२०७६ कार्त्तिक ३ गते

स्वत: स्थायी लाइसेन्स पाउनुपर्ने भन्दै हिस्टुनद्वारा विज्ञापन स्थगन गर्न ३ दिने अल्टिमेटम !

ईपाटी संवाददाता


काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स) को विज्ञापन स्थगित गर्न माग गरेको छ ।


शिक्षक सेवा आयोगले शिक्षा ऐन विपरित शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको भन्दै हिस्टुनले विज्ञापन स्थगित गर्न ३ दिने अल्टिमेटमसमेत दिएको छ ।


आइतवार शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै हिस्टुनले आयोगले हालै खुलाएको विज्ञापन नं ३५ मा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको आरोप लगाएको हो ।


हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेले ३५ नम्बर विज्ञापनले शिक्षा ऐनको आठौं र नवौं संसोधनको भावनालाई लत्याइएका कारण आफूहरु यसका विरुद्ध जान बाध्य भएको बताए ।


२०७३ सालपछि नियुक्त भएका शिक्षकहरुसँग अस्थायी अनुमती पत्र पनि नभएको भन्दै न्यौपानेले आयोगको उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौंदेखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनुमती पत्र प्रदान गर्न तिन दिने अल्टिमेटम दिइएको बताए ।


समयमा नै उक्त माग सम्वोधन नभएमा श्रृजित हुनसक्ने परिस्थितिप्रति सम्बन्धित निकाय नै जिम्मेवार रहने पनि न्यौपानेले चेतावनी दिएका छन् । आगामी आन्दोलनका लागि हिस्टुनले आन्दोलन परिचालन समिति समेत गठन गरेको छ ।



Comments: