२०७६ कार्त्तिक ६ गते

विद्यार्थी खोज्दै त्रिविटोली झापामा

झापा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत खुला तथा दूर शिक्षा केन्द्र कीर्तिपुरले खुला तथा दूर सिकाइ कार्यक्रमको प्रचारप्रसार तीव्र पारेको छ । स्नातकोत्तर तहमा घरमै बसिबसी अंग्रेजी र गणित विषय अध्ययन गर्न सकिने खुला तथा दूर शिक्षा कार्यक्रम पछिल्लो समय प्रभावकारी बनेसँगै त्रिविले यसको प्रचारप्रसार तीव्र पारेको हो ।

खुला तथा दूर सिकाइ कार्यक्रम त्रिविले सन् ०१५ मा सुरु गरेको हो । उच्च शिक्षाका लागि क्याम्पससम्म जान नसक्ने विद्यार्थीलाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरिएको त्रिभुवन विश्वविद्यालय अंग्रेजी शिक्षा विभागका प्रमुख प्रेम फियाकले बताए । भर्ना भएपछि विद्यार्थी एकैपटक परीक्षा दिन मात्रै क्याम्पस जाने गरेकाले उच्च शिक्षामा गुणस्तर बढाउन यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । फियाकलगायत त्रिविका प्राध्यापकको एउटा टोली खुला तथा दूर सिकाइ कार्यक्रमको प्रचारप्रसारका लागि झापा आइपुगेको छ । प्रचारप्रसार गर्दै यो टोली सातवटै प्रदेशमा पुग्नेछ ।

दोस्रो वर्षमा खुला तथा दूर शिक्षा कार्यक्रम
त्रिविले गत वर्षदेखि अंग्रेजी विषयबाट यो कार्यक्रम सुरु गरेको थियो । ‘हामीले तीनजना विद्यार्थीबाट यो कार्यक्रम सुरु गरेका थियौँ,’ फियाकले भने, ‘अहिले हामी दोस्रो वर्षमा चलिरहेका छौँ, अंग्रेजी र गणितमा गरी ६–६ जना विद्यार्थी छन् । अब हामी यो कार्यक्रम फुल फेजमा चलाउन सक्छौँ ।’ आगामी शैक्षिक सत्रका लागि विद्यार्थीलाई खुला तथा दूर सिकाइ कार्यक्रमबारे बुझाउन देशभर गइरहेको फियाकले बताए । हाल झापामा रहेको टोली तीन दिनसम्म दमकमा रहने कार्यक्रम छ । दमकमा गणित विषय अध्ययन गर्न चाहने विद्यार्थी पनि भेटिएको बताइएको छ । क्याम्पसमा विद्यार्थीलाई नियमित गराउन हाल त्रिविले देशैभर सेमेस्टर प्रणाली लागू गरेको छ । तर, नियमित क्याम्पस जान नसक्ने विद्यार्थीलाई अनलाइनमार्फत पढाउन यो कार्यक्रम लागू गरिएको हो । ‘यसमा घरमै बसिबसी इन्टरनेटको माध्यमबाट विद्यार्थीले मजाले पढ्न पाउँछन्, विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया भइरहन्छ,’ फियाकले भने, ‘क्याम्पसमा पढाइ हुने कोर्स नै पढाइ हुन्छ, त्रिविकै प्राध्यापकले पढाउँछन्, फरक यत्ति हो, प्रविधि जानेका प्राध्यापकले पढाउँछन्।’


अनलाइन प्रविधि ‘मुडल’मार्फत् विद्यार्थीलाई पढाइने फियाकले बताए । विद्यार्थीलाई आवश्यक पर्ने नोट, भिडियो र लिंक त्यसैमा उपलब्ध हुने बताइएको छ । ‘पढाइका क्रममा विद्यार्थीले एकअर्काबीच अनलाइनबाटै छलफल गर्छन् । शिक्षकले पनि विद्यार्थीका लागि अनलाइनबाटै काम तोकिदिन्छन् । माध्यम मात्र फरक हो,’ फियाकले भने, ‘ताप्लेजुङको विद्यार्थी दैनिक क्याम्पस जान सक्दैन भने अनलाइनमार्फत घरैमा बसेर पढ्न सक्छ, यो कार्यक्रमको फाइदा यही हो ।’

अनलाइनमै विद्यार्थीको आन्तरिक मूल्यांकन
संसारका विश्वविद्यालय यो कार्यक्रममा गइसकेकाले त्रिविले पनि सुरु गरेको उनले बताए । फियाकका अनुसार यस कार्यक्रममा अनलाइनमै विद्यार्थीको आन्तरिक मूल्यांकन गरिन्छ । अध्ययनका क्रममा त्रिविको नियमानुसार सञ्चालन हुने विभिन्न आन्तरिक परीक्षामा विद्यार्थीले अनलाइनमार्फत सामेल भई ती परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । अन्तिम परीक्षाका लागि भने त्रिविले तोकेको केन्द्रमा विद्यार्थी जानुपर्ने प्रावधान छ । नियमित क्याम्पस जान नसक्ने विद्यार्थीले पनि अब घरमै बसेर गुणस्तरीय डिग्री लिन सक्ने उनले बताए ।

बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उपस्थित प्रा. डा. प्रेमनारायण अर्यालले खुला तथा दूर सिकाइ कार्यक्रम प्रभावकारी हुँदै गएको बताए । ‘यो कार्यक्रममले शिक्षामा गुणस्तर बढ्छ, अहिलेसम्म शिक्षामा क्वालिटी नै आउन सकेन, क्याम्पसमा भर्ना हुने र परीक्षा दिने मात्र परिपाटी छ,’ उच्चस्तरीय शिक्षा आयोगका सदस्यसमेत रहेका उनले भने, ‘यो कार्यक्रममा म पनि एउटा विषय पढाइरहेको छु, साह्रै रमाइलो लाग्छ ।’

नयाँपत्रिकामा लक्ष्मी काफ्लेले खबर लेखेकी छन् ।

Comments: