुदको व्यवस्थित प्रशिक्षण नै अगाडि बढाउन सकेको छ। गाउँपालिकाका खेलाडीले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै आएको बताउँदै राई भन्छन्, ‘खुमरखोदबाटै जुडोको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै पदक जित्ने खेलाडी देवीका खड्का अहिले एपीएफ क्लबमा आबद्ध छिन्। यही स्कुलका कारण गाउँमा जुडोको विषयमा धेरै मानिसहरू जानकार भएका छन्।’

    देविकाका काका तथा जुडोका राष्ट्रिय खेलाडी गंगाप्रसाद खतिवडाका अनुसार जिल्ला वा प्रदेशस्तरीय जुडो प्रतियोगिता आयोजना हुँदासमेत एकजना पनि सरकारी प्रशिक्षक उपलब्ध हुँदैनन्। यस्तो अवस्थामा पनि गाउँघरमा म्याट बिना नै खेलाडीले अभ्यास गर्छन् र हरेक वर्ष राष्ट्रिय खेल हुँदा झापा जिल्लाबाट १४ जनाभन्दा बढी खेलाडीले सहभागिता जनाएर पदकसमेत जित्ने गरेका छन्। ‘प्रदेशमै जुडो खेल हुने भयो भने पनि हामी नै प्रशिक्षक भएर खेलाउन जानुपर्छ। ससाना नानीलाई खेलसँगै प्राविधिक कुरा पढाउन खोज्दा कतैबाट आर्थिक सहयोग पाइँदैन’, उनी भन्छन्।


    राष्ट्रिय खेलाडी खतिवडाले २०५५ सालमा जापानमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर फर्किएपछि आफ्नो गाउँका बालबालिकालाई जुडो खेल सिकाउन थालेका हुन्। उनले प्रशिक्षक पनि राखेर सानैदेखि खेल सिकाउने उद्देश्यले विद्यालय खोल्नसमेत पहल गरेका थिए। ‘चारजना शिक्षक छन्। विद्यार्थी एक सय चारजना छन्। एक, दुईजना शिक्षकले हेर्न सक्ने कुरा पनि भएन। गाउँपालिकाबाट वार्षिक रूपमा आउने केही रकमले शिक्षकलाई तलब दिने गरेका छौं’, वडा नम्बर २ का वडाअध्यक्ष नेत्र खड्का भन्छन्। खड्काका अनुसार केही दाताहरूले बेलाबेला सहयोग गरेको पैसा र स्थानीय जन श्रमदानबाट अहिले विद्यालयको आफ्नै ६ कोठे भवन छ।

    झापा गाउँपालिककै दुईजना खेलाडीले एसियाली खेलकुद र करिब ५० जनाले राष्ट्रिय खेलमा विभिन्न पदक जितेका छन्। खेलाडीले जितेर आउँदा केही रकम विद्यालयलाई पनि सहयोगस्वरूप छु्ट्ट्याउने गरेको जानकारी विद्यालयका सल्लाहकार तथा जुडोका राष्ट्रिय खेलाडी जगत खड्काले दिए। दक्षिण एसियाकै पहिलो खेलकुद विद्यालयको अनुमति पाएको उक्त विद्यालयको सानो माई खोलाको छेउमा भवनसहित आठ कठ्ठा जग्गा पनि छ।

    राधा खनालले अन्नपुर्णपोष्टमा खबर लेखेकी छन् ।