२०७६ कार्त्तिक २९ गते

आफ्नो पारिश्रमिक सबै छात्रवृत्ति दिँदै वडाध्यक्षले भने– मैले पाएको जस्तो दुख अबकाले नपाउन्

राजन रावत/हुम्ला

           हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वडा भरिका चारवटा विद्यालयका विद्यार्थीहरुलाई आफुले पाउने पारिश्रमिकबाट विद्यालय पोशाक तथा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।


आफुले विद्यालय अध्ययन गर्दा पाएको जस्तो दुख अबका विद्यार्थीहरुले पनि नपाउन भनेर वडाध्यक्ष शाहीले छात्रवृत्ति कोष स्थापना र पोशाक सहयोग गर्ने घोषणा गरेका हुन ।


वडामा रहेको चारवटा प्राविहरुमा २ सय २० जना विद्यार्थी रहेको र उनीहरु सबैलाई पहिलो पटक विद्यालय पोशाक सहयोग गर्ने वडाध्यक्ष शाहीले पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।


यसपछि पनि गरिब, जेहेन्दार तथा न्यून आयश्रोत भएका विद्यार्थीहरुलाई पठन–पाठनमा सहयोग पुर्याउनका लागि पचास हजारको अक्षय कोष स्थापना गरिने पत्रकार सम्मेलनमा वडाध्यक्ष शाहीले जानकारी गराए ।


१९ हजार मासिक पारिश्रमिक पाउने वडाध्यक्ष शाहीको वार्षिक तलब २ लाख २८ हजार हुने र सोही पारिश्रमिकबाट एक जना विद्यार्थीलाई साढे सातसय बराबरको विद्यालय पोशाकका लागि  एक लाख ६५ हजार खर्च गर्ने जनाए ।


 त्यसै गरि पचास हजारको अक्षय कोष स्थापना गर्दा २ लाख १५ हजार वडाध्यक्ष शाहीको खर्च हुने भएको छ । वडाध्यक्ष शाहीको पहिलो वर्षको पारिश्रमिक सबै विद्यालय र अक्षय कोषमा खर्च हुने भएको छ । भने आगामी वर्षबाट भने बार्षिक कमाईको २० प्रतिशतले हुन आउने रु ४५ हजार ६ सय रुपियाँ अक्षय कोषमा थप्दै जाने सो कोषको रकमबाट गाँउपालिका भरिका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने वडाध्यक्ष शाहीले बताए ।


यसरी आफुले पाउने पारिश्रमिकबाट सामाजिक क्षेत्रमा लगानी गर्ने वडाध्यक्ष शाही हुम्ला जिल्ला कै पहिलो जनप्रतिनिधि भएका छन् । गतवर्ष सम्पन्न स्थानीय तहको निर्बाचनमा काँग्रेसले टिकट नदिए पछि उनी स्वतन्त्र रुपमा निर्वाचित भएका थिए ।
 

Comments: