२०७६ असोज २ गते

कक्षा ८ को परीक्षा जिल्लास्तरीय हुने

रुकुम पश्चिम । स्थानीय तहमा धमाधम विषयगत कार्यालयका काम भइरहेका छन् । स्थानीय सरकारका रूपमा रहेका स्थानीय तहले आफैं कानून बनाउने र लागू गर्नेसम्म गरिरहेका छन् ।


चालु शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षा भने जिल्लास्तरीय हुने भएको छ । त्यो पनि एउटा जिल्ला होइन, दुइटाको परीक्षा एउटै जिल्ला शिक्षा कार्यालयले गराउनेछ । रुकुम पश्चिमको जिल्ला शिक्षाले रुकुमपूर्वका विद्यालयको समेत परीक्षा गराउने निर्णय गराएको हो ।


पश्चिम तथा पूर्वका विद्यालयका प्रअहरूको बैठक डाकेर शिक्षा कार्यालयले चालु शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा जिल्लास्तरीय बनाउने निर्णय गराएको हो ।


त्रिभुवन जनता मावि मुसीकोटका प्रअ हरिप्रसाद खनालले प्रअको बैठकले कक्षा ८ को परीक्षा जिल्लास्तरीय नै बनाउने निष्कर्ष निक्लेको बताए । विद्यालय ऐन कानुन नबनेकाले जिल्लास्तरबाटै परीक्षा गराउँदा उपयुक्त हुने ठहर शिक्षा अधिकारीसहित प्रअहरूको बैठकले गरेको उनको भनाइ छ ।


जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले भने यसबारे घुमाउरो जवाफ दिए । दुइटा जिल्लाका प्रअहरूको बैठकले जिल्लास्तरीय परीक्षा बनाउने निर्णय गरेको भए पनि अन्तिम निर्णय भइनसकेको उनले बताए ।


‘प्रअहरूको बैठकमा त्यसबारे छलफल भएको थियो,’ जिशिअ कुँवरले भने, ‘अब जिसससँग थप सल्लाह गरेर निर्णय हुन्छ ।’ उनले जिल्लाभर कक्षा ८ को परीक्षामा एकरूपता ल्याउने बताए । ‘दुवै जिल्लामा एकै हुने गरी परीक्षा गराउने गरी सोचिएको छ,’ उनले भने । प्रअको बैठकले देश संघीयतामा गए पनि हालसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ पनि नबनेकाले जिल्ला शिक्षाबाटै कक्षा ८ को परीक्षा गराउनुपर्ने निष्कर्ष निकालेको थियो ।


स्थानीय तहलाई माध्यमिक अर्थात् कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्न अनुमति दिने कानुनी व्यवस्था छ तर शिक्षा कार्यालयले भने कक्षा ८ कै परीक्षा जिल्लास्तरीय बनाउने तयारी गरेकाप्रति स्थानीय तहका प्रतिनिधि भने आक्रोशित छन् । भूमे गाउँपालिका रुकुम पूर्वका अध्यक्ष रामसुर बुढा मगरले शिक्षा मन्त्रालय, विभाग, शिक्षा निर्देशनालय र जिल्ला शिक्षासँग स्थानीय तहको अन्तरविरोध रहेको बताए । शिक्षा मन्त्रालयअन्तर्गतका निकायले स्थानीय तहका सबै अधिकार खोसेको उनको भनाइ छ ।


कान्तिपुर दैनिकमा खबर छ ।

Comments: