२०७७ जेष्ठ २५ गते

“बेटी बचाऊ बेटी पढाऊ” : साइकल वितरणमा भेदभाव

अन्तैबाट

पर्सा । ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ जिल्लाका छात्रालाई साइकल वितरणमा भेदभाव भएको सरोकारवालाको गुनासो छ । प्रदेश– २ सरकारको यो लोकप्रिय कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षदेखि ८ जिल्लाका माध्यमिक विद्यालयमा गरी १५ हजार साइकल वितरण गरिसकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमेत यस कार्यक्रमलाई प्रशंसा गर्दै आएकी छन् ।

यो कार्यक्रमले छात्राहरूको विद्यालयमा पहुँच र नियमितता बढेको छ । तर एउटै विद्यालयमा आधारभूत तहमा अध्ययनरत छात्राहरूले भने नपाउँदा उनीहरूको मनोबल खस्केको शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले गुनासो छ । रामदेनी तिवारी आधारभूत विद्यालय छपकैंयाका प्रधानाध्यापक चन्देश चौहान प्रदेश सरकारले सराहनीय काम गरे पनि माद्यमिक तह तलका छात्राले साइकल नपाउँदा उनीहरूको मनोबल खस्केको बताउँछन् ।

‘मेरै २ छोरी मध्ये एक त्रिजुद्ध माविमा कक्षा ९ मा अध्ययनरत छिन्, उनी साइकल चढेर विद्यालय जान्छिन्,’ चौहानले भने, ‘कान्छी छोरी कक्षा ८ मा रामदेनी तिवारी विद्यालयमा पढ्छिन् उनलाई पनि दिदी जस्तै साइकल चढेर स्कुल जान रहर लाग्छ । यो मेरा छोरीहरूको हकमा नभई धेरै घरमै रहेको समस्या हो ।’ हालको संरचना अनुसार, कक्षा ९ देखि १२ सम्म अध्ययन हुने विद्यालयलाई माध्यमिक विद्यालय भनिन्छ । कक्षा ८ देखि १० सम्म सञ्चालित माध्यमिक तहका विद्यालयका छात्राले साइकल पाउछन् भने आधारभूत तहका विद्यालयका कक्षा ८ का छात्राले भने साइकल पाउँदैनन् ।

अभिभावक संघका जिल्ला अध्यक्ष अमरबहादु गौतम यसरी एकै कक्षामा एउटा विद्यालयमा पढ्ने छात्राले साइकल पाउने र अर्को विद्यालयकाले नपाउने अवस्थाले पक्कै पनि मनोबल खस्कने बताउँछन् । ‘साइकल वितरणको यो प्रणाली अव्यावहारिक छ,’ उनी भन्छन्, ‘जुनसुकै तहको विद्यालय भए पनि निश्चित कक्षासम्म अध्ययनरत छात्राले समान रूपमा साइकल पाउनुपर्छ, हालको साइकल वितरण प्रणालीले भेदभाव झल्काउँछ ।’

साइकल वितरणका लागि छात्रा चयन गर्दा उनीहरू विद्यालयमा कम्तीमा १ सय ८ दिन अनिवार्य रूपमा हाजिर भएको हुनुपर्छ । पर्साको हकमा बिरुवागुठी, सुगौलीका समेत गरी ३ माविका छात्राले हालसम्म साइकलनै पाएका छैनन् ।

शंकर आचार्यले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: