२०७६ कार्त्तिक २ गते

शिक्षक र शिक्षक छनोटको पाठ्यक्रम

जीतबहादुर शाह



फ्रायडको यौन मनोविज्ञानमा पनि केही सत्यता होला जस्तो लाग्छ । त्यस्तै भएछ एकपटक । एकजना कक्षा ३ मा अध्ययन गर्ने बालकले आमासँग रिसाउदै आफ्ना कुरा यसरी राखेछ – ‘मलाई पहिले नजन्माएर पछि किन जन्माएको आमा ? मलाई पहिले जन्माएको भए सविता म्याडमसँग विवाह गर्थें नि ।’ आमाले किन सविता म्याडमसँग विवाह गर्ने भनेर आफ्नो ३ कक्षामा अध्ययन गर्ने छोरालाई सोध्दा उसको जवाफ हुन्छ – ‘वहाँ हामीसँग कहिल्यै रिसाउनु हुँदैन । भेट हुने बित्तिकै सधैं मुस्कुराउनु हुन्छ । कहिल्यै झर्किनु हुन्न र सधै मीठोसँग बोलेर हामीलाई माया गर्दै पढाउनु हुन्छ । नजानेको कुरा दोहो¥याएर सिकाउनु हुन्छ ।


 हामीलाई कहिले भिडियो र के–के सामग्री देखाएर पढाउनु हुन्छ भने कहिले चाहुर र पाखाबारीमा लिएर सिकाउनु हुन्छ । कहिले हामीलाई मीठो स्वरमा गीत गाएर सुनाउनु हुन्छ भने कहिले कविता र मुक्तक सुनाउँदै सिकाउनु हुन्छ । नाच्न पनि सिपालु हुनुहुन्छ । देख्दा पनि राम्री हुनुहुन्छ । पोशाक पनि सधै सफा र चिटिक्क मिलाएर लगाउनु हुन्छ । त्यसैले सविता म्याडमको असाध्य माया लाग्छ के ।’


तीन कक्षामा अध्ययनरत एउटा विद्यार्थीले जुन मनसायका साथ आफूलाई अध्यापन गर्ने शिक्षिकालाई मन पराए पनि उसले मन पराउने कारणहरुभित्र एउटा कुशल र सक्षम शिक्षकमा हुनु पर्ने विशेषताहरु प्रतिविम्वित भइरहेका छन् ।


 अर्थात् विद्यार्थीहरुको निम्ति आकर्षणको केन्द्र एवम् आँखाको नानी हुने हो भने सविता म्याडममा जे जस्ता विशेषताहरु छन् त्यो विशेषता एउटा शिक्षकमा हुनु आवश्यक छ । त्यस्ता शिक्षकहरु छनौट गर्नका लागि शिक्षक छनौट गर्ने पाठ्यक्रम पनि तदनुरुपको हुनु आवश्यक छ ।


तथापि हामी कहाँ भने शिक्षक छनौट गर्ने पाठ्यक्रम तदनुसारको भएको देखिदैन । धेरै आशा थियो, २०७५ जेठ ५ गतेदेखि लागू हुने शिक्षक छनौटको परिवर्तित पाठ्यक्रम अलिकति भएपनि त्यो पक्षलाई सम्बोधन गरेर आउनेछ । उडायो सपना सवै सबै हुरीले भने झैँ भयो । सामान्य नियम, कानूनका कुरालाई अद्यावधिक गर्दै शिक्षक छनौटको पाठ्यक्रममा काम गर्नेहरुले आफ्नो कर्म पूरा गरेको देखिन्छ । थाहा छैन, हाम्रो यो कर्मले देशको शैक्षिक पक्ष कति वर्ष पछि धकेलिने हो ?   


शिक्षक छनौटका लागि एकसय पूर्णाङ्कको लिखित परीक्षाको व्यवस्था गरिएको छ । यसमा जतिसक्यो घोकेर लेख्न सक्नुपर्छ, समय व्यवस्थापन र लेखाइ राम्रो हुनु पर्ने कुरा आफ्नो ठाउमा छदैछ । शिक्षण अनुभवको लागि १० पूर्णाङ्कको व्यवस्था गरिएको छ ।


 यसमा काम गरेको हरेक वर्षका लागि एक अङ्कका दरले बढिमा दश अङ्क पाउने व्यवस्था छ । यो अङ्क अध्यापन गरे पनि पाइन्छ, अध्यापन गरेजस्तो गरेपनि पाइन्छ । अध्यापन गरेका सम्पूर्ण विद्यार्थी फेल भएपनि पाइन्छ र पास भएपनि पाइन्छ ।


 यसमा राहत एवम् स्वीकृत दरवन्दीमा नियुक्त भएको वर्ष गणना गरेर प्रमाणित गरेपुग्छ । त्यस्तै शैक्षिक योग्यता र तालिमका लागि १५ अङ्क र अन्तर्वार्ताका लागि १० अङ्क निर्धारण गरिएको छ । निजामति सेवामा जस्तै शिक्षक सेवा आयोगको विज्ञापनमा पनि आरक्षणको व्यवस्था गरिएको छ ।
कुल सङ्ख्याको पैतालिस प्रतिशतलाई सतप्रतिशत मानी त्यसमध्ये महिलाको निम्ति ३३ प्रतिशत, आदिवासी जनजातिका निम्ति २७ प्रतिशत, मधेसीका निम्ति २२ प्रतिशत, दलितका निम्ति ९ प्रतिशत, अपाङ्गका निम्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका निम्ति ४ प्रतिशत हुने व्यवस्था गरिएको छ ।


शिक्षक छनौटको पाठ्यक्रम र त्यसैअनुसार छनोट भएर आउने शिक्षकहरुको अध्ययन गर्दा छनोट भएर आउने शिक्षक र बालबालिकाका निम्ति आवश्यक पर्ने शिक्षकको बीचमा फरक भएको कुराको अनुभूति हुन्छ ।


अरु पेशा र पदका लागि छनौट गर्ने जस्ता आधारहरु बनाएर शिक्षक छनौट गर्न कार्यले शैक्षिक क्षेत्र पटक–पटक दुर्घटनाको शिकार भइरहेको जस्तो लाग्छ । अरु पेशामा त टेबलमा बसेर काम गर्नका लागि आवश्यक पर्ने सीप र दक्षता भए पुग्छ भने शिक्षक हुनका लागि त व्यक्तिमा यस्ता विशेषताहरु हुनुपर्ने रहेछ, जुन विशेषताहरु विद्यार्थीहरुले पछ्याउँदा विद्यार्थीहरुका निम्ति उपयोगी होउन ।


 शिक्षकले जस्तै बोल्दा, शिक्षकले जस्तै लिपि बनाएर लेख्दा, शिक्षकले जस्तै खाने कुरा खाँदा, शिक्षकको जस्तै आनिबानी गर्दा सकेसम्म विद्यार्थीलाई भलो हओस् नभए कुभलो नहोस् भन्ने कुरालाई पहिलो प्राथमिकता दिनुको विकल्प छैन ।


शिक्षकहरु ‘मैले जे गर्छु त्यो नगर्नु तर जे भन्छु त्यो गर्नु’ भन्ने खालका परे भने विद्यार्थीहरु राम्रा हुने सम्भावना हुँदैन । कारण  बालबालिका लगायत आम मानिसको स्वभाव नै भनेको÷सुनेको कुरा बिर्सने तर देखेको कुरा भने सम्झने हुन्छ । त्यसैले पनि शिक्षण एउटा उत्कृष्ट पेशा हो ।


 यो पेशामा काम गर्ने मानिसहरु समाजका लागि अनुकरणीय हुनुपर्दछ । अनुकरणीय व्यक्ति छनोट गर्नका लागि छनोट गर्ने पाठ्यक्रम र तौरतरिका पनि अनुकरणीय हुनुपर्दछ ।


उच्च शिक्षा आयोगको २०७४ को प्रारम्भिक प्रतिवेदनले समेत शिक्षकहरु छनोट गर्दा उनीहरुको मनोवैज्ञानिक परीक्षण गरिनु पर्ने कुरा उठाएको छ । उनीहरुको स्वभाव बालबालिकासँग रमाउने किसिमको छ कि छैन ? सामाजिक कर्ममा लाग्दा उनीहरुलाई गर्वको अनुभूति हुन्छ कि हुदैन ? उनीहरुको जीवनको अभिष्ठ भनेको आफ्नो कारणले कसैको जीवनमा देखिएको खुशी हो वा उनीहरुकोे आफ्नै आर्थिक उन्नति ? आदि जस्ता कुराहरुले मानिसले कुन पेशा रोज्ने भन्ने कुरा निर्धारण गर्दछ ।


कतिपय व्यक्तिहरु बालबालिकाले गर्ने सम्मानमा आफूलाई समर्पित गरेर खुशीसाथ बाँचिरहेका हुन्छन् सविता म्याडम जस्तै । कतिपय शिक्षकहरु भने बालबालिका भन्ने वित्तिकै उकउकी लाग्ने र शिक्षण पेशा भन्ने बित्तिकै भित्रदेखि सम्मानभाव जाग्नुको सट्टा घृणा उम्लिएर आउँदा–आउँदै पनि बाध्यताले जीवनभर शिक्षण पेशामा काम गरिरहेका हुन्छन् ।


 मन नपरेको काममा लागिरहेको व्यक्तिले अरुको निम्ति मन पर्ने काम गर्न गाह्रो हुन्छ । कम्फुसियसले भनेका छन् – ‘तिमीले माया गर्ने पेशा रोज । यसो गर्न सक्यौ भने तिमीले जीवनमा एकदिन पनि काम गर्नुपर्ने छैन ।’ सायद हाम्रो शिक्षक छनोट गर्नका लागि बनाइएको पाठ्यक्रमले बालबालिका र शिक्षण पेशाप्रति समर्पित मान्छेहरु छनोट गर्न सकेको भए शिक्षा र त्यसमा पनि शिक्षण संस्थामा देखिने धेरै विकृतिहरु त्यत्तिकै पनि बिलाएर जान्थे होला जस्तो लाग्छ ।


नयाँ नियुक्त भएर स्थायी शिक्षकहरु विद्यालयमा गए पनि विद्यालयको कम्प्यूटर चलाउनका लागि निजी स्रोतमा नै शिक्षक राख्नु पर्ने देखिन्छ । नयाँ स्थायी शिक्षकलाई कम्प्यूटर सम्बन्धी ज्ञान हुनु आवश्यक देखिएन । हाम्रा विद्यालय र बालबालिकाहरु डिजीटल यूगमा प्रवेश गर्दैछन् त भनिन्छ तर शिक्षकहरुमा त्यो सक्षमता चाहिन्छ भन्ने कुरालाई शिक्षक छनौट गर्ने पाठ्यक्रमले सम्बोधन गर्न सकेन । कतिपय विद्यालयका तल्ला कक्षाहरुमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।


त्यो कुरा पनि अहिलेको पाठ्यक्रमबाट सम्बोधन हुने स्थिति देखिएन । अध्ययनले विद्यार्थीहरुको मातृभाषा जानेको शिक्षकबाट शिक्षण कार्य हुँदा राम्रो उपलब्धि भएको कुरा उठेको छ । अहिलेको पाठ्यक्रमले त्यसलाई पनि प्राथमिकतामा राखेन । त्यसैले यी सबै समस्याहरुलाई सम्बोधन गर्नका लागि शिक्षक छनौट गर्ने क्रममा कम्प्यूटरसम्बन्धी सीप भएको, अङ्ग्रेजी र विद्यार्थीहरुको मातृभाषा दुबैमा विशेष दखल भएको शिक्षक छनौट हुने गरी पाठ्यक्रमलाई परिमार्जन गर्न सकेको भए मलाई लाग्छ अहिलेको भन्दा यसपछि आउने शिक्षकहरु राम्रा र विद्यार्थीहरुले खोजे अनुसारका हुने सम्भावना देखिन्छ ।


आरक्षणले जागीर खानेहरुलाई त अवसर प्रदान ग¥यो तथापि लाभान्वित हुने लक्षित समूहको रुपमा रहेका विद्यार्थीहरुलाई भने समस्या सिर्जना गरिदिएको छ । । कतिपय विद्यालयहरुमा नयाँ शिक्षकले पढाएको बुझिएन भन्ने त्यसैको परिणाम हो ।


 सिसेरोले भनेका छन – ‘अध्यापन गर्नेहरुका अधिकारहरु अध्ययन गर्नेहरुका निम्ति बाधक हुने गर्दछन् ।’ त्यसैले यस्तो अवस्थामा  सकिन्छ शिक्षक छनोटमा आरक्षणको अन्त गरौं, सकिन्न भने त्यसरी उत्तीर्ण हुनेहरुलाई गतिलोसँग तालिम दिएर विद्यालयमा पठाउने गरौं ।


 मलाइ त लाग्छ, शिक्षाको गुणस्तरको निर्धारण गर्नका लागि महत्वपूर्ण भूमिकामा रहेको शिक्षक छनौट गर्दा उच्च सक्षमता भएको ब्यक्ति आउने गरी पद्धति, पाठ्यक्रम र परिपाटीको विकास गर्नुपर्दछ । थर्ड डिभिजनवाला शिक्षकबाट फष्ट डिभिजनवाला विद्यार्थी उत्पादन गर्न त्यति सजिलो हुन्छ जस्तो मलाई लाग्दैन ।


शिक्षकमा हुनु पर्ने गुणहरुको चर्चा गर्दा एउटा शिक्षक मृदुभाषी, सरल, स्वस्थ, आत्मविश्वासी, निडर, चरित्रवान, आत्मसंयमी, अध्ययनशील, अनुकरणीय, बालप्रेमी, जिज्ञासु, स्पष्टबक्ता, समाजसेवी, दयालु आदि आदि हुनुपर्दछ भन्ने कुरा गरिन्छ । तर शिक्षकमा त्यस्ता गुणहरु भए नभएको जाँच्ने कसिको रुपमा शिक्षक छनोको प्रक्रिया र पाठ्यक्रमले कतै पनि चासो राखेको देखिदैन ।


अतः साँच्चीकै शिक्षकलाई त्यही रुपमा कल्पना गरिएको हो भने कि त त्यो प्रकारका गुणहरुको मापन गर्नका लागि पाठ्यक्रमले विशेष व्यवस्था गरी मूल्याङ्कन गरिनुपर्दछ । यदि छनोटको समयमा त्यस्तो गर्न सकिएन भने गलत आचरण भएका शिक्षकहरु विद्यालयमा वा सार्वजनिक स्थलमा भेटिना साथ जागीरबाट मुक्त हुने गरी शून्य सहनशिलता भएको कानूनको निर्माण र सोको कायान्वयन गरिनुपर्दछ । यस्तो गर्न सकियो भने मलाई लाग्छ, हाम्रा भावी पिढीले अहिलेकाले जस्तो मदिरापान गरेर हसहस्ती गन्हाउदै कक्षामा आउने शिक्षकबाट शिक्षा लिनुपर्ने छैन । सूर्ति, गुट्दा, पान आदि सेवन गरेर पटकपटक कक्षाका कुनाकानीमा प्याच्च थुक्दै पढाउने शिक्षक पनि हाम्रा विद्यार्थीहरुले व्यहोर्नुपर्ने पनि छैन र कुनै पनि विद्यार्थीले आफ्नै शिक्षकबाट यौनहिंसामा परेर पीडादायी जीवन बाँच्नु पर्ने पनि छैन । सवैलाई चेतना भया ।   
वदकजबजण्ठद्द२नmबष्।िअयm



Comments: