• केन्द्रतर्फ लागे एसइइ परीक्षाका केन्द्राध्यक्ष
    (राजन रावत/हुम्ला)


  • हिमाली जिल्ला हुम्लामा यस पाली चैत्र १० गतेबाट सञ्चालन हुन गइरहेको  माध्यामिक शिक्षा परीक्षा(एसइइ) सञ्चालनका लागि छनौट भएका केन्द्राध्यक्ष परीक्षाकेन्द्रतर्फ लाग्न सुरु भएको छ ।


    केन्द्राध्यक्ष छनौट भएर परीक्षा सामग्री बुझेपछि सदरमुकाम सिमकोटबाट दुई देखि तीन दिन पैदल लाग्ने केन्द्राध्यक्ष परीक्षाकेन्द्रतर्फ बुधबारबाट लागेका हुन् ।


    मंगलबार बिहान बसेको जिल्ला स्तरीय परीक्षासमन्वय समितिको बैठकले ६ वटै परीक्षाकेन्द्रका केन्द्राध्यक्ष छनौट गरेको र त्यसै अनुसार टाढा परीक्षाकेन्द्रका केन्द्राध्यक्ष केन्द्रतर्फ लागेको सहायक प्रमुख जिल्ला अधिकारी एबं समितिका अध्यक्ष महेश कुमार पोखरेलले जानकारी दिए ।


    ६ वटा परीक्षाकेन्द्र मध्य मदानादेश मावि परीक्षाकेन्द्रका केन्द्राध्यक्ष एसइइ परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका एवं अन्य सामग्री यसअघि नै पठाइएको भए पनि केन्द्राध्यक्ष छनौट भएसँगै प्रश्नपत्र लिएर केन्द्रतर्फ लागेका  शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख वर्ष बहादुर फडेराले बताए ।
     परीक्षा मर्यादित र शान्तपुर्ण रुपमा सञ्चालन गर्न केन्द्राध्यक्षलाई कडा सर्कुलर गरिएको उनले जानकारी दिए ।


     यसरी परीक्षा केन्द्रतर्फ लाग्ने केन्द्राध्यक्षहरुमा सुर्योदय मावि श्रीनगर, हिमज्योती मावि सर्केगार्ड, कोट मावि रोडिकोट केन्द्रका रहेका फडेराले जानकारी दिए ।
     दुई वटा केन्द्र सदरमुकाम सिमकोटमा रहेका छन् । अब यस पटकको एसइइ परीक्षाको तयारी पुरा भएको उनले जानकारी दिए ।


     हुम्ला जिल्लाका चार वटा परीक्षा केन्द्र दुई देखि तीन दिनसम्म पैदल लाग्ने गरेका छन् । केन्द्राध्यक्ष केन्द्रमा पुगे पछि सहायक केन्द्राध्यक्ष र निरीक्षक छनौट हुने भएका छन् । यस पटक सबै परीक्षाकेन्द्रमा गरि जिल्लाबाट एक हजार एक सय २९ जना परीक्षार्थी परीक्षामा सहभागीता जनाउने प्रमुख फडेराले जानकारी दिए ।