२०७७ जेष्ठ २५ गते

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह

अन्तैबाट

कालिकोट ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिंसाको प्रतिकार गर्न बालबालिकालाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, लैंगिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिका तथा सम्पर्क शिक्षकलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।   

उनले बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा, छाउपडी प्रथा, जातिय विभेद जस्ता सामाजिक अपराध अन्त्यका लागि प्रदेश सरकार पनि लागि परेको बताउँदै यस्ता अपराधको शिकार कोही कसैले नहुन र हिंसा सहेर नबस्न बालबालिकालाई आग्रह गरे ।

उनले भने, 'आजका बालबालिका भोली मुलुक हाक्ने व्यक्ति हुन्। तपाईहरु सचेत हुनुहोस् । हिंसाविरुद्धमा खुलेर बोल्नुस् । सरकार बालबालिकाको संरक्षण, बाल अधिकारको प्रत्याभूति गर्न तयार रहेको उनले बताए।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका जम्मा ४२ वटा माध्यामिक विद्यालयका ८४ जना बालबालिका तथा ४२ जना सम्पर्क शिक्षकलाई सामाजिक अपराधविरुद्धको अभियानमा अभियान्ताका रुपमा परिचालन गर्ने जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

सामाजिक अपराध न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही । तस्बिर : बिस्नप्रसाद न्यौपाने

उनका अनुसार सामाजिक अपराधविरुद्ध अभियानका लागि प्रहरीले बालविवाह र समाजिक अपराध न्युनिकरणसम्बन्धि माध्यामिक विद्यालयका सम्पर्क शिक्षक तथा विद्यार्थीलाई अभिमुखीकरण गर्न थालेको छ । आइतबार र सोमबार जिल्लाका ४ वटा स्थानीय तह खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महाँवै गाँउपालिका र शुभकालिका गाउँपालिकाका २ विद्यालयका ४२ वद्यार्थी र २१ जना सम्पर्क शिक्षकलाई अभिमुखीकरण गरेको थियो ।

मंगलबारबाट जिल्लाका अन्य पाँचवटा स्थानीय तह पलाँता ताउँपालिका, पचालझरना गाँउपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका २१ बिद्यालयका ४२ जना विद्यार्थी र २१ जना सम्पर्क शिक्षकलाई अभिमुखीकरण गर्न थालिएको छ ।

अपराधको सुइको पाए सयमा कल गर्नु

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी ओलीयाले सामाजिक अपराध तथा मुलुकी देवानी तथा फौजदारी, संहिता २०७४ले व्यवस्था गरेका विवाहसम्बन्धी व्यवस्थाका विषयमा बालबालिकालाई जानकारी दिँदै गाउँमा अपराधको सुइको पाए प्रहरीलाई खबर गर्न आग्रह गरे ।

उनले प्रहरी मात्र सक्रिय भएर गाउँमा हुने सबै किसिमका अपराध कानुनी दायरामा ल्याउन नसकिने बताउँदै यसमा बालबालिकाले सहयोग गरी प्रहरीलाई खबर गर्नका लागि सयमा कल गर्न सुझाव दिए ।

जिल्लामा प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत गाउँ-गाउँ घर- घरमा प्रहरी आउने बताउँदै अपराध न्यूनिकरणका लागि बालबालिका, शिक्षक, बुद्धिजीवी तथा स्थानीय नागरिकको सहयोगको अपेक्षा गरिएको उनले बताए । उनले भने, गाउँमा कसैले घरेलु हिंसा गरे, बाल विवाह गरे, बहु विवाह, लागूऔषध सेवन, घरेलु मदिरा, झैंझगडा, बालश्रम, बाल यौन दुर्व्यवहार गरे सिधै प्रहरीलाई खबर गर्न सयमा कल गर्नुहोला ।'

कार्यक्रममा सेभ द चिल्डेनका बाल संरक्षण कार्यक्रम संयोजक बाले विश्कर्माले बालबालिकाको परिचय र जिल्लामा बाल विवाहको अवस्था, जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले मुलुकी देवानी तथा फौजदारी, संहिता २०७४ले व्यवस्था गरेका विवाहसम्बन्धी व्यवस्था, कानुन व्यवसायी हिक्मतबहादुर बिष्टले बाल विवाह र बालबालिकाविरुद्ध हुने हिंसा सम्बन्धी कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसन, लैंगिक हिंसालगायतका सामाजिक अपराधका बारेमा अभिमुखीकरण गर्दै विद्यार्थी र शिक्षककै सक्रियतामा बाल संरक्षण र सामाजिक अपराध न्यूनिकरण हुने बताए ।

उनीहरुले जिल्लालाई अपराध मुक्त बनाउनका लागि सबै सरोकारवाला निकायको एक्यबद्धताको खाँचो रहेको बताउँदै यसका लागि सबैको सहयोगको खाँचो रहेको औंल्याए । कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सांसद कुर्मराज शाहीलगायतको सहभागीता थियो ।

बिस्नप्रसाद न्याैपानेले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: