२०७६ माघ ११ गते

काँप्दै पढ्छन् विद्यार्थी

अन्तैबाट

लमजुङ  । जाडो महिना । झ्यालढोका खुल्लै । एकसरो लुगामा दिनभरि टिनको छानोमुनि । लमजुङ हिमाल र मिदिमखोलाबाट आउने सिरेटो सोझै कक्षामा पस्छ । लुगलुग काँप्दै पढ्छन् विद्यार्थी । केहीका स्कुल पोसाक च्यातिएका छन् ।

अझ आकाशबाट पानी बर्सिंदा टिनको ओतमा बसेका बालबालिका निथ्रुक्क भिजेर घर पुग्छन् । घरबाट आएपछि अपराह्न ४ बजेसम्म पानीबाहेक केही खान पाउँदैनन् । स्कुल छुट्टी भएपछि उकालो बाटो हस्याङ–फस्याङ गर्दै घरतिर लाग्छन् ।

क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा पर्छ कमागाउँ । बेंसीसहरबाट भुजुङसम्म जिप र मोटरसाइकल चल्छ । भुजुङबाट साँढे २ घण्टामा पुगिन्छ कमागाउँ । मोटरबाटो पुगेको छैन । कमा आधारभूत (प्रावि) विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । बाँकी कक्षा पढ्न २ घण्टा लगाएर पसगाउँ वा भुजुङ पुग्नुपर्ने बाध्यता छ । भुजुङमा सानो कक्षाका बालबालिका राख्ने छात्रावास नहुँदा २२ विद्यार्थीलाई पसगाउँको छात्रावासमा राखेर ५ देखि १० कक्षासम्म पढाइएको छ । कमा प्राविमा २० विद्यार्थी छन् । जाडोको समय बालबालिकालाई निकै समस्या परेको कार्यालय सहयोगी पूर्णकुमारी गुरुङले बताइन् । उनका अनुसार स्कुलमा खाजाको व्यवस्था नहुँदा बालबालिका कहिलेकाहीँ पढ्नै आउँदैनन् ।

प्रधानाध्यापक पशुपति सदायका अनुसार पढ्न कक्षाकोठाको व्यवस्था छ । तर, ४ वटा कोठा जीर्ण छन् । २०४५ सालमै बनेका कक्षाकोठा र फर्निचरका भरमा पढाउनुपरेको उनले बताए । सदायका अनुसार विद्यालयको भौतिक संरचना कमजोर छ । विद्यार्थीको प्रश्नपत्र हातले लेखेर दिनुपर्ने अवस्था छ । ‘फोटोकपी मेसिन छैन । न कम्प्युटर छ । गाउँको स्कुलमा गयो, यता पढाइ छुट्ने । निकै समस्या छ,’ उनले भने । कक्षाकोठामा ढोका छैनन् ।

विद्यालयमा गेट छैन । ‘कहिलेकाहीँ त गाइभैंसी र गोरु आँगनमै आइदिन्छन् । बालबच्चालाई हानिदेला भन्ने डर,’ उनले भने । कमा प्राविमा २ जनाको दरबन्दी छ । तीमध्ये बाल विकास केन्द्रीय सहयोगी कार्यकर्ता फूलमाया मिजार सुत्केरी बिदामा छन् । शिक्षक कम हुँदा पठनपाठनमा समस्या परेको सदायले बताए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष टेकबहादुर गुरुङका अनुसार केही वर्षअघि बनेको भवनको पिँढीमा भूकम्पले क्षति पुर्‍याएको छ । त्यस्तै ठाउँमा राखेर पठनपाठन गराउनुपरेको उनले सुनाए ।

विद्यालय सहयोगी पूर्णकुमारी गुरुङले कक्षाकोठाअनुसार शिक्षक नहुँदा आफैंले पढाउनुपरेको गुनासो गरिन् । ‘पढाउँदै गर्दा बालबच्चा काँपिरहेको देख्छु । बाबुनानीलाई हेर्दा आफैंलाई जाडो हुन्छ,’ उनले भनिन्, ‘न विद्यालयको भौतिक संरचना राम्रो छ । न बालबालिकाले सहजै पढ्न पाएका छन् ।’

आश गुरुङले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: