२०७६ माघ ११ गते

पालिकाकै एक मात्र मावि जीर्ण

अन्तैबाट

गोरखा । नजिकै विद्यालय छैन । छेकम्पारका सोनम लामा दुई दिन टाढाको सिर्दिवासस्थित बुद्ध मावि पुग्छन् । आवासीय सुविधा रहेकाले विद्यालयमै बस्छन् । ६ कक्षाका कर्मा लामा पनि एक दिन टाढाको चुम्चेतबाट यहाँ पढ्न आएका छन् ।


जिल्लाकै दुर्गम मानिने चुमनुब्री गाउँपालिकाभरि जम्मा एउटा मावि छ । सातै वडाका बालबालिकालाई बुद्घ मावि नझरी सुखै छैन । धार्चे गाउँपालिकाका उहिया, गुम्दा, काशीगाउँ र केरौंजाका केही विद्यार्थी पनि यहीँ पुग्छन् । ३५७ मध्ये १८९ विद्यार्थीले हिमाली छात्रवृत्तिको कोटा पाएको प्रधानाध्यापक प्रकाश घिमिरेले बताए । ‘सिर्दिवासकै सल्लेरी र न्याकका विद्यार्थीलाई पनि विद्यालय पुग्न ३/४ घण्टा हिँड्नुपर्छ, उनीहरूलाई यहीँ व्यवस्थापन गरेका छौँ,’ उनले भने ‘विद्यालयमै खाने–बस्ने सुविधापछि सजिलो भएको छ ।’ वार्षिक १० महिनाको मासिक चार हजारको दरले नेपाल सरकारले छात्रवृत्ति उपलब्ध गराउँछ । ‘१६५ को कोटा तोकिए पनि केही बढी विद्यार्थीलाई म्यानेज गरेका छौँ,’ घिमिरेले भने ।


०६२ सम्म छिमेकमा मावि नहुँदा उत्तरी गोरखाका विद्यार्थी अध्ययनका लागि आरूघाट, गोरखा बजार र काठमाडौंसम्म पुग्थे । २०३३ सालमा स्थापित बुद्घ माविले ६३ सालबाट मावि तह सञ्चालन गरेपछि उत्तरी भेगकै स्थानीयलाई सजिलो पर्‍यो । ढुंगाको छाना हालेर बनाइएको भवन बाहिरबाट हेर्दा सुन्दर देखिन्छ । तर चार वर्षअघिको भूकम्पले क्षति पुर्‍याइदिएको छ । छानाले पानी ओत्दैन । ढुंगाको छाना भएको ६ ब्लकमा कक्षा सञ्चालन गरिएको छ । ५ ब्लक विद्यार्थी बस्न प्रयोग गर्छन् । ‘जाडोमा ढुंगाको छानामुनि बस्न सारै न्यानो हुन्छ,’ प्रधानाध्यापक घिमिरेले भने, ‘भूकम्पले छानाको ढुंगा यताउता बनाइदिएपछि बर्खामा पानी चुहिने समस्या थपियो ।’ अहिले भौतिक संरचना नाजुक बनेको उनले बताए । सुगम क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएका भवन लगभग बनिसकेका छन् । तर यो विद्यालयले अझै स्रोत पाएको छैन । ‘हाम्रोमा लाइब्रेरी छैन, प्रयोगशाला पनि छैन,’ उनले भने ।

सुरुमा भारतीय दूतावासले बुद्घ माविसहित १० विद्यालय भवन निर्माणको जिम्मा लिए पनि अन्तिम समयमा हात झिकेको छ । हालसम्म अन्य कुनै संघसंस्थाले भवन निर्माणको जिम्मा नलिएको प्रधानाध्यापक घिमिरेले बताए । चुमनुब्री सडक सञ्जाल नपुगेको गाउँपालिका हो । उपभोग्य सामग्री ढुवानीका लागि खच्चडकै भर पर्नुपर्छ । सिर्दिवाससम्म ढुवानी गर्दा प्रतिकेजी ५० रुपैयाँ लाग्छ । भौगोलिक विकटता र ढुवानी भाडा महँगो पर्ने भएकाले पनि संघसंस्थाले भवन निर्माणमा चासो नदेखाएको उनले गुनासो गरे ।

बुद्ध माविको भवन निर्माणका लागि जाइकालाई प्रस्ताव गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाका प्रमुख विष्णुप्रसाद मिश्रले बताए । ‘स्वीकृत हुनै बाँकी छ, एउटा संस्थालाई सिफारिस भइसकेपछि अरूलाई भन्न पनि मिलेन,’ उनले भने । विद्यालयमा माविको दरबन्दी पनि छैन । राहत शिक्षकका भरमा कक्षा चलिरहेको छ । प्राविका चार र निमाविको एक दरबन्दी रहेको प्रधानाध्यापक घिमिरेले जानकारी दिए । ९/१० कक्षाका विद्यार्थीलाई पढाउन ४ राहत शिक्षक राखिएको उनले बताए ।

हरिराम उप्रेतीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: