• विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइँदै
    (राजन रावत/हुम्ला)


  • दुर्गमको विद्यालयमा सरसफाइ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई हात मुख धुने तरिका सिकाइएको छ । हातको सरसफाइ गर्दा त्यसबाट हुने फाईदा र महत्व दर्साउन यो तरिका आधारभूत तहका विद्यार्थीहरुलाई सिकाइएको हो ।


    हात धुने तरिका थाहा पाए पछि त्यसलाई कार्यान्वयन गरेको यस अघि मुख धुँदा मात्र हात धुने गर्दै आएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर चारको महादेव मावि मुण्डीको कक्षा तीनका छात्रा जयन्ती पालले बताइन् । । दिसा पिसाब गर्दा, फोहोर बस्तु समाते पछि हात धुनु पर्ने मात्र नभई खानेकुरा खानु अगाडी पनि हात धुनु पर्ने र यस बारेमा जानकारी पाए पछि घरका सबै सदस्यहरुलाई जानकारी गरिएको उनले बताइन् ।


    विद्यालयको प्राङ्गणमा धारा जडान भएको बाल्टीमा पानी, साबन र छेउमा रुमाल राखेर विद्यालयमा अध्ययनरत् डेढ सय विद्यार्थीलाई पालै पालो स्वास्थ्यकर्मीको उपस्थितीमा हात मुख धुने तरिका सिकिएको  सोही विद्यालयको कक्षा चारमा अध्ययनरत छात्र टेक बहादुर छत्यालले बताए ।


    सबै विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्ने तरिकाका बारेमा जानकारी प्राप्त भएको र त्यसलाई व्यवहारमा लागु गर्ने उनको भनाइ छ । यस अघि आफुहरुले हात धुने गरेको कुरा काम चलाउ मात्र भएको र अब भने सरसफाइ गर्नका लागि र आफु सफा रहनका लागि पनि नयाँ तरिका कार्यान्वयन गर्ने मात्र होइन अरु सदस्यलाई पनि सिकाउने उनले बताए ।


    हुम्ला जिल्ला खुला दिसामुक्त क्षेत्र २०७४ साल मंसीर १८ गते भएको थियो । त्यस यता बिभिन्न सरसफाइका कार्यक्रमहरु सञ्चालन हुँदै आएको र अब पूर्ण सरसफाइ गर्नका लागि विद्यालयस्तरबाटै विद्यार्थीलाई व्यक्तिगत सरसफाइ गर्न सिकाइएको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला संयोजक बिरेन्द्र थापाले बताए ।


     यसमा शौचालयको प्रयोग, त्यसपछिको सरसफाइ र मिचिमिचि साबुन पानीले हात धुने तरिका, यसका फाइदा र महत्वका बारेमा पनि जानकारी गरिएको थापाको भनाइ छ । पहिलो चरणमा सबै विद्यालयहरुमा यो कार्य गरिने उनले बताए ।  हाललाई यो कार्यक्रम सर्केगार्ड, खार्पुनाथ र नाम्खामा भए पनि अब यसलाई सात वटै गाउँपालिकाका विस्तार गरिने भएको छ ।