२०७७ जेष्ठ २५ गते

छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक

अन्तैबाट

डोटी ।  केआईसिंह गाउँपालिका ५ स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म पढ्ने ३३ छात्रा छन् । तीमध्ये २७ छात्रा महिनाको ३ दिन विद्यालय जाँदैनन् । १० अध्ययनरत १६ वर्षीया इन्दिरा जोशी महिनावारी भएका बेला विद्यालय जान घरबाट निषेध गरेको बताउँछिन् ।

दिनहुँ विद्यालय जाने रहर हुँदा–हुँदै पनि महिनाको ३ दिन विद्यालयमा जस्तो सुकै महत्वपूर्ण पढाइ भए पनि छाड्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘विद्यालय परिसरभित्रै विभिन्न देवीदेवताका मन्दिर भएकाले अनिष्ट हुन्छ भन्दै घरबाट आउन नदिएको ३ वर्ष भयो,’ इन्दिराले भनिन्, ‘देवी–देवताले गर्दा अनिष्ट हुँदैन भन्ने प्रमाण आफुसँग भए पनि घरकाले आउन दिएका छैनन्, देवताभन्दा अभिभावकको डरले आउन सकेकी छैन ।’

उनले आफ्ना कक्षामा रहेका ५ मध्ये कसैले पनि घरबाट महिनावारीका बेला विद्यालय आउने अनुमती नपाएको बताइन् । कक्षा ९ मा अध्ययनरत १२ मध्ये ८ र ८ मा पढ्ने १६ मध्ये १४ छात्रा पनि महिनावारीका बेला विद्यालय आउन नसकेको कक्षा ९ की देवी शर्मा बताउँछिन् । वर्षौंदेखि परम्पराका रुपमा जकडिएको छाउपडी प्रथाबारे ग्रामिण क्षेत्रमा अझै पनि भ्रम छ ।

केआईसिंह गाउँपालिका ५, जमकट्टे डाँडाको साँघुरो टाकुरामा भुवनेश्वरी मावि छ । विद्यालय परिसरभित्रका ३ भवनसंँगै स्थानियले पुज्ने दुर्गादेवी, भलमने र मोहन्याल देवताका मन्दिर छन् । स्थानीय अभिभावकहरूले तिनै देवता रिसाउने डरले आफ्नै छोरीको भविष्य बिग्रने गरी विद्यालय पठाउन आनाकानी गर्दै आएको शिक्षिका गौरीदेवी जोशी बताउँछिन् । महिनावारी भएका बेला छात्राहरूले निवेदनमा विभिन्न घरायसी कारण देखाउँदै विद्यालयसँग बिदा माग्ने गरेको शिक्षकहरू बताउँछन् ।

सरोकारवालाको बेवास्ता
वर्षौंदेखि भुवनेश्वरी माविका छात्राको यो समस्याबारे विद्यालय, जनप्रतिनिधि र समाजका अगुवाहरूलाई जानकारी भए पनि समाधानका लागि भने कसैले पहल गरेका छैनन् । न त छाउपडी प्रथाका नाममा सञ्चालन भएका विभिन्न संघ–संस्थाका परियोजनाहरूले नै चासो देखाएका छन् ।

छात्राहरूले आफुहरू छाउपडी प्रथाविरुद्ध लड्न तयार भए पनि अभिभावकहरूले बेवास्ता गरिरहेको दुखेसो गरेका छन् । ‘अभिभावक र समाजलाई आफ्नो तर्फबाट प्रयास नगरेको होइन तर सम्भव भएन,’ कक्षा ९ की मनिषा जोशीले भनिन्, ‘तर विद्यालय, जनप्रतिनिधि र अरु कसैले पनि हाम्रो समस्या गम्भीर रूपमा लिएनन् ।’

बेला–बेला महिनावारी हुँदा विद्यालय नआउने समस्याबारे आवाज उठ्दा भने कतिपयले विद्यालय नै अन्यत्र सार्नुपर्ने सुझाव दिने गरेका छन् । वडा ५ का अध्यक्ष रामचन्द्र राणाले विद्यालयको मूल भवन पस्न प्रयोग हुने गोरेटोमा मन्दिर पर्ने भएकाले त्यसलाई घुमाएर विद्यालय लैजाने विषयमा छलफल चलिरहेको बताए । उनले छात्राहरूको विद्यालयमा उपस्थिति बढाउन वडातहबाट गर्नुपर्ने पहलका लागि तयार रहेको प्रतिबद्धतासमेत जनाए ।

पढाइ कमजोर
विद्यालयमा नियमित आउन नपाउँदा भुवनेश्वरी माविका छात्राहरूको पढाइ स्तर खस्कँदो रहेको शिक्षकहरू स्विकार्छन् । विज्ञान र गणित विषयका शिक्षक लोकेन्द्रबहादुर ऐरले महत्वपूर्ण विषय छुट्ने गरेको बताए । ‘तीनदिनसम्म विद्यालयमा नआउदा त उनीहरूको पढाइ त्यसै कमजोर भइहाल्यो नि,’ उनले भने, ‘उनीहरूकै लागि मात्र पुन: दोहोर्‍याउने कुरा पनि भएन ।’ अभिभावकहरूसँग व्यक्तिगत कुराकानी गरी सम्झाउने प्रयास भए पनि देवी–देवताका कारण देखाउँदै विद्यालय नपठाउने चलन यावतै रहेको उनले बताए ।

घरभित्रै संघर्ष
कक्षा ९ मा पढ्ने देवी शर्माले कक्षा ८ मा पढ्दा महिनावारीका समय विद्यालय आउन पाइनन् । विद्यालय जान नपाउँदा नियास्रो मन हुने भएकाले उनले घरभित्रै लडाइँ थालिन् । तर उनलाई विद्यालय आउने घरबाट अनुमति मिलेन । उनले जुक्ति निकालिन् । आफूलाई असाध्यै माया गर्ने दाइ गणेशको सहारा लिइन् । गणेशलाई विद्यालयमा पढाउन आउने शिक्षिकाहरूको उदाहरण देखाएर आमाबुबालाई सम्झाउन लगाइन् । दाइले घरभित्र भुमिका खेले ।

दाई र उनको संघर्षले कक्षा ९ मा भने विद्यालय जान पाउने घरबाट अनुमति पाइन् । आजभोलि उनी नियमित विद्यालय आउने गरेकी छन् । उनलाई महिनावारी भएका बेला पनि विद्यालय आउने छात्राका रुपमा शिक्षकहरूले चिन्ने गरेका छन् ।

त्यस्तै अर्की छात्रा हुन्, कक्षा ९ की निर्मला भट्ट । निर्मलाले आफ्नी आमा पार्वतीको पुरातन सोच बदल्न शिक्षिका गौरी जोशीको सहारा लिइन् । छिमेकीसमेत रहेकी गौरीले उनकी आमालाई लगातार सम्झाएपछि निर्मलाले विद्यालय पढ्न पाएकी छन् । आफ्नो ब्यक्तिगत प्रयासबाट केही विद्यार्थीलाई महिनावारीका बखत विद्यालय ल्याउन सफल भए पनि अझै कतिपयले नमानेकामा शिक्षिका गौरीको दुखेसो छ । उनले आफ्नो एकल प्रयासले मात्रसबै छात्रालाई विद्यालयमा ल्याउन सम्भव नहुने बताइन् ।

‘म १३ वर्षदेखि यहि विद्यालयमा महिनावारी हुँदा पनि नियमित पढाउँदै आएकी छु । तर मलाई केही भएन भनेर उदाहरण दिँदा पनि अभिभावकले छोरी पठाउन मानिरहेका छैनन्,’ उनले भनिन्, ‘जनचेतनाको खाँचो छ, घरदैलो अभियानै चलाउनुपर्ने हो कि ?’

५० प्रतिशत अझै छाउगोठमा
डोटीको पूर्वीचौकी गाउँपालिकाको ‘भिलेज प्रोफाइल’ अनुसार अझै पनि ५० प्रतिशत महिला छाउगोठमै बस्ने गरेको अध्यक्ष दीर्घराज बोगटी बताउँछन् ।

अछाम–डोटीको सिमाना पर्ने पूर्वीचौकी गाउँपालिकाको काडामाण्डौमा गत वर्ष माघमा २१ वर्षीयाको छाउगोठमा निस्सासिएर मृत्यु भएको थियो । कठ्यांग्रिदो मौसममा पनि साँघुरो गोठभित्र महिनावारी भएका बेला सुत्ने चलन छ । गाउँपालिकाको काडामाण्डौ, गैरा, पोखरी, गाजरी र सानागाउँका महिलाहरू बढी गाउगोठमा सुत्ने गर्छन् ।

पछिल्लो पुस्ताका महिला छाउ प्रथा अन्धविश्वास रहेकोबारे जानकार भए पनि सासू–ससुरा र समाजका डरले छाउगोठमा सुत्ने गरेको काडामाण्डौकी हरिनादेवी बोगटी बताउँछिन् । पुरुष भन्दा महिलाहरूबाटै छाउप्रथाबारे बढी दबाब हुने गरेको उनको अनुभव छ ।

महिलाहरूलाई नै अन्धविश्वासविरुद्ध लड्ने अभियान चलाउन गाउँपालिकाले चालु आवमा प्रोत्साहन कार्यक्रम लागु गर्ने भएको छ । छाउपडी प्रथाविरुद्ध सुरक्षित रुपमा घरभित्र बस्ने गाउँपालिकाका सय महिला छनोट गरि नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्का बताउँछन् । ‘कार्यविधिको मस्यौदा अन्तिम चरणमा छ, अब बस्ने कार्यपालिका बैठकबाट पास हुन्छ,’ उनले भने, ‘माघमा बृहत् कार्यक्रमको आयोजना गरी सय जनालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।’

मोहन शाहीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: