• दलित तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी
    (राजन रावत/हुम्ला)

  • हुम्ला । व्यक्तिगत लगानीमा मानसरोवर क्याम्पसका क्याम्पस प्रमुख बसन्त रोकायाले कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीलाई स्टेसनरी सहयोग गरेका छन् ।


    आफ्नो वार्षिक कमाइको केही भाग शिक्षा क्षेत्र तथा असहाय व्यक्तिका लागि लगानी गर्ने उद्देश्य अनुसार क्याम्पस प्रमुख रोकायाले खार्पुनाथ गाउँपालिकाको गोगराज आधारभुत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेका हुन् ।  


    वर्षेनी रुपमा कुनै न कुनै क्षेत्रमा आफुले कमाएको पारिश्रमिकबाट सेवाभावका लागि सहयोग गर्ने कार्यक्रम अनुसार यस वर्ष ३४ जना जोगराज आधारभुत बिद्यालयका छात्रछात्राहरुलाई स्टेसनरी सहयोग गरेको प्रमुख रोकायाले बताए ।


    आत्म सन्तुष्टि र असहायहरुलाई सहयोगकै लागि दलित तथा न्यून आय भएका जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको उनले बताए ।

     एक जना विद्यार्र्थीलाई अंग्रेजी, नेपाली र गणित विषयका कापी, छ वटा पेन्सिल, इरेजर र कटर सहयोग गरिएको छ । यस अघि पनि प्रमुख रोकायाले एकल तथा असहाय नागरिकलाई कम्बल, चामल पनि सहयोग गर्दै आएका थिए ।
     
    स्टेसनरी वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले न्यून आयश्रोत भएका दलित तथा जेहेन्दार बिधार्थीका लागि स्टेसनरी सहयोगले ठुलो राहत मिलेको र अब गाउँपालिकाले पनि उक्त विद्यालयलाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । सहयोग सानो भए पनि यसले दिर्घकालीन प्रभाव पार्ने भएको कारण यसलाई महत्वपुर्ण रुपमा गाउँपालिकाले लिएको उनको भनाई थियो ।

    केही समय अगाडि बाल विकास केन्द्रबाट आधारभुत विद्यालयका रुपमा स्वीकृत पाएको जोगराज आधारभुत विद्यालयलाई व्यक्तिगग सहयोगबाट आजसम्म विद्यालय अगाडि बढेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीले स्टेसनरी सहयोगले विद्यार्थीको पठन–पाठनमा सकरात्मक प्रभाव पार्ने बताए ।


     केही दिन अगाडि बाल विकासका विद्यार्र्थीहरुलाई कार्पेट र डेस्कबेञ्च सहयोग मिलेको र अन्य सहयोगको पनि अपेक्षा विद्यालयले राखेको अध्यक्ष शाहीले बताए ।

     बिद्यालयलाई गाउँपालिकाकै नमूना विद्यालयका रुपमा बिकास गर्ने सोच राखेको र यसका लागि सबैको सहयोगका उनको आग्रह थियो ।

     कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीको पनि उपस्थित रहेको थियो । विद्यालयमा कक्षा तीनसम्म अध्ययन हुँदै आएको छ ।