• एकीकृत हिस्टुनको हुंकार : आन्दोलनबाटै शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गर्छौं
    (ईपाटी संवाददाता)


  • काठमाडौं । कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको संगठनहरु नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल बीच एकीकरण भएको छ । दुबै संगठनको एकता भएर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन) बनेको हो ।


    मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी एकीकृत संगठनको घोषणा गरिएको हो । एकताभएसँगै हिस्टुनले २० बुंदे माग राख्दै दोस्रो चरणको आन्दोलनको घोषणा समेत गरेको छ ।


    हिस्टुनले साविकको सामुदायिक उमावि तहको लागि प्राप्त ४००० शिक्षक अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने, थप आवश्यक दरवन्दी स्वीकृत गर्नुपर्ने, कक्षा ११ र १२ मा  कार्यरत शिक्षकहरुलाई विशेष आन्तरिक प्रक्रियाद्वारा मावि द्वितीय र मावि तृतीय श्रेणीमा स्थायी गर्नुपर्ने माग अघि सारेको छ ।

    यसैगरी कक्षा ११ र १२ का शिक्षकले प्राप्त गरेको अस्थायी लाइसेन्सलाइ स्वतः स्थायीमा परिणत गर्नुपर्ने,स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक अंगको रुपमा स्थापित गर्नुपर्ने माग सरकारसमक्ष राखेको छ ।

    माध्यमिक तहको शिक्षालाई प्रादेशिक सरकारको मातहतमा राख्नुपर्ने, नियतबस वा विविध कारणले विस्थापित हुनपुगेका शिक्षकहरुलाई पुनर्वहाली गर्नुपर्ने,  शिक्षक बिमाको अनिवार्य व्यवस्था गर्नुपर्ने, स्थानीय  प्रादेशिक तथा संघीय सरकारलाई निजी तथा संस्थागत साविकको उमाविहरुमा अध्यापनरत शिक्षकहरुको सेवा, सर्त र सुविधा सम्बन्धी निर्देशिका तत्काल निर्माण गरी लागु गर्नुपर्ने माग अघि सारेको छ ।

    मावि तहलाई दुई खण्डमा विभाजन गरी सिनियर मावि र जुनियर मावि बनाउनुपर्ने, मावि शिक्षालाई अनिवार्य र निशुल्क गर्नुपर्ने,  शिक्षकका छोरा छोरीलाई उच्चशिक्षा सम्म छात्रवृतिको व्यवस्था गर्नुपर्ने साथै  समायोजित साविक उमावि तहमा कार्यरत शिक्षकलाई पनि गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने हिस्टुनले सरकारसँग माग गरेको छ ।

    यसैगरी, सामुदायिक उच्चमाध्यमिक तह शिक्षक व्यबस्थापन निर्देशिका २०७१ लाई नेपाल सरकार (माननीय मन्त्री स्तरिय)को मिति २०७१÷०६÷०६ को निर्णयबाट व्याख्या गरिएको संशोधन बुदा ७, १० र ११ लाई खारेज गरी बुदाँ नं ३.८ को शुरुमा यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि भन्ने वाकांश थप्नुपर्ने माग हिस्टानले गरेको छ ।

    हिस्टुनले यि मागहरु पुरा     नगरेसम्म आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएको छ । हिस्टुनले आन्दोलनका दोस्रो चरणको आन्दोलन अन्तर्गत पौष १० गते मंगलबार एक महिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने (प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री,   कानुनमन्त्री) र सोहि दिन पत्रकार सम्मेलन गर्ने, पौष २० गते शुक्रबार स्थानीय तहमा मागपत्र बुझाउने,     पौष २६ मा बिहीबार जिल्ला स्तरीय भेला गर्ने, शिक्षा विकास तथा समन्वय एकाईमा मागपत्र बुझाउने र सरोकारवालासँग जिल्ला स्तरीय अन्तरक्रिया गर्ने जनाएको छ ।


    यस्तै, माघ ४ गते शुक्रबार प्रदेश स्तरीय भेला गर्ने र प्रदेशमा मुख्यन्त्री, सामाजिक विकास मन्त्री समक्ष ज्ञापनपत्र बुझाउने र सरोकार वालासँग प्रदेश स्तरीय अन्तरक्रिया गर्ने,     माघ १२ र १३ गते राष्ट्रिय भेला र दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने हिस्टुनले जनाएको छ ।

    दुवै संगठनको एकता भएर हिस्टुन बनेपछि अब एकीकृत संगठनको अध्यक्षमा दुवै संगठनका अध्यक्षहरु रहने भएका छन् । यसैगरी,  वरिष्ठ उपाध्यक्ष ७ जना, उपाध्यक्ष १४ जना, महासचिव १ जना, उपमहासचिव १ जना र १ जना कोषाध्यक्ष रहने जनाइएको छ । यसैगरी, दुवै  संगठनका अन्य तहमा रहेका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरु सोही पदमा रहने व्यवस्था मिलाईएको जनाइएको छ ।

    प्रादेशिक, जिल्ला र स्थानीय तहका संगठनहरुलाई एकीकरण गर्नका लागि वरिष्ठ उपाध्यक्षहरुके संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । एक वर्षभित्र स्थानीय तह देखि केन्द्रिय कार्य समिति समेतको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। नयाँ विधान निर्माणका लागि महासचिवको नेतृत्वमा छ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ ।

    हिस्टुनका एकजना अध्यक्ष पुष्प न्यौपानेले कक्षा ११ र १२ का शिक्षकहरुको विभेदपूर्ण नीति नियमको खारेजीका लागि एकीकृत संगठन निर्माण गरी सशक्त आन्दोलनमा होमिएको बताए । अब एकीकृत आन्दोलनले शिक्षकहरुको पीडादायी परिवेशको अन्त्य गरेरै छाड्ने न्यौपानेको जिकिर छ ।